रुबेन ट्रम्पलमनले निर्णायक छक्का प्रहार गरेपछि लुम्बिनीले विराटनगरमाथि सनसनीपूर्ण जित निकाल्दै ११ अंकसहित क्वालिफायरमा स्थान बनायो।
काठमाडौँ — रुबेन ट्रम्पलमनले म्याच विजयी छक्का प्रहार गरेपछि च्याम्पियन लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेटमा शनिबार विराटनगर किंग्समाथि ४ विकेटको सनसनीपूर्ण विजय हात पारेको छ ।
चारिथ असलंकाको अर्धशतकमा टस हारेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ६६ रन बनाएको थियो । ट्रम्पलमनले विशाल छक्का प्रहार गरेपछि जवाफमा आएको लुम्बिनीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १९.५ ओभरमा १ सय ६८ रन बनाएको थियो ।
यससँगै टोलीले शीर्ष स्थानमा रहि क्वालिफायर खेल्ने भएको छ । ८ टोलीले राउन्ड रोबिनमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनलमा स्थान पाउन क्वालिफायरमा प्रतिस्पर्धा गर्ने प्रावधान रहेको छ । लुम्बिनीको ११ अंक । सुदूरपश्चिम रोयल्स १० अंकका साथ दोस्रो स्थानमा छ । तर आइतबार हुने खेलमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई पराजित गरेमा समान १० अंक बोकेको सुदूरपश्चिमलाई रनरेटमा उछिन्ने छ । त्यस्तो अवस्थामा लुम्बिनी र काठमान्डु फाइनलमा स्थान पाउन क्वालिफायरमा खेल्ने छन् ।
लुम्बिनीको यस विजयले विराटनगर लिग चरणबाटै बाहिरिएको छ भने प्लेअफ खेल्ने सबै चार टोलीको टुंगो लागेको छ । लुम्बिनी र सुदूरपश्चिमसँगै काठमान्डु र चितवन राइनोज शीर्ष चारभित्र पर्ने निश्चित भएको छ ।
यसअघि असलंकाले ४३ बलमा ६४ रन बनाएका थिए । असलंकाले आफूले पाएको दुईवटा जीवनदानको पूरा फाइदा उठाए । उनी २२ रनमा हुँदा रुबेन ट्रम्पलमनले लङ अनमा र ४७ रनमा हुँदा आसिफ शेखले लङ अफमा क्याच छाडेका थिए । असलंकाले आफ्नो इनिङ्समा १ चौका र ६ छक्का प्रहार गरे ।
लोकेश बम १७ बल खेली २ चौका प्रहार गरी १५ रन बनाई पाँचौं ओभरमा आउट भए । त्यसपछि असलंकाले इमरान शेख र शुभम रन्जनेसँग मिलेर विराटनगरलाई राम्रो योगफलमा उभ्याएका हुन् । इमरान २९ बल खेली १ छक्का प्रहार गर्दै २४ रनमा आउट भए ।
रन्जने २४ बल खेली ४ चौका प्रहार गरी ३१ रनमा अविजित रहे । सेहन जयसुर्या १ र इसुरु उडाना ६ रनमा अविजित रहे । लुम्बिनीका किशोर महतोले ४ ओभरमा २४ रन खर्चेर २ तथा ट्रम्पलमन र अभिशेष गौतमले १–१ विकेट लिए । ट्रम्पलमनले त्यसका लागि ४ ओभरमा ५२ रन खर्चन पुगेका थिए । अभिशेषले ३ ओभरमा १५ रनमात्र खर्चेका थिए ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।