३० कात्तिक, काठमाडौं । नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन (एनएससीसीएम) को अध्यक्षमा डा. दिप्तेश अर्याल चयन भएका छन् । संस्थाको तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. सविन कोइराला, महासचिवमा डा. प्रदीप तिवारी र कोषाध्यक्षमा डा. ललितकुमार राजवंशी निर्वाचित भएका छन् ।
त्यस्तै, सहसचिवमा डा. किशोर खनाल र सहकोषाध्यक्षमा डा. सचित शर्मा चयन भएका छन् । कार्यसमिति सदस्यमा डा. विपिन कारी, डा. शुभकल्याण श्रेष्ठ, डा. बसन्त गौली र डा.कल्पना खर्बुजा चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिलाई संस्थाका निवर्तमान अध्यक्ष प्रा. डा.रविराम श्रेष्ठले बधाई तथा शुभकामना दिएका छन् । यसैबीच, एनएससीसीएमले क्रिटिकल केयरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन पनि सम्पन्न गरेको छ । काठमाडौंस्थित होटल र्याडिसनमा कात्तिक २७ र २८ गते आयोजित सम्मेलनमा ४० भन्दा बढी देशका एक सयभन्दा बढी अन्तर्राष्ट्रिय विशेषज्ञ र आठ सयभन्दा बढी सहभागीको उपस्थिति थियो ।
‘एउटै समूह, एउटै लक्ष्य : निम्न तथा मध्यम आय भएका देशमा सघन उपचारको गुणस्तर र सुरक्षा अभिवृद्धि’ भन्ने नाराका साथ सम्मेलन आयोजना गरिएको थियो।
सम्मेलनमा वर्ल्ड फेडेरेसन अफ क्रिटिकल केयर नर्सेस (डब्लुएफसीसीएन) को २१औँ विश्व सम्मेलन, नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनको आठौँ अन्तर्राष्ट्रिय सम्मेलन र क्रिटिकल केयर नर्सेस एसोसिएसन अफ नेपालको पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलन एकैसाथ आयोजना गरिएको थियो ।
नेपालमा सघन उपचार सेवाको विकास, गुणस्तर र सुरक्षासम्बन्धी अनुभव तथा ज्ञान आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको थियो ।