२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा सबैभन्दा कमजोर प्रदर्शन गरेको लुम्बिनी लायन्सले तीन सिजनमै आफूलाई प्रतियोगिताको बलियो टोलीका रूपमा स्थापित गरेको छ।
पहिलो संस्करणमा पुछारमा रहेको लुम्बिनी दोस्रो संस्करणमा च्याम्पियन बन्यो। तेस्रो संस्करणमा पनि आफ्नो लय कायम राख्दै राउन्ड रोबिन चरण शीर्ष स्थानमा पूरा गरेको छ। अब टोलीसामु अघिल्लो संस्करणको उपाधि रक्षा गर्ने चुनौती छ।
लुम्बिनीले सात खेलबाट ११ अंक जोड्दै पहिलो क्वालिफायरमा स्थान बनाएको छ। पाँच खेलमा जित निकालेको टोलीले एक खेलमा हार बेहोरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो।
विराटनगर किङ्सलाई अन्तिम ओभरमा रोमाञ्चक ढंगले पराजित गर्दै लुम्बिनीले शीर्ष स्थान पक्का गरेको हो।
लुम्बिनीको यो सफलता पहिलो संस्करणको प्रदर्शनसँग तुलना गर्दा उल्लेखनीय छ। पहिलो संस्करणमा सातमध्ये एक खेल मात्रै जितेको लुम्बिनी अंकतालिकाको पुछारमा थियो।
दोस्रो संस्करणमा भने टोलीले कठिन परिस्थितिबाट पुनरागमन गर्दै प्लेअफमा स्थान बनायो र उपाधि नै जित्यो। यसपटक पनि सुरुदेखि निरन्तर राम्रो प्रदर्शन गर्दै लुम्बिनीले आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गरेको छ।
तीन संस्करणको यात्रामा लुम्बिनीले गरेको सुधार टोलीको प्रदर्शन र संयोजनमा देखिएको छ। पहिलो संस्करणको निराशाजनक नतिजाबाट माथि उठ्दै दोस्रोमा उपाधि जितेको टोलीले तेस्रो संस्करणमा पनि नियमितता कायम राखेको छ।
अब पहिलो क्वालिफायर जितेर फाइनल पुग्ने र लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्य लुम्बिनीको हुनेछ।
लुम्बिनीले राउन्ड रोबिन चरणको अन्तिम खेलमा विराटनगरविरुद्ध १६७ रनको लक्ष्य पछ्याउँदै रोमाञ्चक जित निकाल्यो। विराटनगरले चरिथ असलंकाको ६४ रनको मद्दतमा २० ओभरमा चार विकेट गुमाएर १६६ रन बनाएको थियो।
४३ बल खेलेका असलंकाले एक चौका र छ छक्का प्रहार गरेका थिए। शुभम रञ्जनेले २४ बलमा ३१ रन बनाए। दोस्रो विकेटका लागि असलंकाले रञ्जनेसँग ११२ रनको साझेदारी गरेका थिए।
लुम्बिनीका किशोर महतोले दुई विकेट लिए। अभिशेष गौतमले पनि एक विकेट लिए। विराटनगरले बनाएको योगफल प्रतिस्पर्धात्मक देखिए पनि लुम्बिनीले अन्तिमसम्म हार मानेन।
लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले पावरप्लेमा ३९ रन मात्रै बनाएको थियो। १० ओभरमा टोलीको स्कोर विकेट नगुमाई ७० रन पुगेको थियो। डार्शी शर्ट र आसिफ शेखले समान ४५ रन बनाए।
तर, असलंकाले शर्टलाई आउट गरेपछि विराटनगर खेलमा फर्किएको थियो। अपराजित पौडेलले लगातार दुई बलमा निरोशन डिकवेला र दिलिप नाथलाई शून्यमा आउट गरेपछि लुम्बिनी दबाबमा परेको थियो।
कप्तान रोहित पौडेलले पाँचौं नम्बरमा ब्याटिङ गर्दै सन्दीप लामिछानेलाई छक्का प्रहार गरे। त्यससँगै अन्तिम चार ओभरमा लुम्बिनीलाई ४८ रन आवश्यक थियो। तर, अर्को ओभरमा रोहित रनआउट भएपछि विराटनगरको पक्षमा खेल गएको देखिएको थियो।
अन्तिम दुई ओभरमा ३३ रन आवश्यक हुँदा लुम्बिनीको जित कठिन देखिएको थियो। १९औं ओभरका अन्तिम दुई बलमा सन्दीप जोराले लगातार छक्का प्रहार गरेपछि खेलको अवस्था फेरियो।
११ बलमा अविजित २५ रन बनाएका जोराले लुम्बिनीलाई जितको नजिक पुर्याए। अली शेखले पनि १९ बलमा २७ रन बनाउँदै महत्त्वपूर्ण योगदान दिए।
अन्तिम ओभरको पहिलो बलमा रुपेश सिंहको बलमा अलीले छक्का प्रहार गरे। बसिर अहमदले क्याच छाडेपछि बल सीमापार पुग्यो र उक्त बल नोबलसमेत भयो।
रुपेशले त्यसपछि खेलमा फर्कने प्रयास गरे पनि अन्तिमभन्दा अघिल्लो बलमा रुबेन ट्रम्पलम्यानले छक्का प्रहार गर्दै लुम्बिनीलाई जित दिलाए। यो हारसँगै विराटनगरको प्लेअफ सम्भावना समाप्त भयो।
विराटनगरविरुद्धको जितपछि सन्दीप जोराले टोलीको सफलताको आधार सामूहिक प्रदर्शन रहेको बताए। उनका अनुसार क्रिकेटमा उतारचढाव भइरहने भए पनि लुम्बिनी सबै खेलाडीको योगदानबाट जित निकाल्ने लक्ष्यमा केन्द्रित छ।
‘क्रिकेटमा कहिलेकाहीँ उतारचढाव हुन्छ। हामी आफ्नो लक्ष्यमा केन्द्रित छौँ। जित्नका लागि जे आवश्यक छ, त्यसमा ध्यान दिइरहेका छौँ। टोलीका सबै खेलाडीको सामूहिक योगदान कसरी आउँछ भन्नेमा हाम्रो जोड छ,’ जोराले भने।
अघिल्लो संस्करणमा ओपनिङ गरेका जोराले यसपटक मध्यक्रममा फिनिसरको भूमिका पाएका छन्। टोलीको संयोजनअनुसार आफ्नो जिम्मेवारी फरक भएको उनले बताए। आवश्यकताअनुसार माथिल्लो क्रममा पनि ब्याटिङ गर्नुपर्ने उनको भनाइ छ।
विराटनगरविरुद्ध अन्तिम दुई ओभरमा ३३ रन आवश्यक रहेको अवस्थामा आफूले खेल जित्न सकिने विश्वास गरेको उनले बताए। ‘अली शेख र म कुरा गरिरहेका थियौँ, बाउन्ड्री आयो भने जितिन्छ भनेर। सुरुमा मोमेन्टम हामीसँग थियो, बीचमा उनीहरूतिर गयो र अन्तिममा फेरि बाउन्ड्रीले हामीलाई खेलमा फर्कायो,’ उनले भने।
जोराले एनपीएलमा पिचको अवस्थाबारे पनि धारणा राखे। नेपाली क्रिकेटको विकासका लागि राम्रो पिच आवश्यक रहेको बताउँदै उनले विदेशमा खेल्दा ब्याटिङका लागि सहज पिचमा खेल्ने गरेको र विदेशी खेलाडीले पनि त्यस्तै अपेक्षा गर्ने बताए।
विराटनगरका लागि ६४ रन बनाएका चरिथ असलंकाले हारपछि टोलीको फिल्डिङमा सुधार गर्नुपर्ने बताए। प्रतियोगिताभरि फिल्डिङ अपेक्षाअनुसार हुन नसकेको उनको भनाइ थियो।
‘हामी धेरै कुरा भन्न सक्छौँ। धेरै सम्भावित अवस्था थिए। तर, प्रतियोगिताभरि हाम्रो फिल्डिङ राम्रो हुन सकेन। अर्को पटक यसमा सुधार गर्नुपर्छ,’ उनले भने।
दोस्रो इनिङ्समा शीतका कारण बल भिजेको र त्यसले खेलमा प्रभाव पारेको पनि असलंकाले बताए। बल भिजेका कारण विपक्षी टोलीलाई फाइदा पुगेको उनको भनाइ थियो।
अब लुम्बिनीको ध्यान पहिलो क्वालिफायरमा हुनेछ। पहिलो संस्करणको पुछारबाट दोस्रो संस्करणको च्याम्पियन र तेस्रो संस्करणको शीर्ष टोली बनेको लुम्बिनीका लागि अबको लक्ष्य उपाधि रक्षा गर्दै आफ्नो सफल यात्रालाई निरन्तरता दिनु हो।