भौतिक संरचना निर्माण र सेवा विस्तारमा सघाउन देउसीभैलो समूहले आधारभूत स्वास्थ्य सेवा केन्द्र छत्रेश्वरी–२, दहखोला सल्यानलाई रकम हस्तान्तरण गरेको हो ।
सल्यान — देउसीभैलो खेलेर जम्मा गरेको रकम आधारभूत स्वास्थ्य सेवा केन्द्र छत्रेश्वरी–२, दहखोला सल्यानलाई हस्तान्तरण गरिएको छ ।छत्रेश्वरी गाउँपालिका–२ गुराँसे र रोल्पाको गंगादेव गाउँपालिका–३ झ्यामका संयुक्त लहरे पैसेरी/देउसीभैलो समूह, सहिद प्रतिष्ठित युवा समूह र खोरबारे लहरे नाच समूहले रकम प्रदान गरेका हुन् ।
भौतिक संरचना निर्माण तथा थप सेवा विस्तारका लागि उनीहरूले यस वर्षको तिहारमा देउसीभैलो खेलेर संकलन गरेको ५६ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
दुर्गम बस्तीमा रहेको स्वास्थ्य संस्थामा सबै किसिमका स्वास्थ्य सेवा पाउन कठिन हुने र उपचारका लागि जिल्ला अस्पताल सल्यानलगायत दाङ र नेपालगञ्जका अस्पताल धाउनुपर्ने बाध्यता रहेकाले सहयोग गरिएको विजय घर्तीले बताए । आगामी दिनमा जटिल नभई सामान्य उपचारका लागि समेत बाहिर जान नपरोस् र स्थानीयले गाउँघरमै रहेको स्वास्थ्य संस्थाबाट सहज उपचार पाऊन् भन्ने उद्देश्यले भौतिक संरचना निर्माण र सेवा विस्तारमा टेवा पुर्याउन देउसीभैलो खेलेर जम्मा गरेको रकम सहयोग गरिएको उनको भनाइ छ ।
देउसीभैलो खेलेर जम्मा गरेको ३० हजार रुपैयाँ पर्याप्त नभएको र अन्य निकायलाई पनि सहयोगका लागि प्रेरित गर्न रकम हस्तान्तरण गरिएको उनले जानकारी दिए । 'थोपा थोपा मिलेर समुद्र बन्छ । टोल, वडावासीले सहयोग गरे धेरै रकम जम्मा हुन्छ र भौतिक संरचना निर्माण तथा सेवा विस्तार गर्न सहज हुन्छ,' उनले भने ।
आफ्नै वडाका स्थानीयलाई स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने मात्र नभई आफूले पनि बेलाबेलामा निःशुल्क उपचार लिनुपर्ने भएकाले ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेको बेलबहादुर घर्तीले बताए । स्वास्थ्य संस्था व्यवस्थित भए सामान्य उपचारका लागि मेडिकल तथा अस्पताल धाउँदै हिँड्न नपर्ने उनले जानकारी दिए । 'गाउँमा गतिलो स्वास्थ्य संस्था नहुँदा सबै उपचारका लागि जिल्ला अस्पताल सल्यानलगायत दाङ जान बाध्य छन् । सबैले सहयोग गरेको रकमबाट गतिलो भौतिक संरचना बन्यो र सेवा विस्तार भयो भने स्थानीयले गाउँमै उपचार पाउँछन् । बाहिर जानुपर्दैन,' उनले भने ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र छत्रेश्वरीका स्वास्थ्यकर्मी चुडामणि बस्नेतका अनुसार गुराँसे–झ्याम लहरे भैलो नाच समूहले ३० हजार, सहिद प्रतिष्ठित युवा समूहले ५ हजार, खोरबारे लहरे नाच समूहले १० हजार र डिग्रे निवासी बेलबहादुर घर्तीले ११ हजार रुपैयाँ सहयोग गरेका छन् । अन्यले पनि सहयोग गर्ने तयारी गरेको उनले जानकारी दिए ।
विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।