अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको नयाँ अध्याय सुरु गर्दै समर्थकलाई सरप्राइज दिएका छन्।
फुटबल मैदानमा आफ्नो क्षमता र लोकप्रियता प्रमाणित गरिसकेका ४१ वर्षीय रोनाल्डो अब टेलिभिजन पर्दामा पनि देखिने भएका हुन्। उनले आफ्नो पहिलो टेलिभिजन सिरिज ‘डे १एस’ निर्माण सुरु भएको घोषणा गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत रोनाल्डोले आफ्नो नयाँ परियोजनाबारे जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘रोमाञ्चक खबर! मेरो पहिलो टेलिभिजन शो ‘डे १एस’ को निर्माण भर्खरै सुरु भएको छ। यसबारे थप जानकारी चाँडै सार्वजनिक गर्नेछु।’
उनले पोस्टसँगै केही तस्बिरसमेत सार्वजनिक गरेका छन्। ती तस्बिरमा बेलायती अभिनेता डेमियन लुइस, र्यापर डेभ तथा निर्माण टोलीका सदस्यहरू देखिएका छन्। एउटा तस्बिरमा इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफोर्डको ड्रेसिङ रुमसमेत देख्न सकिन्छ।
रोनाल्डोले बेलायती फिल्म निर्माता म्याथ्यू भनसँगको सहकार्यमा यो सिरिज निर्माण गरिरहेका छन्। दुवैले सन् २०२५ मा ‘यूआर मार्भ स्टुडियो’ स्थापना गरेका थिए। ‘किङ्सम्यान’, ‘किक-एस’ र ‘एक्स-मेन : फर्स्ट क्लास’ जस्ता चर्चित फिल्मसँग जोडिएका भन यस परियोजनाका महत्त्वपूर्ण साझेदार हुन्। रोनाल्डो र भन दुवै यस सिरिजका कार्यकारी निर्माताका रूपमा रहेका छन्।
‘डे १एस’ बेलायती फुटबलको व्यावसायिक संसार र त्यससँग जोडिएका सम्बन्धमा केन्द्रित कमेडी सिरिज हो। यसको कथा प्रिमियर लिग क्लब ब्रेन्टफोर्डमा आबद्ध हुने एक प्रतिभाशाली युवा फुटबलरको वरिपरि घुम्छ। प्रसिद्धि र सफलताको यात्रामा अघि बढ्दै गर्दा उसले बाल्यकालदेखिका साथीहरूसँगको सम्बन्धलाई कसरी सन्तुलनमा राख्छ भन्ने विषयलाई सिरिजमा मुख्य रूपमा प्रस्तुत गरिएको छ।
सिरिजमा चर्चित बेलायती अभिनेता डेमियन लुइसले स्टेनली डाल्टन नामका फुटबल एजेन्टको भूमिका निर्वाह गर्नेछन्। ‘होमल्याण्ड’ र ‘बिलियन्स’ जस्ता चर्चित सिरिजमा अभिनय गरिसकेका लुइस यस परियोजनाका प्रमुख कलाकार हुन्। सिरिजमा खेलाडीको सरुवा, सम्झौता, आर्थिक कारोबार र फुटबल व्यवसायभित्रको प्रतिस्पर्धालाई कमेडीका साथ प्रस्तुत गरिनेछ।
यसका साथै सफलताको यात्रामा साथ दिने पुराना साथीहरू र उनीहरूसँगको सम्बन्धलाई पनि कथाको महत्त्वपूर्ण पक्ष बनाइएको छ। पैसा, प्रसिद्धि र सफलताले मानिसको जीवन परिवर्तन गरेपछि सुरुदेखि साथ दिएका साथीहरूसँगको सम्बन्धमा कस्तो प्रभाव पर्छ भन्ने विषयलाई सिरिजले समेट्नेछ।
अंग्रेजी शब्द ‘डे वन्स’ ले सुरुदेखि नै साथ दिँदै आएका साथी, विश्वासिला सहयोगी वा कठिन समयमा साथ नछाड्ने व्यक्तिहरूलाई जनाउँछ। यही अवधारणामा आधारित सिरिजले फुटबलको चमकधमकसँगै मित्रता, विश्वास र सफलतापछाडिको संघर्षलाई पनि प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
सिरिजमा पूर्वफ्रान्सेली फुटबलर तथा आर्सनलका पूर्वस्ट्राइकर थिएरी हेनरी पनि जोडिएका छन्। उनले यसमा आफ्नै भूमिका निर्वाह गर्नेछन्। हेनरी रोनाल्डोसँगै यस परियोजनाका कार्यकारी निर्मातामध्ये एक हुन्। त्यस्तै, बेलायती र्यापर डेभ पनि कलाकारका रूपमा देखिनेछन्। फुटबल र मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वलाई एउटै परियोजनामा जोड्नु यस सिरिजको अर्को विशेषता हो।
सिरिजको पहिलो भाग म्याथ्यू भनले निर्देशन गरेका छन् भने ड्यान माजरले समग्र निर्माणको नेतृत्व गर्नेछन्। यसको मूल अवधारणा फुटबल एजेन्ट ड्यारेन डिनले तयार पारेका हुन्। डिन थिएरी हेनरीसँग पनि व्यावसायिक रूपमा जोडिएका व्यक्ति हुन्। यसरी फुटबल, फिल्म र टेलिभिजन क्षेत्रका अनुभवी व्यक्तिहरूको सहकार्यमा सिरिज तयार भइरहेको छ।
रोनाल्डोको मनोरञ्जन क्षेत्रमा प्रवेश ‘डे १एस’ मा मात्रै सीमित छैन। उनी म्याथ्यू भनसँग मिलेर ‘स्टन्टनट्स’ नामक कमेडी एक्सन फिल्ममा पनि काम गरिरहेका छन्। उक्त फिल्मको कथा दुई स्टन्ट कलाकारको वरिपरि घुम्छ। आफ्नो समुदायको व्यायामशाला जोगाउन उनीहरू एउटा ठुलो फिल्म निर्माणमा संलग्न हुन्छन्। तर, त्यसक्रममा विभिन्न समस्या र हास्यास्पद घटना उत्पन्न हुन्छन्। यस फिल्ममा क्रिस हेम्सवर्थ, म्याट डेमन र साम रकवेलजस्ता हलिउड कलाकार रहने बताइएको छ।
फुटबल करियरतर्फ फर्किँदा, रोनाल्डोले गत नोभेम्बर ५ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट २३ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रा अन्त्य गर्ने घोषणा गरेका थिए। सन् २००३ मा काजाकिस्तानविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका उनले पोर्चुगलका लागि २३४ खेल खेल्दै १४६ गोल गरेका छन्।
पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने दुवै कीर्तिमान रोनाल्डोको नाममा छन्। उनी लगातार ६ वटा विश्वकपमा सहभागी हुने र ती सबै संस्करणमा गोल गर्ने ऐतिहासिक उपलब्धि हासिल गर्ने खेलाडीसमेत हुन्।
उनको नेतृत्वमा पोर्चुगलले सन् २०१६ को युरोपेली च्याम्पियनसिप जितेको थियो। त्यसपछि सन् २०१९ र २०२५ मा युरोपेली फुटबल महासंघ (यूईएफए) को नेसन्स लिगको उपाधिसमेत हात पारेको थियो। यद्यपि, अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे पनि रोनाल्डोले क्लब फुटबल भने छाडेका छैनन्। उनी हाल साउदी अरेबियाको अल नासरबाट खेलिरहेका छन्। करियरमा एक हजार गोल पूरा गर्ने लक्ष्यसहित उनी अझै मैदानमा सक्रिय छन्।
फुटबलमा कीर्तिमान र सफलता हासिल गरेका रोनाल्डो अब मनोरञ्जन क्षेत्रमा पनि आफ्नो पहिचान विस्तार गर्ने प्रयासमा छन्। विश्वभर ठुलो संख्यामा समर्थक रहेका उनको लोकप्रियताले ‘डे १एस’ लाई अन्तर्राष्ट्रिय दर्शकमाझ चर्चित बनाउन सक्ने अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेलगत्तै नयाँ परियोजना सार्वजनिक गरेका रोनाल्डोले अब टेलिभिजन पर्दामा कस्तो प्रभाव छाड्छन् भन्ने चासो बढेको छ। एजेन्सीको सहयोगमा
प्रकाशित: २७ कार्तिक २०८३ १४:५८ शुक्रबार