संस्कृत विषय पढाउने विद्यालयदेखि गुरुकुल पद्धतिमा संस्कृत शिक्षा पढाउँदै आएका शैक्षिक प्रतिष्ठानका प्रतिनिधिहरूले भाग लिने सम्मेलन सोमबार सकिनेछ ।
चितवन — नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजनामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोटस्थित अग्लो डाँडामा रहेको मौलाकालिका मन्दिरमा आजदेखि गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन सुरु भएको छ । संस्कृत विषय पढाउने विद्यालयदेखि गुरुकुल पद्धतिमा संस्कृत शिक्षा पढाउँदै आएका शैक्षिक प्रतिष्ठानका प्रतिनिधिहरूले भाग लिने सम्मेलन सोमबार सकिनेछ ।
सम्मेलनमा ४४ वटा शैक्षिक प्रतिष्ठानका प्रतिनिधि र महेन्द्र संस्कृत विश्वविद्यालयका पदाधिकारीहरू सहभागी हुँदै छन् ।
'वैदिक ज्ञान, दर्शन, संस्कृत साहित्य, व्याकरण, ज्योतिष, आयुर्वेद, योग र अध्यात्म प्रवर्द्धनमा गुरुकुलको योगदान अतुलनीय छ,' सम्मेलन आयोजक समितिका सदस्यसचिव रामचन्द्र कँडेलले पत्रकार सम्मेलनमा भने । देशभर २५० गुरुकुल दर्ता भए पनि १५० वटा सञ्चालनमा रहेको कँडेलले बताए । माध्यमिक तहदेखि शास्त्री (स्नातक) र आचार्य (स्नातकोत्तर) तहसम्म पढाइ हुने गुरुकुल गण्डकी प्रदेशमा छन् ।
गुरुकुललाई युगानुकूल रूपान्तरण गर्दै अध्ययन–अध्यापन विधिमा सुधार गरेर आधुनिक शिक्षण पद्धति तथा सूचना–सञ्चार प्रविधिसँग जोड्न आवश्यक रहेको सदस्यसचिव कँडेलको भनाइ छ । गुरुकुल शिक्षाको गुणस्तर, संस्थागत व्यवस्थापन र शैक्षिक उपलब्धिको दीर्घकालीन विकासका लागि साझा दृष्टिकोण बनाउन सम्मेलन आयोजना गरिएको उनले बताए । सम्मेलनले समन्वय र सम्पर्क बढाउन मद्दत पुग्ने उनको भनाइ छ ।
मौलाकालिका मन्दिरमा सम्मेलन हुनेछ । सेनवंशका राजा मणिमुकुन्द सेनको पालामा झन्डै ४५० वर्षअघि त्यस ठाउँमा मन्दिर स्थापना गरेर पूजा गर्ने परम्परा सुरु भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले सम्मेलनका लागि सहयोग गरेको आयोजक समितिका सदस्यसचिव रामचन्द्र कँडेलले बताए । 'गुरुकुलहरूको संस्थागत सुदृढीकरण, शैक्षिक व्यवस्थापन, स्रोतसाधनको उपलब्धता, शिक्षकको क्षमता विकास, पाठ्यक्रमको समयानुकूल परिमार्जन र सहकार्यका विषयमा सम्मेलनबाट सहयोग पुग्नेछ,' उनले भने ।
रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।