जब जब छठ आउँछ, सन्ध्याकालीन घाटको रौनकभन्दा उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मामाघर सिरहाबाट सप्तरीतर्फ पैदल नै आउने मामाको याद मलाई धेरै आउँछ ।
छठ तराई–मधेसको सांस्कृतिक पर्व मात्र होइन्, सन्तान प्राप्ति, सन्तानको सुख, समृद्धि र दीर्घायुको कामना गर्दै प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने जीवन्त लोकसंस्कृतिमा आधारित पर्व हो । सूर्य र जलको उपासना, पारिवारिक आत्मीयता, सामाजिक सद्भाव र सामूहिकताको प्रतीक यस पर्वले पुस्तौंदेखि भावनात्मक सम्बन्ध, सांस्कृतिक निरन्तरता र प्रकृति संरक्षणको चेतनालाई हस्तान्तरण गर्दै आएको छ ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने यो पर्वमा पोखरी, नदी र जलाशयका घाटहरू लोकआस्थाले भरिन्छन् । पूजामा बाँसका ढकिया, छिट्टा, सुपा, बेना, कोनियाँ, माटाका भाँडामा चिर्खा, हात्ती, केराका घरी, उखु, नरिवल, भोगटेलगायत नयाँ मौसमी फलफूलको प्रयोग गरिन्छ । जसले सजिएको छठ घाटमा तराई मधेसको मौलिक संस्कृति र जीवनशैली झल्किन्छ । छठका गीतमा आमाहरूको आस्था गुञ्जिन्छ र गाउँघरमा पारिवारिक भेटघाटको रौनक पनि हुन्छ । घाटमा श्रद्धालुहरूको ओइरो हुन्छ ।
तर मेरो बाल्यकालमा छठ पर्वको एउटा छुट्टै विशेषता थियो । त्यसको सम्झना आउँदा आज पनि भावुक हुन्छु । किनभने हाम्रा लागि छठको प्रसादभन्दा पनि मामाले ल्याउने ठेकुवा, भुसुवा, नरिवल, उखुलगायतका कोसेलीको प्रतीक्षा महत्त्वपूर्ण हुन्थ्यो । छठ आउनुअघि नै मनमा उत्सुकता जाग्थ्यो- यसपालि मामा आउनुहोला कि नआउनुहोला ? आउँदा के–के कोसेली लिएर आउनुहुन्छ ? ठेकुवा, भुसुवा लड्डु, केरा, उखु, नरिवल, भोगटे वा अरू केही ल्याउनुहोला भनेर मनमा कुरा खेलिरहन्थ्यो । हामी आमालाई यसबारे सोधिरहन्थ्यौँ । किनभने मामाले ल्याउने कोसेलीमा खानेकुरा मात्र हुँदैनथ्यो, हाम्रो बाल्यकालको खुसी, मामाको माया र मावलीसँग जोडिएको आत्मीयता पनि हुन्थ्यो ।
हाम्रो मावली घर सिरहाको भोरकटैया हो । छठको बेला मामा सिरहाबाट हिँडेरै सप्तरीको गरुराहामा हामीलाई कोसेली पुर्याउन आउनुहुन्थ्यो । त्यसबेला आजको जस्तो बाटोघाटो र यातायातको सुविधा थिएन । वर्षायाममा हिलाम्मे अरु बेला धुलाम्मे हुन्थ्यो बाटो । त्यो परिस्थितिमा टाढा रहेका नातागोताबीच भेटघाट गर्न र सम्बन्ध जीवित राख्न निकै गाह्रो थियो । तर त्यो कोसौंको दूरी, हिलाम्मे र धुलाम्मे बाटोको असहजताले पनि मामाको मायालाई कहिल्यै रोक्न सकेन । उहाँ बिहानै काँधमा सनेश (कोसेली) को भारी बोकेर हाम्रो घर आइपुग्नुहुन्थ्यो ।
हाम्रो घरमा छठ मनाइँदैनथ्यो । त्यसैले मामाको मनमा एउटा चिन्ता हुन्थ्यो- गाउँका अरू केटाकेटीले छठको प्रसाद खाँदा मेरा भान्जा–भान्जीले अरूको मुख ताकेर बस्न नपरोस् । उनीहरूले पनि आफ्नै मावलीबाट आएको कोसेली खाऊन्, रमाऊन् र खुसी होऊन् । सायद यही भावनाले उहाँलाई लामो बाटो पैदल हिँड्न प्रेरित गर्थ्यो । मामा आउनुहुन्छ भन्ने थाहा हुन्थ्यो तर कति बेला आइपुग्नुहुन्छ भन्ने ठेगान हुँदैनथ्यो ।
कहिलेकाहीँ छठका अवसरमा गाउँमा हुने सांस्कृतिक नाचगान र नाटक हेर्दाहेर्दै रात बित्थ्यो । हामी बिहान अबेरसम्म उठ्थ्यौं । हामी ओछ्यानबाट उठ्न नपाउँदै मामा आइसक्नुभएको हुन्थ्यो । कुनै वर्ष मामाको आगमन ढिलो हुँदा हाम्रो धैर्यको बाँध टुट्थ्यो । हामी दाजुभाइ घरको पश्चिमतिर रहेको बनरझुला चौरीको धानखेतको आलीमा पुग्थ्यौँ । त्यहाँ उभिएर सिरहातिरबाट आउने मामाको बाटो कुरेर बस्थ्यौं । टाढाबाट काँधमा भारी बोकेर कोही आइरहेको देख्दा मन नाच्थ्यो, लाग्थ्यो- कतै हाम्रै मामा त होइन ? तर नजिक आइपुग्दा अर्कै मान्छे हुन्थ्यो । हाम्रो प्रतीक्षा फेरि लम्बिन्थ्यो । अन्ततः जब आफ्नै मामा आइपुग्नुहुन्थ्यो, त्यसपछि हामी एकअर्कालाई हेर्दै जोडजोडले कराउँथ्यौँ, ‘मामा आउनुभो...!’
खुशीले खेतको आलीमै उफ्रिन्थ्यौँ । उहाँको घोकरी र कोरा चढ्न (काँधेकुरी/काख)हतार गर्थ्यौँ । काँधमा भारी हुँदाहुँदै पनि मामाले हाम्रो रहर पूरा गर्नुहुन्थ्यो । त्यसपछि हिडेर उहाँसँगै घर फर्कन्थ्यौं । त्यतिबेला मामा आइपुग्नु नै संसारको सबैभन्दा ठूलो खुसी लाग्थ्यो । न खेलौना चाहिन्थ्यो, न पैसा । मामाको खल्तीबाट पाइने ग्लुकोज बिस्कुट र चकलेटसमेत हाम्रा लागि विशेष उपहार हुन्थ्यो ।
उता घरमा आमाको पनि आफ्नै तयारी हुन्थ्यो । मामा लामो बाटो हिँडेर आउँदा भोक र थकाइ लाग्यो होला भनेर उहाँ बिहानै चुलो बाल्नुहुन्थ्यो । तरुवा, बगरुवालगायतका परिकार पकाउनुहुन्थ्यो । मामा घर आइपुग्दा आत्मीय आतिथ्य महसुस होस् र थकाइ मेटाउन पाइयोस् भन्ने आमाको चाहना हुन्थ्यो । मेरो एउटै मामा हुनुहुन्थ्यो र मामाको एउटै बहिनी मेरी आमा । मामाघरबाट मामा कोसेली बोकेर आइपुग्दा यता घरमा मामाका लागि आमाले खाना तयार पारिसक्नुहुन्थ्यो । हामी भान्जा चाहिँ खेतको आलीमा मामाकै प्रतीक्षामा हुन्थ्यौं । यी सबै दृश्यलाई जोड्ने एउटै नाता सम्बन्धको धागो थियो- मावलीको माया ।
घरमा मा आइपुगेपछि हाम्रो ध्यान उहाँले ल्याउनुभएको कोसेलीतिर जान्थ्यो । कुन पोकोमा ठेकुवा र केरा छ, उखु कति ठूलो छ, नरिवल र भोगटे कस्ता छन्, भुसुवा लड्डु कति छन्- सबै हेर्न हतार हुन्थ्यो । कहिलेकाहीँ मलाई मन पर्ने भुसुवा लड्डु चोरेर खाइदिन्थें । आमाले गाली गर्दा मामाले नै बचाउनुहुन्थ्यो । त्यतिबेला कोसेलीको मूल्य पैसामा थिएन । बजारमा पाइने वस्तुको ब्रान्ड, गुणस्तर र मूल्यको हिसाब हुँदैनथ्यो । मामाले ल्याउनुभएको एउटा केरा पनि विशेष हुन्थ्यो, एउटा ठेकुवा पनि प्रिय हुन्थ्यो । किनभने ती वस्तु सिरहाबाट सप्तरीसम्म पैदल हिँडेर ल्याइएका हुन्थे । प्रत्येक वस्तुमा मामाको पसिना, यात्राको थकान र हामीप्रतिको माया मिसिएको हुन्थ्यो ।
तर त्यो खुसी लामो समय टिक्दैनथ्यो । मामालाई आफ्नै घरको कामकाजले पर्खिरहेको हुन्थ्यो । केही बेर बसेर, खाना खाएर र कोसेली पुर्याएर उहाँ फर्किनुहुन्थ्यो । हामीलाई उहाँसँग अझै बस्न र खेल्न मन लाग्थ्यो । तर मामामाथि आफ्नै घरव्यवहारको जिम्मेवारी पनि उत्तिकै थियो । उहाँलाई बिदाइ गर्न हामी आमासँग फेरि त्यही बनरझुलाको चौरीमा पुग्थ्यौं, जहाँ उहाँको आगमन पर्खेर बसेका हुन्थ्यौं । बिदाइको क्षणमा आमा मामालाई छिट्टै फर्केर आउन आग्रह गर्दै रुनुहुन्थ्यो, मामा पनि भावुक हुँदै फेरि कोसेली लिएर आउने वाचा गर्नुहुन्थ्यो । हामी पनि मामाको काँधेकुरी र काख छोड्न मान्दैनथ्यौं । अन्ततः आमा र मामाले छिट्टै भेट्ने र कोसेली ल्याइदिने आश्वासन दिएर हामीलाई फकाउँदै घर फर्काउनुहुन्थ्यो ।
त्यो चौरी केवल बिदाइको ठाउँ थिएन, माया, बिछोड र पुनर्मिलनको आशा गाँसिएको हाम्रो बाल्यकालको भावुक स्मृति पनि थियो । आज सम्झँदा लाग्छ, त्यो छठको प्रसाद मात्र थिएन । त्यो मधेसको मावली संस्कृतिमा चेलीबेटीको घर सम्झिने, भान्जा–भान्जीलाई माया गर्ने र आफन्तबीच खुसी बाँड्ने र सम्बन्ध जोड्ने परम्पराको जीवन्त उदाहरण थियो । मामा केवल आमाको दाजुभाइ वा भाइ होइन, भान्जा–भान्जीको बाल्यकालमा विशेष स्नेह र अपनत्व बोकेर आउने आत्मीय पात्र पनि थिए ।
आज बनरझुला चौरीको त्यो धानखेतको आली बदलिएको छ । खेत र त्यो आली विस्तारै बस्ती र बाटोमा परिणत भएको छ । तर चाडपर्वका बेला त्यहाँ पुग्दा मामाको बाटो हेरेर बसेको बाल्यकालको त्यो दृश्य अझै सेलाएको छैन । ‘मामा आउनुभयो !’ भन्दै खुसीले उफ्रिएका ती दिन र क्षण भने समयसँगै बितिसकेको छ । आज बजारमा छठका लागि चाहिने सामग्री सहजै पाउन सकिन्छ । यातायातको सुविधा छ । फोनको सुविधा छ । एक कलको भरमा आफन्तको हालखबर क्षणभरमै बुझ्न सकिन्छ । सूचना-प्रविधिले भावनात्मक सम्बन्धको दूरी जति छोटो बनाएको छ, उति नै प्रत्यक्ष भावनात्मक सम्बन्धको दूरी पनि घटाएको छ । जसलेगर्दा नातागोता र आफन्तका लागि समय निकाल्ने, उनीहरूको बाटो हेर्ने र पर्खने बानी कमजोर हुँदै गएको छ ।
परिस्थितिसँगै समय र जीवनशैली बदलिनु स्वाभाविक हो । तर परिवर्तनसँगै सम्बन्धको न्यानोपन हराउँदै जानु चिन्ताको विषय हो । आज वस्तुहरू सहजै उपलब्ध छन्, तर तिनले दिने खुसी पहिलाझैं गहिरो छैन । किनभने खुसीको अर्थ वस्तुमा मात्र हुँदैन्, त्यससँग जोडिएको सम्बन्ध र भावनामा पनि हुन्छ । छठको सुन्दरता महँगो प्रसादी, सजिसजाउ घाट र ठूलो उत्सवमा मात्र छैन । यसको वास्तविक महत्त्व प्रकृतिप्रतिको कृतज्ञता, श्रमको सम्मान, पारिवारिक आत्मीयता र सामाजिक सद्भावमा छ । आज पनि गाउँदेहातमा कतिपय मानिस टाढाको बाटो हिँडेर आफ्ना भान्जा–भान्जीका लागि कोसेली बोकेर आउँछन्, जहाँ आजको सूचना-प्रविधि पुग्न सकेको छैन । यस्ता परम्पराले छठलाई धार्मिक आस्थासँगै सामाजिक सम्बन्धको जीवन्त संस्कृति बनाइरहेका छन् ।
आज बाल्यकाल सम्झँदा मामाले ल्याउने ठकुवा, भुसुवा लड्डु, केरा, उखु, नरिवल र भोगटेको स्वादभन्दा बढी उहाँको काँधेकुरी सम्झन्छु । त्यो काँध कोसेलीको भारी मात्र थिएन, हामीले रमाउने काँधेकुरी पनि थियो । आमाको चुलोमा पाक्ने तरुवा–बगरुवाभन्दा बढी उहाँको मन सम्झन्छु, जहाँ टाढाबाट थाकेर आउने मामाका लागि सम्मान र आत्मीयता थियो । बनरझुला चौरीको आलीमा उभिएर बाटो हेर्ने ती आँखा सम्झन्छु, जसले सानो कुराभित्र पनि ठूलो खुसी भेट्न सिकाएका थिए । आज आफ्नै घरमा छठ मनाइन्छ । तर मामा र आमालाई यसको खबर छैन । किनभने उहाँहरु बित्नुभएको करिब पाँच वर्ष भइसकेको छ । बुढेसकालमा समेत कुप्रो परेको शरीर र लट्ठीको सहारामा मामा छठको कोसेली बोकेर आउनुहुन्थ्यो । उमेरले शरीर कमजोर थियो । तर भान्जा–भान्जीप्रतिको माया कमजोर थिएन ।
आज त मामा छैन । तर उहाँको सम्झना ताजै छ । उहाँले ल्याउने ठेकुवाको स्वाद, भुसुवा प्रसाद र कोसेलीहरू खाएर सकियो । तर ती कोसेली बोकेर आउनुभएको माया र त्यसले दिएको खुशी जीवनभर मेटिने छैन । सायद त्यसैले छठ आउँदा मलाई अस्ताउँदो सूर्यलाई अर्घ्य दिने घाटको रौनकभन्दा उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सिरहाबाट सप्तरीतर्फ पैदल हिँडेर आउने मामाको सम्झना धेरै आउँछ । खेतको आलीमा उभिएर उहाँको प्रतीक्षामा बसेका हामी दाजुभाइको दृश्य आज पनि आँखाअगाडि नाच्छन् । यसरी आज छठको रौनक फेरिएको छ, गाउँको बाटो फेरिएको छ र जीवनको लय पनि बदलिएको छ । तर मेरो बाल्यकालको छठ अझै त्यहीँ छ- बनरझुला चौरीको आलीमा, मामाको प्रतीक्षामा । फरक यति हो, पहिले मामा आउनुहुन्थ्यो, आमाले खाना पकाउनुहुन्थ्यो । तर आज उहाँहरूको याद आउँछ ।