विराटनगर किंग्सविरूद्धको खेलमा जितका लागि १ सय ६७ रन पछ्याउने क्रममा लुम्बिनी लायन्सले एक बलको खेल बाँकी छँदा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको हो ।
काठमाडौँ — लुम्बिनी लायन्सका सन्दीप जोराले आफ्नो टिम नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको क्वालिफायर–वानमा पुगेकोमा खुसी व्यक्त गरेका छन् । लुम्बिनीले शुक्रबार भएको रोमाञ्चक र सनसनीपूर्ण खेलमा विराटनगर किंग्सलाई चार विकेटले पराजित गरेको हो ।
जितका लागि १ सय ६७ रन पछ्याउने क्रममा लुम्बिनीले एक बलको खेल बाँकी छँदा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको हो । खेलका ‘प्लेयर अफ द म्याच’ विजयी टिमका सन्दीप भए । उनले २५ रन बनाए र नटआउट रहे ।
उनले आफ्नो टिमको जितमा योगदान दिन सकेकोमा खुसी व्यक्त गरे । उनले भने, ‘अन्त्यतिर जित हात पर्नेमा विश्वास थियो । जित सजिलो रहेन । हाम्रो टिमको विशेषता भनेको सबै खेलाडीले आ–आफ्नो क्षेत्रबाट योगदान दिनु हो ।’
सन्दीपले आफ्नो टिम उपाधि रक्षा गर्न सक्षम हुने पनि विश्वास पोखे । उनले भने, ‘हामी अहिले लयमा छौं र फेरि उपाधि जित्ने नै हाम्रो एक मात्र लक्ष्य हो । हामीले त्यसैअनुसार खेलिरहेका पनि छौं ।’
जितपछि लुम्बिनीको सात खेलबाट ११ अंक भएको छ । विराटनगर भने ६ अंकमै सीमित रह्यो । यो नतिजाले शीर्ष चारमा रहने टिमको पनि टुंगो लागेको छ । लुम्बिनी र सुदूरपश्चिम रोयल्ससँगै काठमाडौं गोर्खाज र चितवन राइनोज शीर्ष चारमा रहने छन् ।
डिफेन्डिङ च्याम्पियन लुम्बिनीले क्वालिफायर वान खेल्न लागेको यो पहिलो पटक हो । पछिल्लो सिजन इलिमिनेटर र क्वालिफायर टु खेलेर उसले उपाधि जितेको थियो । अब आइतबार चितवन र कर्णाली याक्स तथा काठमाडौं र पोखरा एभेन्जर्स भिड्ने छन् ।
पराजित टिम विराटनगरका चरिथ असलंकाले आफ्नो टिमले सक्दो गर्न नसकेको र लुम्बिनीले राम्रो खेलेको स्वीकारे । उनले भने, ‘यस्तो खेलमा जुन टिमले निर्णायक मोडमा राम्रो गर्न त्यही जित्छ ।’