काठमाण्डौ । मलेसियाको विद्युतीय सवारीसाधन (ईभी) बजारमा प्रोटोन ई.मास ५ ले शानदार प्रदर्शन गरेको छ। समग्र ईभी बजारमा बिक्री घटिरहेका बेला यो मोडलले भने झण्डै आधा बजार हिस्सा ओगट्दै सर्वाधिक लोकप्रिय विद्युतीय सवारीको स्थान हासिल गरेको हो।
सन् २०२६ को अक्टोबर महिनामा मलेसियामा प्रोटोन ई.मास ५ का कुल २ हजार २६२ वटा सवारी दर्ता भएका छन्। यो संख्या उक्त महिनामा दर्ता भएका कुल विद्युतीय सवारीको ४९.३ प्रतिशत हो।
अक्टोबरमा मलेसियाभर कुल ४ हजार ५९२ वटा विद्युतीय सवारी दर्ता भएका थिए। यो संख्या सेप्टेम्बरको तुलनामा २३.८ प्रतिशतले कम हो। साथै, गत फेब्रुअरीयताकै सबैभन्दा न्यून मासिक ईभी दर्ता पनि यही हो।
समग्र बजार खुम्चिएको अवस्थामा समेत प्रोटोन ई.मास ५ ले हासिल गरेको बजार हिस्साले मलेसियाको ईभी बजारमा यस मोडलको बलियो उपस्थिति देखाएको छ।
प्रोटोनको अर्को विद्युतीय मोडल ई.मास ७ को पनि अक्टोबरमा ५५४ वटा सवारी दर्ता भएका छन्। यी दुई मोडलको संयुक्त दर्ता संख्या २ हजार ८१६ पुगेको छ। यस आधारमा मलेसियाको कुल ईभी बजारमा प्रोटोनका यी दुई मोडलले मात्रै ६१.३ प्रतिशत हिस्सा ओगटेका छन्।
यसैबीच, मलेसियामा पूर्ण विद्युतीय सवारीको दर्ता घट्दा हाइब्रिड सवारीको बजार भने तुलनात्मक रूपमा बलियो देखिएको छ। अक्टोबरमा ५ हजार २३ वटा हाइब्रिड सवारी दर्ता भएका छन्। यो वर्ष हाइब्रिड सवारीको मासिक दर्ता पूर्ण विद्युतीय सवारीभन्दा बढी भएको दोस्रो पटक हो।
नेपालमा पनि उपलब्ध छ प्रोटोन ई.मास ५
मलेसियाको बजारमा लोकप्रिय बनेको प्रोटोन ई.मास ५ नेपाली बजारमा समेत उपलब्ध छ। नेपालका लागि प्रोटोनको आधिकारिक वितरक शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले यो गाडी बिक्रीवितरण गर्दै आएको छ।
प्रोटोन ई.मास ५ नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। यसको सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा रियर ह्विल ड्राइभ लेआउटसहित उपलब्ध यो गाडीमा ८५ किलोवाट क्षमताको मोटर र ४० किलोवाटआवरको सीएटीएल एलएफपी ब्याट्री जडान गरिएको छ।
यसमा ४.९५ मिटरको टर्निङ रेडियस, रियर मल्टी–लिंक सस्पेन्सन तथा भेहिकल–टु–लोड (भीटुएल) प्रविधि उपलब्ध छ।
गाडीमा ७० लिटरको फ्रन्ट ट्रंक, ३७५ लिटरसम्मको पछाडिको लगेज स्पेस र ३२ वटा स्टोरेज कम्पार्टमेन्ट उपलब्ध छन्।
त्यस्तै, १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो लगायतका आधुनिक सुविधा समावेश गरिएका छन्।
प्रोटोनको अर्को विद्युतीय एसयूभी ई.मास ७ पनि नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ।
यसमा ४१० किलोमिटरसम्मको डब्लुएलटीपी रेन्ज दिने एल्जी सर्ट ब्लेड ब्याट्री प्रविधि, १२–इन–१ इन्टिग्रेटेड मोटर तथा डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ।
गाडीमा १५.४ इन्चको २.५के टचस्क्रिन, १६ स्पिकरयुक्त फ्लाइम साउन्ड सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, विन्डसिल्ड हेड–अप डिस्प्ले र भीटुएल सुविधा उपलब्ध छन्।
नेपाली बजारमा यसको सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ।
नेपालमा प्रोटोनका विद्युतीय सवारीको बजार विस्तारसँगै बिक्री तथा बिक्रीपछिको सेवा सञ्जाललाई थप सुदृढ बनाउने रणनीतिमा जगदम्बा मोटर्स रहेको कम्पनीले जनाएको छ।
शंकर ग्रुपअन्तर्गत सञ्चालित जगदम्बा मोटर्सले प्रोटोन मलेसियासँगको सहकार्यमा नेपालमा आधुनिक प्रविधियुक्त विद्युतीय सवारीको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।