नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वले सबैको जीवनमा नयाँ आशा, सकारात्मक ऊर्जा र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन्।
छठ पर्वको अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै ओलीले उदाउँदो सूर्यलाई अर्घ्य दिँदा नयाँ आशाको सञ्चार हुने बताएका हुन्।
ओलीले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा कृतज्ञताको भावना जागृत हुने र उदाउँदो सूर्यको उपासनाले नयाँ आशा तथा उत्साह प्रदान गर्ने उल्लेख गरेका छन्।
उनका अनुसार शुद्धता, संयम र निष्ठाको प्रतीक छठ पर्वले सूर्यको उपासनामार्फत आरोग्य, सुख, समृद्धि र पारिवारिक कल्याणको कामना गर्दछ।
यस पर्वले प्रकृतिका स्रोतप्रति सम्मान र जीवनप्रति सकारात्मक आस्था जगाउनुका साथै सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देशसमेत दिने उनले बताएका छन्।
प्रकाशित: २९ कार्तिक २०८३ १०:२६ आइतबार