जितका लागि २ सय २५ रनको कीर्तिमानी लक्ष्य पाएको काठमान्डुले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो ।
काठमाडौँ — काठमाडौं– पोखरा एजेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको अन्तिम लिग खेलमा काठमान्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको छ ।
जितका लागि २ सय २५ रनको कीर्तिमानी लक्ष्य पाएको काठमान्डुले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो ।
यससँगै प्रतियोगिताको प्ले–अफ समीकरण पनि टुंगेको छ । अब क्वालिफायर–वानमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने छन् । इलिमिनेटरमा भने काठमान्डु र चितवन राइनाेजबीच प्रतिस्पर्धा हुनेछ । त्यसको विजेताले क्वालिफायर–टुको पराजित टिमसँग खेल्नेछ । काठमान्डुका लागि ओपनर स्मित पटेलले ३४ रन बनाए भने विलियम बोसिस्टोले २६ रन जोडे । जहान्दाद खान २४, रसिद खान ३१ र सोनु देवकोटाले २९ रन बनाएर आउट भए । काठमान्डुले नियमित अन्तरमा विकेट गुमाएर ठोस साझेदारी बनाउन सकेन । पोखराका बलरमध्ये दिनेश खरेल ४ र विपिन खत्रीले ३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा तीन विकेट मात्र गुमाएर २ सय २४ रन बनाएको थियो । प्रतियोगिताको इतिहासमै यो कुनै पनि टिमले खडा गरेको सबैभन्दा ठूलो स्कोर हो । यसअघि दोस्रो सिजन विराटनगर किंग्सले पोखराविरुद्ध नै ६ विकेटमा २ सय २० रन बनाएको थियो ।
यसपल्ट कुशल भुर्तेल शतक बनाउनबाट एक रनले मात्र चुके । उनी ९९ रनमा करण केसीको बलमा विकेट पछाडि समातिए । कुशलले ५१ बलमा आठ चौका र आठ छक्का प्रहार गरे । प्रतियोगितामा नेपाली ब्याटरको यो सर्वाधिक ठूलो व्यक्तिगत स्कोर हो ।
उनी पहिलो शतक बनाउने नेपाली खेलाडी हुनबाट भने चुके । यसअघि लुम्बिनी लायन्सका रोहित पौडेलले पहिलो सिजन ९५ रन बनाएका थिए । कुशलले ओपनर युवराज सामरासँग मिलेर दोस्रो विकेटका लागि १ सय ८६ रनको साझेदारी गरे । युवराज पनि ८९ रन बनाएर आउट भए । उनले ५५ बलमा आठ चौका र पाँच छक्का प्रहार गरे ।