सभामुख डीपी अर्यालले भ्रष्टाचारमुक्त, सुशासित र सुरक्षित समाज निर्माण गर्दै नागरिकले दुःख पर्दा राज्य र सरकार आफ्नो साथमा रहेको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।
काठमाडौँ — प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले निश्चित समयका लागि मात्रै पदमा रहेको बताएका छन् । समाजमा सुशासन कायम गर्दै सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको प्रमुख आवश्यकता भएको पनि सभामुख अर्यालको भनाइ थियो ।
बाराको सिमरा–४, औराहास्थित नवनिर्मित कृष्ण प्रणामी मन्दिरको अवलोकन तथा स्थानीय समुदायसँगको भेटघाटका क्रममा सभामुख अर्यालले समाज, संविधान र कानुनले वञ्चित नगरेका विषयमा सबै नागरिकको समान सहभागिता र उपस्थितिको अधिकार रहेको उल्लेख गरेका थिए । सभामुखको सचिवालयले दिएको जानकारी अनुसार सभामुख अर्यालले भनेका थिए, 'म निश्चित अवधिका लागि सभामुख भएको हुँ, तर मेरो धरातल एउटा साधारण नागरिकका रूपमा यही समाजमा छ । हिजोको मेरो हुर्काइ र भोलि पनि यही समाजमा तपाईँहरूसँगै मिलेर बस्नुपर्ने कुरा म कदापि भुल्न सक्दिनँ ।'
सभामुख अर्यालले आर्थिक रूपमा नेपालले अझै धेरै प्रगति गर्न बाँकी रहे पनि धर्म, संस्कृति, सम्पदा र विविधताबीचको सामाजिक एकता नेपालको विशिष्ट पहिचान भएको बताएका थिए । जातजाति, भाषा, धर्म तथा हिमाल, पहाड र तराईका नागरिकबीचको आपसी सद्भाव र सहअस्तित्व विश्वसामु प्रस्तुत गर्न सकिने नेपालको उदाहरणीय विशेषता भएको उनको भनाइ थियो ।
भ्रष्टाचारमुक्त, सुशासित र सुरक्षित समाज निर्माण गर्दै नागरिकले दुःख पर्दा राज्य र सरकार आफ्नो साथमा रहेको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्नेमा सभामुख अर्यालले जोड दिएका थिए । त्यसका लागि संवाद, सहकार्य र समन्वयमार्फत नागरिकका समस्या तथा गुनासो सम्बोधन गर्नुपर्ने उनले बताएका थिए ।
संघीय संसद्मा कानुन तथा नीति निर्माण गर्दा नेपालका सबै धर्म, संस्कृति, जातजाति र भाषालाई समेट्ने विषयमा आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै सभामुख अर्यालले विज्ञ तथा सरोकारवालाका सुझाव र अनुभवले भावी पुस्ताका लागि उपयोगी कानुन निर्माण गर्न सहयोग पुग्ने बताएका थिए ।