विगतका वर्षमा छठका बेला केराको मूल्य महँगिने गरेको भए पनि यस वर्ष बजारमा पर्याप्त आपूर्ति र मूल्यमा आएको कमीले उपभोक्तालाई केही सहज भएको छ । दुई महिनाअघि प्रतिदर्जन ३ सय ५० सम्म रुपैयाँसम्म पुगेको मुल्य अहिले १ सयदेखि १ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ ।
काठमाडौँ — छठ पर्वका लागि केराको माग बढ्ने समयमा बजारमा सस्तो मूल्यमा केरा उपलब्ध भएपछि उपभोक्ताले राहत पाएका छन् । विगतका वर्षमा छठका बेला केराको मूल्य महँगिने गरेको भए पनि यस वर्ष बजारमा पर्याप्त आपूर्ति र मूल्यमा आएको कमीले उपभोक्तालाई केही सहज भएको छ । दुई महिनाअघि प्रतिदर्जन ३ सय ५० सम्म रुपैयाँसम्म पुगेको मुल्य अहिले १ सयदेखि १ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहिबार नेपाली र मालभोग दुवै जातका केराको मूल्य अहिले प्रतिदर्जन औसत १२५ रुपैयाँ कायम भएको छ । समितिको मूल्य विवरणअनुसार नेपाली केराको थोक मूल्य प्रतिदर्जन न्यूनतम १०० रुपैयाँदेखि अधिकतम १५० रुपैयाँ छ । त्यस्तै मालभोग केराको मूल्य पनि प्रतिदर्जन न्यूनतम १०० देखि अधिकतम १५० रुपैयाँसम्म रहेको छ । दुवै जातको केराको औसत मूल्य प्रतिदर्जन १२५ रुपैयाँ छ ।
नेपालमै उत्पादित केराले आन्तरिक माग धान्न थालेपछि छठका लागि बजारमा स्वदेशी केरा सस्तो मुल्यमा आपूर्ति भइरहेको ब्यवसायीहरुले बताएका छन् । केराको आयातमा गरिएको कडाइ र स्वदेशी उत्पादन बढेका कारण यस वर्ष नेपाली केराले बजार पाएको उनीहरुको भनाइ छ ।
चितवनमा व्यावसायिक केरा खेती गर्दै आएका किसान लक्ष्मण सुवेदीले यस वर्ष छठ पर्वलाई लक्षित गरी तीन हजार घरी केरा बिक्री गरे । उनले अनुसार फार्मबाट एउटा घरी केरा चार सयदेखि पाँच सय रुपैयाँसम्ममा बिक्री गरे एउटा घरीमा सामान्यतया १५० देखि २०० कोशा हुने उनले बताए । फार्ममा बर्षभरि नै केरा उत्पादन हुने भएपनि छठ पर्व केरा बिक्री गर्ने मुख्य पर्व रहेको उनले सुनाए ।
‘केरा अनिवार्य चाहिने पर्व भनेको छैटी माता मात्रै रहेछ यो पर्वमा केराको माग बढ्छ । ’ सुवेदीले भने ‘ यो बर्ष स्वदेशमा नै राम्रो उत्पादन छ किसानले राम्रो मुल्य पाएका छन् ।’ उनले ५५ बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका छन् । छठ पर्वमा जि–नाइन जातका केरा बिक्री गरेको उनले बताए । उनले बिगतका छठ पर्वमा तीन देखि ४ हजार घरिसम्म बिक्री भएको थियो । बिगतको बर्षहरुमा भन्दा यो केराको राम्रो मुल्य पाएको उनले सुनाए । ‘पहिला भारतबाट आयात हुन्थ्यो नेपाली केरा बिक्री नभएर कुहिन्थे, उनले भने, अहिले आयातमा कडाई गरेपछि नेपाली किसानहरुले राम्रो मुल्य पाउन थालेका छन् । ’
नवलपरासीका अर्का किसान लख्खुप्रसाद यादवले पनि छठ पर्वमा दुई थरि मुल्यमा केरा बिक्री गरको बताए । गुणस्तरको केरा प्रति दर्जन ९५ र कम गुणस्तरको केरा ४० देखि ५५ का दरले बिक्री गरेका छन् । उनले छठ पर्वमा १२ पिकअप (करिब ५०० ) घरी केरा बेचेका छन् । ‘फार्ममा नै यो मुल्य पाउनु भनेको राम्रो हो । ’ यादवले भने ‘अहिले नेपाली किसानहरुलाई केरा ब्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन् । डेढ बिद्या जग्गामा खेती गर्दै आएका यादव यो बर्ष चाडपर्वमा उपभोक्ताहरुले स्वदेशी तथा सस्तो मुल्यमा केरा पाएको बताए ।
केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले पछिल्लो एक वर्षयता नेपालमा खपत हुने केरा स्वदेशी उत्पादनबाटै आपूर्ति भइरहेको केराको मुल्य सस्तो भएको बताए । उनका अनुसार गत वर्ष असोज ६ देखि केराको आयातमा कडाइ गरिएको थियो । त्यसयता आयात रोकिदा नेपाली उत्पादनले बजार पाएको हो । ‘अहिले नेपाललाई चाहिने केरा नेपालमै उत्पादन भइरहेको छ । बाहिरबाट एउटा केरा पनि पास भएको छैन । सरकारले आयातमा गरेको कडाइले नेपाली किसानलाई बजार पाउन सहयोग पुगेको छ,’ पन्तले भने ।
उनका अनुसार यस वर्ष केराको मूल्य पनि किसानका लागि तुलनात्मक रूपमा राम्रो छ । किसानले अहिले केराको घरीअनुसार पाँच सयदेखि ६ सय रुपैयाँसम्म पाइरहेका छन् । गत वर्ष १० देखि १५ दिनको अवधिमै ७० देखि ८० करोड रुपैयाँ बराबरको केरा नोक्सान हुने गरेको पन्तको भनाई छ । देशभर छठमा कति केरा खपत हुन्छ भन्ने यकिन तथ्यांक भने उपलब्ध भइसकेको छैन । विभिन्न जिल्लाबाट उत्पादन तथा आपूर्तिको विवरण संकलन भइरहेकाले कुल खपतको तथ्यांक पछि मात्र प्राप्त हुने पन्तले बताए ।
आन्तरिक आपुर्ति प्रशस्त भएकाले केराको मुल्य सस्तो भएको फलफूल थोक व्यवसायी संघ, काठमाडौंका अध्यक्ष अमर बानियाँले बताए । उनका अनुसार काठमाडौंमा कैलालीको टिकापुर, चितवन र त्रिवेणीलगायत क्षेत्रबाट केरा आपुर्ति हुने गरेको छ । तिहारपछि झन मुल्य घटेको छ । तिहारका बेला प्रति कार्टुन १ हजार ३०० देखि १ हजार ४०० रुपैयाँसम्म पुगेको केराको मूल्य अहिले घटेर ९ सयदेखि १ हजार रुपैयाँ पुगेको छ । एक कार्टुनमा ९० देखि १ सय कोशासम्म हुने गर्दछ । तर छठ पर्वमा अपेक्षा गरेअनुसार बिक्री हुन नसकेको उनले भनाई छ । ‘हामीले जति बिक्री हुने अपेक्षा गरेका थियौं, त्यसअनुसार व्यापार भएन । बाँनियाले भने तिहारमै पर्याप्त केरा बिक्री नभएपछि स्टक बाँकी रहृयो । छठमा पनि सोचेअनुसार माग आएन । ’ यस वर्ष चिसो मौसम र तिहारको मौज्दातसमेत बाँकी रहेकाले बजारमा केराको माग थप प्रभावित भएको बताए ।
नेपालमा चिनी चम्पा, जी नाइन र मालभोग जातको केरा खेती हुने गरेको छ । नेपालमा वार्षिक करिब ९ लाख टन माग रहेको महासंघको भनाई छ । गत वर्ष सात लाख टन केरा उत्पादन भएको थियो । दसैं–तिहार र छठ जस्ता मुख्य चाडपर्वमा करिब २ लाख टन केरा खपत हुने पन्तले बताए । ‘मागअनुसार केरा उत्पादन नजिक पुगिसकेको छ । अहिले केराको मुख्य सिजन हो । दसैं–तिहार र छठमा मुख्य चाडपर्वमा स्वदेशी उत्पादनले नै धानेको छ र उपभोक्ताले सस्तोमा पाएका छन् ।’
प्रकृति कान्तिपुर मिडिया ग्रुपका आबद्ध दाहाल, अर्थतन्त्रका विविध आयाम, महिला अधिकार र प्रशासनका विषयमा रिपोर्टिङ गर्छिन् ।