२७ कात्तिक, चितवन । ‘रोनाल्डो’को मृत्यु भएपछि सौराहाको हात्ती प्रजनन केन्द्रलाई आफ्नो पकडमा लिन जंगली भाले हात्तीहरुका बीचमा शक्ति संर्घष बढ्दै गएको छ । गत ३ असोजमा बरण्डाभार क्षेत्रको बिसहजारी ताल नजिकै रहेको नेपाली सेनाको पोष्टमा लगेको विद्युतीय तार चपाउँदा ४५ वर्षका चर्चित भाले हात्ती रोनाल्डोको मृत्यु भएको थियो ।
रोनाल्डोको मृत्युपछि उसको ठाँउ कसले लिने भनेर प्रजनन केन्द्रमा शक्ति संर्घष चर्किएको छ । रोनाल्डोको मृत्यु भए लगत्तै गोविन्देले झन्डै दुई महिना केन्द्रलाई आफ्नो नियन्त्रणमा लिएको थियो । तर, अहिले गोविन्देको ठाँउमा अर्को भाले हात्ती सुवेदीगजले लिन थालेको हात्ती प्रजनन केन्द्रका प्रमुख मनपुरन चौधरीले बताए ।
‘रोनाल्डोको अगाडि कुनै पनि भाले हात्ती ढिम्किन पाउँदैन थे, उ बितेपछि कसले यसलाई पकडमा राख्ने भन्ने प्रतिस्पर्धा चर्किएको छ’ केन्द्र प्रमुख चौधरी भन्छन्, ‘तीन वटा भाले हात्ती भिडिरहेका छन्, अझै ध्रुबे त देखिएको छैन ।’
मनपुरनका अनुसार १ महिना अगाडि केहीदिन भीमगज नामको भाले हात्ती पनि प्रजनन केन्द्रमा आएको थियो । तर, भीमगजलाई सुवेदीगजले रिप्लेस गरेको छ । दुई वर्ष अगाडि जनकपुर पोष्टका गेमस्काउट हेम सुवेदीलाई आक्रमण गरेर घाइते बनाएपछि यो जंगली हात्तीको नाम सुवेदीगज राखिएको थियो । हराएको पोथी हात्ती खोज्न जाँदा एक्कासी भेटिएको जंगली भाले हात्तीले आक्रमण गर्दा सुवेदी गम्भीर घाइते बनेका थिए । त्यसपछि सो भाले हात्तीको नाम सुवेदीगज राखिएको हो ।
गोविन्दे हात्ती दुई महिना बस्दा २ वटा पोथी हात्तीमा प्रजनन गर्न सफल भएको मनपुरनले जानकारी दिए ।
‘रोनाल्डोको जस्तो प्रफमेन्स त छैन, तर पनि प्रयास गरिरहेको छ, दुई वटा हात्ती गर्भिणी भएको भन्ने हामीले बुझेका छौं’ मनपुरन भन्छन्, ‘अहिले आएको सुवेदीगजले प्रयास गरिरहेको तर सफल भएको छैन ।’
देश कै एक मात्रै हात्ती प्रजनन् केन्द्र सौराहा खोरसोरमा अहिले ९ वटा माउ हात्ती र ७ वटा छावा छन् । हालसम्म केन्द्रमा जन्मिएका ६९ भन्दा बढी छावा जन्मिएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको संरक्षण र रेखदेखका लागि हात्तीको प्रयोग गर्ने गरिन्छ । हात्ती प्रजनन केन्द्रमा रहेका पोथी हात्ती प्रजनन् जंगली भाले हात्तीबाट हुँदै आएको छ ।
जंगली हात्तीको सहबासबाट जन्मिने छावाहरूलाई तालिम दिएर निकुञ्जको सुरक्षाका लागि खटाउने गरिन्छ । यहाँ जन्मिएका हात्तीलाई देशका अन्य भागका निकुञ्ज तथा आरक्षहरूमा समेत पठाउने गरिएको छ ।
गत वर्ष कतारलाई उपहारस्वरुप यहाँ जन्मिएका हात्तीहरू पठाइएको थियो ।