आहारा, पानी र परम्परागत मार्ग खोज्दै लामो दूरी यात्रा गर्ने हात्तीहरू मानवीय गतिविधिका कारण जोखिममा परेको संरक्षणकर्मीको चिन्ता छ।
पर्सा — पछिल्लो दुई महिनायता चितवनदेखि पूर्वी नेपालसम्म आधा दर्जन जंगली हात्ती मरेका छन्। प्राकृतिक बासस्थान र आहारा खोज्दै लामो दूरीको यात्रा गर्ने हात्तीहरू एकपछि अर्को मर्न थालेपछि वन्यजन्तु संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन्।
मरेका हात्तीमा भाले र पोथीको संख्या बराबर छ। चितवनको चर्चित हात्ती रोनाल्डो पनि यसै अवधिमा मर्ने हात्तीको सूचीमा परेको छ।
तीन साताअघि सर्लाहीको मूर्तिया क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्जबाट गएको हात्तीको समूहमा रहेको एउटा हात्ती मृत फेला परेको थियो। प्रारम्भिक परीक्षणमा सुडमा लागेको घाउका कारण उक्त हात्तीको मृत्यु भएको पाइएको थियो। आधा दर्जन हात्तीको समूहमा मिसिएर पर्साबाट सर्लाही पुगेको उक्त हात्तीको मृत्युले वन क्षेत्रमा हात्तीको सुरक्षा चुनौतीलाई पुनः सतहमा ल्याएको छ।
हात्तीमै विद्यावारिधि गरेका पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा अशोक राम जंगली हात्ती मर्ने क्रम यही गतिमा बढ्दै जाने हो भने देशमा जंगली हात्तीको संख्या घट्दै जाने जोखिम रहेको बताउँछन्।
उनका अनुसार हात्तीको जीवनशैली नै लामो दूरीको आवागमनसँग जोडिएको हुन्छ। आहारा तथा चरिचरनको खोजी, समागमका लागि भालेले पोथीको खोजी, पुर्खादेखि प्रयोग हुँदै आएको परम्परागत मार्गमा मौसमी यात्रा र समूहबाट छुट्टिने अवस्थाले हात्तीलाई लामो दूरीसम्म पुर्याउने उनले बताए।
भारतबाट पूर्वी नेपालको झापा हुँदै पर्सा र चितवन राष्ट्रिय निकुञ्जसम्म हात्ती आइपुगेका थुप्रै घटना छन्। अहिले पनि पर्सा राष्ट्रिय निकुञ्जका एक दर्जनभन्दा बढी हात्ती सर्लाहीको राष्ट्रिय वन क्षेत्रमा रहेको उनले बताए । धानबाली पाक्ने समयमा आहाराको खोजीमा हात्तीको आवागमन अझ बढ्ने गरेको डा राम बताउँछन्।
जंगली हात्तीको मृत्युमा मानवीय गतिविधि प्रमुख कारक बन्ने गरेको संरक्षण अधिकारीहरूको अनुभव छ। मानिस र हात्तीबीचको द्वन्द्व बढ्दै जाँदा हात्तीको सुरक्षामा थप चुनौती देखिएको छ। हात्तीले सामान्यतया मानिसबाट टाढै रहने र सकेसम्म मानवीय क्षति नगर्ने व्यवहार देखाउने गरेको डा रामको भनाइ छ। तर आफूलाई पटकपटक दुःख दिने वा आक्रमण गर्ने मानिसलाई हात्तीले लामो समयपछि पनि चिन्न सक्ने र प्रतिकार गर्ने उदाहरण रहेको उनी बताउँछन्।
समयमै जंगली हात्तीको आवागमन मार्ग, बासस्थान र सुरक्षामा ध्यान दिन नसकिए नेपालको हात्तीको संख्या क्रमशः घट्दै जाने जोखिम रहेको डा रामको चिन्ता छ। पर्सा राष्ट्रिय निकुञ्जमा मात्रै ६० देखि ६५ वटासम्म रैथाने जंगली हात्ती रहेको अनुमान छ। हात्तीको संरक्षणका लागि निकुञ्जभित्रको सुरक्षा मात्र पर्याप्त नहुने र उनीहरूको परम्परागत आवागमन क्षेत्रसमेत सुरक्षित बनाउनुपर्ने चुनौती देखिएको छ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।