Trending
Prev Story
Next Story

च्यासलदेखि स्वयम्भूसम्म : ओझेलमा परेको किरात राजाको मूर्ति

Onlinekhabar •
November 13, 2026 • 05:01 AM
1
1 reads 0 reactions

काठमाडौँ उपत्यकामा मध्यकालको सभ्यता भव्य मन्दिर, कलात्मक टुँडाल र लालदरबारहरूमा स्पष्ट देखिन्छ। यहाँ त्योभन्दा अघिका लिच्छविकालीन मन्दिरहरू (चाँगुनारायण, पशुपति आदि) पनि छन्। इतिहासअनुसार, लिच्छविभन्दा अघि यहाँ किरातको शासन थियो। तर, उनीहरूद्वारा तयार गरिएका कुनै शिलालेख, …

च्यासलदेखि स्वयम्भूसम्म : ओझेलमा परेको किरात राजाको मूर्ति

काठमाडौँ उपत्यकामा मध्यकालको सभ्यता भव्य मन्दिर, कलात्मक टुँडाल र लालदरबारहरूमा स्पष्ट देखिन्छ। यहाँ त्योभन्दा अघिका लिच्छविकालीन मन्दिरहरू (चाँगुनारायण, पशुपति आदि) पनि छन्। इतिहासअनुसार, लिच्छविभन्दा अघि यहाँ किरातको शासन थियो। तर, उनीहरूद्वारा तयार गरिएका कुनै शिलालेख, दरबार, मुद्रा आदि भेटिएका छैनन्। किरात राजाहरूको नाम वंशावलीमा मात्र सीमित छ। त्यसैले किरात शासनकाल स्पष्ट छैन।

तर, काठमाडौँ उपत्यकामा किरातको उपस्थितिको बलियो प्रमाण लिच्छविकालीन शिलालेखहरूमा लुकेको छ। ती शिलालेखहरूमा लिच्छविभन्दा अगाडि प्रचलनमा रहेका थुप्रै आदिम शब्दहरू यत्रतत्र भेटिन्छन्। यस्ता शब्दहरू धनवज्र बज्राचार्यलिखित २०३० सालमा प्रकाशित ‘लिच्छविकालका अभिलेख’ शीर्षक पुस्तकमा प्रशस्त छन्। ती शब्दहरू संस्कृत होइनन्। तिब्बती वा चिनियाँ पनि होइनन्।

जस्तो कि माखोपृं, कादुङ, फेरङ, बूगायूमी, लेम्बटी, कुर्पासी, तेस्तुङ्ग, शङ्गा, चुस्तुङ, पनप्फु, चुहुङपेङ्या, चुहुंगपेडानियुक्तस्य, केदुम्बा, नालङ्ग, तेङ्खु, गिच्छिजा, प्रोङनिप्रङ, कुथेर, लिङ्ग्वल, माप्चोक। यी शब्दहरू कालक्रमअनुसार संस्कृत हुनुपर्ने हो, तर संस्कृत पनि होइनन्।

उच्चारण सुन्दा त लिम्बू शब्द हुन् कि जस्तो लाग्छ, तर लिम्बू शब्द पनि होइनन्, अलि मिल्दैनन्। अन्य किराती भाषासँग पनि ठ्याक्कै मिल्दैनन् होला, किनभने किराती शब्द भनेर अहिलेसम्म दाबी गरिएको छैन। तामाङ, गुरुङ र मगरले पनि दाबी गरेका छैनन्।

तिनै अर्थ थाहा नभएका शब्दहरूबाट उपत्यकाका धेरै ठाउँ र नदीहरूको नाम रहन गएको छ। ती शब्दहरूको वास्तविक अर्थ के थियो भन्ने कुरा अझै पनि रहस्यकै गर्भमा छ। यी शब्दहरूमा त सिन्धु सभ्यताकै कथा दोहोरिएको छ।

सिन्धु सभ्यता करिब ३८०० वर्षअघि विलय भएको थियो। सिन्धु सभ्यतामा कुँदिएका अक्षरहरू अहिलेसम्म विश्वका भाषाविद्हरूले पढ्न सकेका छैनन्। यस्तै, किरात शब्दहरू जुन लिच्छविकालका शिलालेखमा छन्, तिनका अर्थ अझै थाहा हुन सकेको छैन।

यसरी हेर्दा, त्यो आदिम किरात युग आजको आधुनिक कोलाहल र मध्यकालीन दन्त्यकथाहरूको बाक्लो तहमुनि दबिएको छ। ती आदिकालका भाषाका प्रयोगकर्ताहरू अरू कोही नभएर किरात नै थिए भन्नेमा इतिहासविद्हरू एकमत छन्। कालान्तरमा, किरातको ऐतिहासिक उपस्थितिलाई हिन्दू मिथकको जलप लगाइयो। उनीहरूका नाइकेहरूलाई भयानक भैरवमा रूपान्तरित गरियो भने कतै विरूपाक्षजस्तो घृणित कथाभित्र लुकाइयो।

भैरवको यो पुरुषप्रधान सोचभन्दा अझ अगाडि, यहाँ एउटा गौरवशाली मातृसत्तात्मक युग जीवन्त थियो। उसबेला समाजको नेतृत्व गर्ने वीराङ्गना महिलाहरू नै समयको बहाबसँगै लोकचेतनामा ‘अजिमा’ (बज्यै) का रूपमा पुजिए।

पछि मल्लकालीन तान्त्रिक युगमा तिनै अजिमाहरूलाई पञ्चमातृका (ब्राह्मी, वैष्णवी, माहेश्वरी, कौमारी र इन्द्राणी वा ऐन्द्री) र अष्टमातृकाका रूपमा देवत्वकरण गरियो। अष्टमातृकामा वाराही, चामुण्डा र महालक्ष्मी थपिए। काठमाडौँ उपत्यकामा सबैभन्दा राम्रो पञ्चमातृका कुँदिएको कृति कीर्तिपुरस्थित बाघभैरवको मन्दिर परिसरमा छ।

नेपालको इतिहासमा किरात समुदाय नै ती प्रथम द्रष्टा हुन् जसले काठमाडौँ उपत्यकाको कुमारी माटोलाई आफ्नो पसिनाले सिँचेर सभ्यताको जग बसालेका थिए। तर, चौधौँ शताब्दीमा राजा जयस्थिति मल्लको शासनकालमा जब ‘गोपालराज वंशावली’ लेखियो, तब इतिहासलाई शासक अनुकूल तोडमरोड गरियो। उपत्यकामा किरातभन्दा अघि अर्कै काल्पनिक वंशका राजाहरू थिए भन्ने भ्रमपूर्ण कथाहरू बुनिए। किरातकालकै राजाहरू अस्पष्ट भएपछि त्यसअघिका राजवंश स्पष्ट हुने कुरै भएन।

किरातहरू पूर्वबाट आक्रमण गर्न आएका फिरन्ते थिए र लिच्छविहरूसँग हारेपछि पुनः पूर्वतिरै लखेटिए भन्ने एउटा कृत्रिम र अन्यायपूर्ण भाष्य जबर्जस्ती स्थापित गरियो, १४औँ शताब्दीमा। यसरी, हामीकहाँ वंशावलीलाई इतिहास मानियो।

काठमाडौँ उपत्यकामा कहाँकहाँ लिच्छवि र किरातबीच युद्ध भएको थियो भन्ने विवरण कथामा लेखिएको होला। तर, स्थलगत रूपमा आज पनि स्थानीय बासिन्दाले भन्ने गरेको कथाचाहिँ उपत्यकाको बागमती नदीको देब्रेतिर रहेको च्यासल क्षेत्र हो।

जहाँ लिच्छविहरूले ८०० जना किराती योद्धा मारेको कथा, च्यासलमा हरेक व्यक्तिले भन्दै आएका छन्। द्वन्द्वका क्रममा ती पराक्रमी आठ सय किराती योद्धाहरूले ज्यान गुमाएका थिए। उनीहरूको त्यो गौरवशाली महागाथा आज कुहिरोको एउटा धमिलो छाँयाजस्तो मात्र बनेको छ।

किरात योद्धाको त्यो कथा भुइँमुनि पुरिएको छ। भुइँमाथि रहेको इतिहास, प्रमाण पनि बेवास्तामा छ। त्यो प्रमाण भनेको किरातकालीन ढुङ्गाको किरात राजाको मूर्ति हो। किरात राजा झल्किने त्यो मूर्ति स्वयम्भू महाचैत्यको परिसरमा उपेक्षामा पर्दै मौन रूपमा उभिएको छ ।

यसको अर्थ काठमाडौँको त्यो वास्तविक प्रागैतिहासिक अध्याय शताब्दीऔँको धुलोमुनि पुरिएर रहेको छ, जमिनमाथि रहेको प्रमाण पनि उपेक्षित अवस्थामा छ। यस लेखमा त्यस्तै लुकेको इतिहास खोतल्ने जमर्को गरिएको छ।

ललितपुरस्थित च्यासल हिति (ढुङ्गेधारा) नजिकको चोकमा अलिकति उठाइएको फल्चा वा पाटी छ, जहाँ बिहान र दिउँसो दिन ढल्दै गएपछि वृद्धवृद्धाहरू बसिबियाँलो गर्न पुग्छन्। नेवारी भाषामा यो फल्चाको नाम च्यासः रहेछ, तर हिजोआज च्यासल लेखिन्छ। त्यो फल्चा लम्बाइ, चौडाइ ८/८ फिट जति होला। त्यसको बीचमा सेतो सङ्गमर्मरको शिवलिङ्ग गाडिएको छ।

नेपाल भाषामा च्या र सः को अर्थ क्रमशः आठ र सय हुँदो रहेछ। त्यहाँ पुग्दा जोकोहीले पनि लिच्छवि सेनाले ८ सय किरातीहरूको टाउको काटेर गाडेको ठाउँमाथि नै त्यो फल्चा बनाइएको हो भन्छन्।

काठमाडौँ उपत्यकामा कहिलेबाट लिच्छविकाल सुरु भयो भन्ने मतैक्यता छैन। त्यो करिब २ हजार वर्षअघि सुरु भयो होला भनिन्छ। तर, पहिलो लिच्छवि राजाको मूर्ति भने निकै पछिको फेला परेको छ।

सुन्दै आङ सिरिङ्ग हुन्छ, स्थानीय बासिन्दाका अनुसार, लिच्छवि सेनाले युद्धको क्रममा अहिलेको च्यासल आसपासका क्षेत्रमा ८०० किराती सेनालाई काटेर ती किरातीको टाउको चाहिँ त्यो फल्चा रहेको ठाउँमा गाडेका थिए। उनीहरूले पुरुषजन्य बालक, युवा, अधबैँसे र वृद्ध सबैको हत्या गरेका थिए।

कालान्तरमा, त्यही फल्चा बनाइयो। यही कथाले डोर्‍याएर विगत दुई दशकयता म कैयौँपटक च्यासल पुगेको छु। जतिपटक पुग्छु, त्यहाँ बसेका वृद्धवृद्धाहरूलाई त्यो फल्चाबारे सोध्छु। त्यहाँ बस्ने पात्रहरू फेरिएका हुन्छन्। तर, हरेकपटक त्यहाँ बसिरहेका वृद्धवृद्धाहरू त्यही कथा सुनाउँछन्।

च्यासलको इतिहास सोधनी गर्दा, भिन्नभिन्न व्यक्तिले आफ्नै शैलीमा बताउँछन्, च्यासलको त्यही इतिहास। यसरी च्यासल केवल एउटा भूगोलका रूपमा मात्र देखिँदैन, बरु उपत्यकाको आदिम इतिहास सकिनसकी बोकिरहेको अनुभूति हुन्छ।

यसरी, यहाँको गल्लीगल्लीमा प्राचीन किरात इतिहास जोडिएको झल्को त आउँछ, तर त्यो लिपिबद्ध भएको पाइँदैन।

पाटन दरबार क्षेत्रबाट करिब ५०० मिटर उत्तरमा अवस्थित ललितपुर नगरपालिकाको वडा नम्बर ९ मा रहेको एक ऐतिहासिक र सांस्कृतिक नेवार बस्ती हो, च्यासल। यस बस्तीमा मुख्यगरी व्यञ्जनकार, अवाले, महर्जन र श्रेष्ठहरूको बसोबास छ भने शाक्य बस्ती अलि टाढा छ। च्यासलको फल्चासँगै एउटा डबली पनि छ।

काठमाडौँ उपत्यकाबाहिर अक्सर नसुनिने ‘डबली’ शब्दको अर्थ शब्दकोषहरूमा उहिले नाच देखाउन बनाइएको जमिनभन्दा केही अग्लो, फराकिलो चौतारो वा खुला रङ्गमञ्च भन्ने उल्लेख भएको पढ्न पाइन्छ। प्राचीन कालमा डबलीहरू केवल नाचगानका लागि मात्र नभएर शाही घोषणाहरू गर्न, सैनिकहरूलाई भेला गराउन र सैन्य अभ्यासका लागि समेत प्रयोग गरिन्थ्यो।

यस फल्चा र डबलीको उत्तरतर्फ च्यासः हिति रहेको छ। काठमाडौँ उपत्यकामा ढुङ्गेधारालाई ‘हिति’ भनिन्छ र प्रख्यात नारायणहिटीको नाम पनि यही हिति शब्द जोडिएर बनेको हो। पहिले त्यहाँ विष्णु (नारायण) को मूर्तिनजिकै ढुङ्गेधारा रहेकाले त्यस ठाउँलाई नारायणहिति भनियो, जुन कालान्तरमा नारायणहिटी हुन गयो।

च्यासल हितिमा सरस्वतीको एउटा मूर्ति राखिएको छ। स्थानीय मङ्गलमान व्यञ्जनकारका अनुसार उक्त मूर्ति पहिले नारायणहिटी दरबारको कुनै कुनामा थन्किएर रहेको अवस्थामा थियो, जसलाई पछि नारायणहिटीबाट ल्याएर च्यासल हितिमा प्रतिस्थापन गरिएको हो।

यो च्यासल हिति कति पुरानो हो भनी चासो राख्दा त्यहाँ ३ वटा शिलापत्र रहेको जानकारी पाइन्छ। एउटा शिलापत्र च्यासः हिति प्रवेशद्वारको देब्रेपट्टि राखिएको छ। यसको निकै हिस्सा मेटिएको छ। यो राजा शिवदेव प्रथम (र महासामन्त अंशुवर्मा) को समयको हो, जुन संवत् ५१५ (ईस्वी संवत् ५९४) मा स्थापना गरिएको देखिन्छ।

यो जानकारी धनवज्र वज्राचार्यलिखित २०५३ सालमा प्रकाशित (दोस्रो संस्करण) ‘लिच्छविकालका अभिलेख’ नामक पुस्तकको पृष्ठ २२९-३० मा छ (हेर्नुहोस् तस्वीर ७)।

यस्तै, दोस्रो शिलापत्र वज्राचार्यकै पुस्तकको पृष्ठ ५४१–४२ मा छ, जुन जयदेव राजाका पालामा लेखिएको सङ्केत पाइन्छ। यसमा संवत् १३७ लेखिएको छ। तेस्रो शिलालेख पनि सोही पुस्तकको पृष्ठ ४९४–९५ मा छ। यो लिच्छविकालीन राजा नरेन्द्रदेवको पालामा लेखिएको शिलापत्र हो, जसको अन्त्यमा ‘संवत् ६५’ उल्लेख गरिएको छ।

लिच्छविकालमा पछिल्ला राजाहरूले आफ्नै स्थानीय संवत् चलाउने गर्दथे। राजा अंशुवर्माको समयदेखि काठमाडौँ उपत्यकामा सुरु भएको यस नयाँ संवत्‌लाई इतिहासकारहरू लिच्छवि संवत् वा अंशुवर्मा संवत् भन्छन्। ईस्वी संवत् ५७६ मा सुरु भएको यस संवत्‌का आधारमा तेस्रो शिलापत्र ईस्वी संवत् ६४१–४२ (विक्रम संवत् ६९८–९९) ताका लेखिएको देखिन्छ।

यस शिलापत्रमा तत्कालीन लिच्छवि सेना वा सरकारी अधिकारीहरूलाई च्यासल क्षेत्रभित्र पसेर स्थानीय जनतालाई दुःख दिन नपाउने गरी कडा रोक लगाइएको विवरण छ। त्यसबेला राज्यका सिपाही वा अधिकारीहरूलाई ‘चाटभट’ भनिन्थ्यो। शिलापत्रमा ‘चाटभट’ लाई च्यासल क्षेत्रमा प्रवेश निषेध गरिएको कुरा स्पष्ट लेखिएको छ। यसले आजभन्दा करिब १३८५ वर्षअघिसम्म पनि च्यासल क्षेत्रमा लिच्छवि शासकहरूले सीधै हस्तक्षेप गर्न पाउँदैनथे र यो क्षेत्र स्वायत्त थियो भन्ने प्रमाण देखाउँछ।

काठमाडौँ उपत्यकामा प्रथम प्रमाणित राजा जयवर्मा हुन्, जसको पूर्णकदको सालिक २०४९ सालमा काठमाडौँको मालीगाउँमा फेला परेको थियो। स्थानीय रामभक्त खड्काको घर बनाउन जग खन्दा ढुङ्गाको थुप्रो भेटिएको थियो, जुन वास्तवमा चार टुक्रा भएको मानिसको मूर्ति पो थियो। यसलाई स्वदेशी तथा विदेशी पुरातत्त्वविद्हरूले गहन अध्ययन गरे।

मूर्तिको खुट्टामुनि वा पैताला अड्याउने भागलाई पादपीठ (अङ्ग्रेजीमा पेडस्टल) भनिन्छ। मालीगाउँमा भेटिएको मूर्तिको पादपीठमा राजा जयवर्माको नाम र शक संवत् १०७ लेखिएको थियो। शक संवत्मा ७८ जोड्दा ईस्वी संवत् हुने भएकाले यो मूर्ति सन् १८५ मा बनाइएको प्रमाणित हुन्छ।

इतिहासकारहरूले जयवर्मालाई लिच्छवि वंशको प्रथम राजा मानेका छन् र उनीभन्दा अघिका लिच्छवि राजाहरूको कुनै पुरातात्त्विक प्रमाण फेला परेको छैन। जयवर्माभन्दा अघिका कुनै पनि राजाका सालिक फेला परेका छैनन्।

काठमाडौँ उपत्यकामा लिच्छविकाल सुरु हुँदा च्यासल क्षेत्रको नाम अर्कै थियो होला। त्यहाँ पक्कै पनि गहिरा खोँचहरू, प्राकृतिक खाडलहरू र साना-ठूला पोखरीहरू थिए होलान्। वास्तवमा, आज हामीले देख्ने च्यासल र यसको आसपासको भूगोल त्यतिबेला पूर्ण रूपमा प्राकृतिक जलाशय र भिराला खोँचका रूपमा रहेको हुनुपर्छ।

किनभने च्यासल हिति निकै गहिरो ठाउँमा हुनु र त्यहाँ कलकल पानी आउनुले यो पहिले सिमसार क्षेत्र थियो भन्ने सङ्केत गर्छ। त्यस्तै, यसको दक्षिणतर्फ लगभग ५० मिटरको दूरीमा अर्को ढुङ्गे हिति पनि उत्तिकै गहिरो ठाउँमा अवस्थित छ र दुवै हितिमा पानी मनग्य आउँछ। काठमाडौँ उपत्यकाका प्राचीन इन्जिनियरहरूले तिनै प्राकृतिक खोँचहरूलाई थप खनेर, भित्ताहरूमा इँटा वा ढुङ्गाको गारो लगाई पानी निकाल्ने ठाउँ बनाए, जसलाई आज हामी ‘हिति’ वा ढुङ्गेधारा भन्छौँ।

च्यासल हितिबारे सन् २०२२ मा पद्मसुन्दर जोशीद्वारा लिखित ‘हिति प्रणाली’ शीर्षकको पुस्तकको पृष्ठ २४४–२४५ मा विवरण समावेश छ। यसअनुसार, यो हितिको पानीको स्रोत कुम्भेश्वर मन्दिरबाट पूर्व र यो हितिबाट करिब २०० मिटर पश्चिममा भूमिगत रूपमा निर्माण गरिएको अनुमान छ। च्यासल आसपासका क्षेत्रमा अझै पनि ऐतिहासिक पोखरीका अवशेषहरू पाइने हुनाले प्राचीन कालमा यो क्षेत्र जलसम्पदाले घेरिएको थियो भन्ने बुझिन्छ।

तर, च्यासल टोलका ६७ वर्षीय प्रेममान व्यञ्जनकारको बुझाइ भने फरक छ। उनका अनुसार च्यासलबाट करिब साढे दुई किलोमिटर दक्षिणमा रहेको लगनखेलका दुईवटा पोखरीहरू नै च्यासल हितिका पानीका मुख्य स्रोत हुन्।

किनभने लगनखेलका ती पोखरीको पानी सुक्दा च्यासलका हितिमा पनि पानी सुक्ने गर्दछ। यद्यपि, यो भनाइमा पूर्ण सत्यता नभएझैँ देखिन्छ, किनकि च्यासल हितिको धारो उत्तर दिशातिरबाट बगेर आउँछ जबकि लगनखेल दक्षिणतर्फ पर्दछ।

च्यासल हितिको उत्तरतर्फ तीनमुखे गणेशको मन्दिर छ, जसलाई नेपालमा विरलै पाइने कलाकृति र धार्मिक स्वरूपमध्ये एक मानिन्छ। दसैँको नवमीका दिन त्यहाँ गुठीको बोका काट्ने चलन छ। गए दसैँको रामनवमीमा त्यहाँ पुग्दा बढेमानका बोकाहरू काटिँदै थिए।

च्यासलको प्रवेशद्वार वा मुख्य केन्द्रमा अवस्थित हुनाले यस मन्दिरले यस क्षेत्रको सुरक्षा गर्ने र विघ्नबाधा हटाउने विश्वासका साथ यी तीनमुखे गणेशलाई च्यासल बस्तीको रक्षक देवता वा क्षेत्रपालका रूपमा पुजिने रहेछ।

किरातहरू प्रकृतिपूजक हुन्, तर हिन्दू धर्मको प्रभाव परेपछि उनीहरूले भिन्नभिन्न रूपमा शिवको पूजा गर्न थाले। च्यासलमा ब्रह्मा, विष्णु र महेशको प्रतीकका रूपमा तीनमुखे गणेशको मूर्ति रहनुले त्यहाँका प्राचीन किरात समुदायलाई भिन्नै ढङ्गबाट हिन्दू धर्म अवलम्बन गर्न लगाएको बुझिन्छ।

माथि चर्चा गरिएझैँ च्यासल फल्चामा शिवलिङ्ग गाडिएको छ। च्यासलमा पहिले किरातहरू थिए भने किरातपछि हिन्दू धर्ममा आधारित लिच्छवि शासन स्थापित भयो। लिच्छविहरूले च्यासलमा हिन्दू प्रभाव जमाउन पहिले तीनमुखे गणेश र त्यसपछि शिवलिङ्ग राख्न लगाएको हुनुपर्छ। किरातहरूले शिवलाई मान्छन् भन्ने बुझेर नै त्यहाँका व्यञ्जनकारहरूलाई शिवलिङ्ग पूजा गर्न लगाइएको देखिन्छ।

व्यञ्जनकार समुदायले किरात समुदायले मान्ने माघे सङ्क्रान्ति, उधौली र उभौली जस्ता केही चाडपर्वहरू पनि मनाउने गर्दछन्, तर तिनलाई मनाउने उनीहरूको मौलिक स्वरूप र शैली भने पूर्वी नेपालका किरातभन्दा फरक छ। यसैगरी, यस समुदायमा आफ्नो वंश र पुर्खाहरूलाई सम्झिएर गरिने कुलपूजाको विशेष महत्त्व छ।

वास्तवमा यो कुलपूजा गर्ने परम्परा प्राचीन आदिम प्रकृतिपूजक संस्कृति र खस सभ्यताकै ऐतिहासिक प्रभावको एउटा बलियो कडी हो। यसरी च्यासलको गल्लीगल्लीमा केवल इतिहास मात्र दबिएको छैन, बरु यहाँका रैथाने व्यञ्जनकारहरूको संस्कृति र परम्परामा प्राचीन सभ्यताका यस्ता जीवन्त अवशेषहरू अझैसम्म बचिरहेका छन्।

यस ऐतिहासिक बस्तीको आसपासमा व्यञ्जनकार समुदायको सघन बसोबास छ। सांस्कृतिक रूपमा हाल नेवार समुदायभित्र गणना हुने भए तापनि व्यञ्जनकारहरू गर्वका साथ आफूलाई प्राचीन किरात वंशका सन्तान मान्छन्।

विगतमा उनीहरूलाई ‘टेपे’ समेत भनिन्थ्यो, जसको पछाडि आफ्नै मौलिक र मार्मिक सामाजिक-सांस्कृतिक कहावत लुकेको छ। वास्तवमा च्यासलको इतिहास केवल सत्ताको विजयगाथा मात्र होइन; यो त राज्यशक्तिको क्रूरता र एउटा आदिम वंशले आत्मरक्षाका लागि गरेको सङ्घर्षको कथा पनि हो। स्थानीय रैथाने व्यञ्जनकार समुदायको ऐतिहासिक पृष्ठभूमि यसैको एउटा बलियो साक्षी हो।

हुन त किरात राज्यसत्ताको दरबार, सिक्का वा हतियार अहिलेसम्म प्राप्त भएको छैन र यो इतिहास धेरै हदसम्म किंवदन्तीमा मात्र सीमित छ। तर किंवदन्तीअनुसार, किरातहरूको सत्ता ढलेपछि विजयी सेनाले पराजित किरातहरूमाथि चलाएको दमन चक्रको भयानक रूप च्यासलका गल्लीहरूमा आज पनि लोकभाष्यका रूपमा सुन्न पाइन्छ।

स्थानीय व्यक्तित्व मङ्गल व्यञ्जनकारका अनुसार, तत्कालीन समयमा लिच्छवि सेनाले किरातहरूलाई सखाप पार्ने उद्देश्यले ‘खोजी–खोजी मार्ने’ अभियान चलाएका थिए। च्यासल र यसको आसपासका घर–घरमा पुगेर महिलाबाहेक वृद्धदेखि बालक (दूध खाने बच्चा) सम्म कसैलाई बाँकी नराखी काट्ने क्रूर सैन्य अभियान तीव्र पारेका थिए।

किरात वंश नै सखाप पार्ने त्यो आततायी समयमा, एक आमाले आफ्ना अबोध किरात बालकको ज्यान जोगाउन एउटा चलाखीपूर्ण उपाय निकालिन्। उनले ती बालकलाई तत्कालीन समयमा धान भण्डारण गर्न प्रयोग गरिने माटोको ठूलो भाँडो, जसलाई ‘तेपा’ भनिन्छ, त्यसभित्र पसालेर लुकाइन्। सेनाको आँखा त्यो ‘तेपा’ मा परेन र ती बालकको ज्यान जोगियो। बिस्तारै इतिहास बदलियो र शान्ति छायो।

ओम व्यञ्जनकारका अनुसार, तिनै ‘तेपा’ भित्र लुकेर ज्यान जोगाएका एकल बालक हुर्किए र पछि तिनैबाट वंश वृद्धि हुँदै गयो। माटोको ‘तेपा’ भित्र लुकेर बचेको वंश भएकाले कालान्तरमा अपभ्रंश हुँदै यस समुदायलाई समाजले ‘टेपे’ भन्न थाल्यो। यो केवल एउटा उपनाम मात्र थिएन, बरु उपत्यकाको एउटा ऐतिहासिक नरसंहारबाट जोगिएको किरात वंशको जीवित पहिचान थियो।

पछि मल्ल वंशको शासनकालमा तिनै टेपेहरूले दरबारमा हुने विशेष उत्सव, चाडपर्व र भोजभतेरहरूमा शाही भान्सा सम्हाल्ने र चौरासी व्यञ्जन तयार पार्ने विशेष जिम्मेवारी पाउन थाले। दरबारका लागि स्वादिला र विविध प्रकारका पकवानहरू बनाउन उनीहरू निकै पोख्त भए। यही विशिष्ट सीप र पेसागत पहिचानका कारण कालान्तरमा उनीहरूलाई ‘व्यञ्जनकार’ भन्न थालियो।

ललितपुरको पाटन दरबार क्षेत्रबाट उत्तरतर्फ, प्रसिद्ध बङ्गलामुखी मन्दिर (कुम्भेश्वर परिसर) को निकै नजिकै हिरण्यवर्ण महाविहार अवस्थित छ, जसलाई ‘गोल्डेन टेम्पल’ भनिन्छ। यस महाविहारको मुख्य संरचनाको छाना, भित्ता र बुट्टाहरूमा सुनको जलप लगाइएको तामाको पाता प्रयोग गरिएको छ। घाम लाग्दा यो मन्दिर पूर्ण रूपमा सुनजस्तै चम्किने हुनाले विदेशी पर्यटक र सर्वसाधारणले यसलाई सहजताका लागि ‘गोल्डेन टेम्पल’ भनेर चिन्दछन्।

महाविहारको अर्थ भिक्षुहरू बस्ने, अध्ययन गर्ने र साधना गर्ने ठूलो ठाउँ हो। पश्चिमी देशहरूमा जुनसुकै धर्मको भए पनि भगवान्‌को मूर्ति राखिएको र पूजाआजा गरिने पवित्र धार्मिक स्थललाई सामान्य अर्थमा ‘टेम्पल’ भनिन्छ। गोल्डेन टेम्पलमा मुख्य देवताका रूपमा भगवान् शाक्यमुनि बुद्धको धातुको सुन्दर मूर्ति छ, जहाँ दैनिक पूजाआजा हुन्छ। यसकारण त्यहाँ शाक्यमुनि बुद्धको प्रतिमा भए पनि त्यसलाई टेम्पल भनिएको हो।

यस मन्दिरको वर्तमान भौतिक स्वरूप ११औँ शताब्दीतिर निर्माण गरिएको मानिन्छ। तर, यो मन्दिरसँग जोडिएको एउटा कथाअनुसार यो स्थल सम्भवतः काठमाडौँ उपत्यकाको बौद्ध परम्परामा पूजापाठ गरिने सबैभन्दा प्राचीन स्थलहरूमध्ये एक हो।

यसको अर्थ, मन्दिरको वर्तमान स्वरूप बन्नुभन्दा १२/१३ सय वर्षअघिदेखि नै त्यहाँ बौद्ध परम्पराअनुसार पूजा गर्ने प्रचलन सुरु भइसकेको थियो, किनकि काठमाडौँ उपत्यकामा बौद्ध धर्मको औपचारिक प्रवेश र प्रचारप्रसार इसापूर्व तेस्रो शताब्दीदेखि इसाको पाँचौँ शताब्दीको बीचमा भएको मानिन्छ। यद्यपि, यस मन्दिरसँग जोडिएको ऐतिहासिक कथा भने यो मन्दिर निर्माण हुनुभन्दा धेरै अघि किरातकालको हो।

यो ऐतिहासिक कथा काठमाडौँ उपत्यकामा लिच्छविहरूको प्रवेश नै नभएको र उपत्यकामा किरातहरूको सामाजिक शासन रहेको प्रागैतिहासिक कालखण्डको हो, जब उपत्यकामा बौद्ध धर्मको प्रारम्भिक विस्तार हुँदै थियो। त्यस समयमा उक्त पवित्र स्थानमा एक बौद्ध पुजारी नियमित रूपमा बौद्ध देवताको पूजाआजा गर्न जाने गर्दथे।

तर त्यस कालखण्डमा काठमाडौँ उपत्यकामा शासन गरिरहेको किरातले बौद्ध परम्परा र पूजाआजामाथि बन्देज लगाएको थियो होला। किरातको कडा पहरा र अवरोधका कारण बौद्ध धर्मावलम्बीहरूलाई दैनिक अनुष्ठान गर्न निकै कठिन भइरहेको थियो। यो अहिलेको च्यासल क्षेत्रबाट नजिकै थियो। हिजोआज त्यहाँ पूजाआजा गर्ने शाक्य तथा बज्राचार्यहरू हुन्। च्यासलनजिक शाक्य र बज्राचार्यको बसोबास अझैसम्म छैन।

यस्तै कठिनाइका बीच, एक दिन ती पुजारीले आफ्ना १२ वर्षका साना छोरालाई अह्राएर पूजा गर्न पठाए। ती बालकले बुबाले सिकाएझैँ सबै विधिपूर्वक पूजा सम्पन्न गरे। जब उनी घर फर्के, उनले आफ्ना बुबालाई पूजाको क्रममा घटेको अलौकिक घटना सुनाउँदै मन्दिरमा भगवान् आफैँले पूजा गर्न मद्दत गरेको र आफूसँग कुराकानी पनि गरेको बताए। यो सुनेर पुजारी अचम्ममा परे। उनले छोरालाई अर्को दिन पूजा गर्दा किरात सेनाको यो अवरोधबाट मुक्ति पाउने र उनीहरूलाई कसरी सजाय दिने भनेर भगवान्‌सँग सोध्न अह्राए।

अर्को बिहान ती बालक पुनः पूजा गर्न गए र कुराकानीका क्रममा भगवान्‌सँग किरात सेनाको अवरोध हटाउने उपाय मागे। भगवान्‌ले बालकलाई भोलि बुबालाई नै पूजा गर्न पठाउन र किरात सेनाले लखेट्दा पूर्व दिशामा रहेको मौरीको घारतर्फ दौडिन सुझाए। भोलिपल्ट पुजारी पूजा गर्न आए। किरातले उनलाई लखेट्न थाले।

पुजारी दौडिँदै मौरीको घार भएको ठाउँमा पुगे र घारलाई ढुङ्गाले हाने। ढुङ्गा लाग्नासाथ मौरीको बथानले किरातलाई टोक्न थाल्यो। मौरीको टोकाइबाट बच्न किरात त्यहाँबाट भागाभाग गरे र त्यसपछि कहिल्यै त्यस पवित्र स्थानमा अवरोध पुर्‍याउन फर्केर आएनन्, किरात। त्यसपछि त्यहाँ बौद्ध परम्पराअनुसार पूजाआजा चल्दै आयो।

यही ऐतिहासिक घटना र बालकको पवित्रताको सम्झनामा, पछि मन्दिर निर्माण भएपछि पनि आजसम्म गोल्डेन टेम्पलमा एउटा अनौठो परम्परा जीवितै राखिएको छ। यहाँका मुख्य पुजारी (जसलाई स्थानीय भाषामा बाफाचा भनिन्छ) सधैँ १२ वर्षमुनिका शाक्य बालक नै हुने गर्दछन्। ती बालकले मात्र १ महिनासम्म मुख्य पुजारीका रूपमा मन्दिरभित्रै बसेर कठोर नियममा रही सेवा गर्दछन् र त्यसपछि अर्को बालकलाई पालो हस्तान्तरण गरिन्छ।

ती बालक पुजारीलाई सहयोग गर्न उनीभन्दा उमेरले धेरै जेठा सहायक पुजारीहरू खटिएका हुन्छन्। यसरी मन्दिर बन्नुभन्दा धेरै पुरानो, लिच्छविकालभन्दा अघिको किरातकालीन यो द्वन्द्व र ऐतिहासिक घटना आज पनि बङ्गलामुखी मन्दिरको छेवैमा रहेको यस ऐतिहासिक स्वर्ण विहारको जीवन्त परम्पराका रूपमा जोडिएर रहेको छ। यसले काठमाडौँ उपत्यकामा बौद्ध धर्म सुरु हुँदाबखत किरात थिए भन्ने सङ्केत गर्छ।

यो पङ्क्तिकारद्वारा लिखित अनलाइनखबरको १३ मङ्सिर २०८२ को संस्करणमा ‘काठमाडौँ कथा: गोपाल–महिषपाल मिथकीय, किरातको शासन अस्पष्ट’ शीर्षकको एउटा लेख प्रकाशित छ। उक्त लेखमा ‘उपलब्ध प्रमाणहरूले काठमाडौँ उपत्यकामा किरातलाई सांस्कृतिक–समुदायका रूपमा मात्र पहिचान वा स्वीकार गरेको छ र किरातलाई राजकीय वंशका रूपमा पुष्टि गर्ने अहिलेसम्म कुनै पुरातात्त्विक प्रमाण फेला परेको छैन’ भनी लेखेँ।

त्यो लेख तयार गर्दा विभिन्न वंशावलीहरूमा काठमाडौँ उपत्यकामा शासन गर्ने किरात राजाहरूका बारेमा उल्लेख भएको कुरा थाहा नपाएको भन्ने होइन। तर, वंशावलीमा लेखिएका किरात राजाहरूको पुरातात्त्विक प्रमाण भने अहिलेसम्म फेला नपरेकाले हो।

धनवज्र वज्राचार्यद्वारा लिखित र २०५३ आषाढमा पुनः प्रकाशित ‘लिच्छविकालका अभिलेख’ शीर्षकको पुस्तकमा काठमाडौँ उपत्यकामा भेटिएका सयौँ शिलालेखहरू सङ्कलित छन्, जसमा लिच्छविकालका राजाहरूका नामहरू उल्लेख छन्।

तीमध्ये हनुमानढोकाको एक अभिलेखमा मात्र ‘किरात’ शब्द समावेश भएको पाइन्छ। यसबाहेक अन्य शिलाहरूमा किरात भाषासँग सम्बन्धित जस्ता देखिने अनेकौँ शब्दहरू त भेटिन्छन्, तर किरात दरबार वा किरात राजाकै नाम भने समावेश छैन।

धनवज्र वज्राचार्यको कृति र अहिलेसम्म प्राप्त शिलालेख तथा पुरातात्त्विक सामग्रीहरूमा किरात राजाका नाम उल्लेख नभएकै कारण मैले अनलाइनखबरमा काठमाडौँ उपत्यकामा किरातले शासन गरेको कुरा अस्पष्ट रहेको लेखेको थिएँ।

तर, च्यासलको किंवदन्तीले यहाँ किरात राज्य थियो भन्ने बलियो सङ्केत गर्छ। यस्तै, च्यासलभन्दा करिब ५०० मिटर दक्षिण-पश्चिममा रहेको पाटन दरबारको पश्चिमपट्टि एउटा ढिस्को छ, जसलाई ‘पटुका ढिस्को’ भनेर चिनिन्छ। त्यो ढिस्कोबाट गोल्डेन टेम्पल नजिकै छ। वंशावलीहरूका अनुसार पटुका नाम गरेका एक किरात राजा थिए।

ड्यानियल राइटले उन्नाइसौँ शताब्दीमा नेपालको इतिहास, संस्कृति र समाजको अध्ययन गरेका थिए। उनको ‘हिस्ट्री अफ नेपाल’ शीर्षकको पुस्तक सन् १८७७ मा प्रकाशित भएको थियो, जुन नेपालको ऐतिहासिक स्रोतलाई अङ्ग्रेजी भाषामा प्रस्तुत गर्ने प्रारम्भिक महत्त्वपूर्ण कृतिहरूमध्ये एक मानिन्छ।

यस पुस्तकमा किरात वंशका २८औँ राजाको नाम पटुका रहेको उल्लेख छ। पटुकाको दरबार पहिले गोकर्णमा थियो, तर पश्चिमबाट आएका सोमवंशी राजपूतहरूको आक्रमणपछि उनले गोकर्णको दरबार छाडेर शङ्खमूलनजिकै नयाँ दरबार निर्माण गरेका थिए भन्ने लेखिएको छ।

पटुकापछि उनका छोरा गस्ती राजा बने, तर सोमवंशीहरूको निरन्तर दबाबका कारण गस्तीले समेत त्यो नयाँ दरबार छाडेर भाग्नुपरेको कुरा पनि ड्यानियल राइटले पुस्तकमा उल्लेख गरेका छन्।

यहाँ ड्यानियल राइटको यो वृत्तान्त भौगोलिक दृष्टिले अलि अमिल्दो देखिन्छ। पश्चिमबाट आएका सोमवंशीहरूबाट प्रताडित भएर गोकर्णबाट किन शङ्खमूलमा दरबार बनाइयो होला ? युद्ध लड्न वा दरबार जोगाउन त शङ्खमूलभन्दा गोकर्ण नै भौगोलिक रूपमा बढी सुरक्षित र सजिलो हुन्थ्यो होला !

पाटन दरबारको पश्चिमपट्टिको एउटा चोकलाई ‘पटुका लाक्षी’ भनिन्छ र यही पटुका लाक्षीनेर करिब ५/६ तल्ला घर जति अग्लो एउटा ढिस्को रहेको छ, जसलाई पटुका ढिस्को भनिन्छ। यस ढिस्कोमा राजा पटुकाको सैनिक किल्ला वा दरबार थियो भन्ने कहावत प्रचलित छ। यद्यपि, यहाँबाट कुनै पुरातात्त्विक सामग्रीहरू पाइएको आधिकारिक जानकारी भने अहिलेसम्म प्रकाशित भएको पाइँदैन।

काठमाडौँ उपत्यकाको इतिहास लेखनमा लिच्छविकालीन अभिलेखहरूले किरात राजाहरूको नाम स्पष्ट रूपमा नसमेटे पनि यहाँका केही प्राचीन मूर्तिहरूको शारीरिक बनावट र कला–शैलीले पूर्व-लिच्छवि वा किरातकालीन सभ्यताको परोक्ष गवाही दिइरहेका छन्।

यसको एउटा ज्वलन्त र उपेक्षित उदाहरण स्वयम्भू महाचैत्य परिसरको एक चेप्टो खोपेभित्र गुमनाम अवस्थामा रहेको यो विशिष्ट प्रस्तर मूर्ति हो। यस मूर्तिको बनावट कुनै सामान्य देवता वा भैरवको भन्दा निकै फरक छ।

मूर्तिको टाउकोमा परम्परागत मुकुट वा पगडी जस्तो फराकिलो शिरोभूषण सजाइएको छ र कपाललाई गोलाकार रूपमा माथि बाँधिएको देखिन्छ। नेपालका प्राचीन मूर्तिहरूमा यस्तो शैली विरलै देख्न पाइन्छ।

मूर्तिको दायाँ हात माथि उठाइएको छ, जसको हत्केलामा चक्र वा ढाल जस्तो देखिने एक गोलाकार वस्तु रहेको छ। यसको दुवै काँधपछाडि तिर वा बाण भरिएका दुईवटा काँड राख्ने भाँडो स्पष्ट देखिन्छन्। गलामा माला लगाएको हुनाले यो मूर्ति कुनै साधारण योद्धाको नभई राजाको हो भन्ने सङ्केत मिल्छ।

मूर्तिको पहिरन पनि अचम्मको छ, जसमा पूरै शरीर ढाकिएको छैन। मालीगाउँमा भेटिएको जयवर्माको मूर्तिमा झैँ यसमा सिँगारपटार र आभूषणहरू नभएकाले यो मूर्ति जयवर्माको भन्दा ५/७ सय वर्ष अघिको हुनुपर्छ।

सामान्यतः हिजोआज किरातकालीन योद्धा वा राजा बुझाउन धनुषबाण बोकेको मूर्ति वा चित्र बनाउने प्रचलन छ र यो मूर्ति हेर्दा ठ्याक्कै त्यस्तै देखिन्छ, तर योद्धा नभई राजाको जस्तो भेषभूषामा।

यस मूर्तिको दाहिनेपट्टि एउटा सानो आकारको महिलाको मूर्ति पनि देखिन्छ। ती महिला कुनै सुसारे जस्तो नभएर विभिन्न आभूषणहरू पहिरिएको रूपमा देखाइएकी छन्, जसले उनी राजाको नजिक उभिएकी रानी हुन् कि भन्ने भान पार्छ।

राजा भने बाण बोकेर आसन ग्रहण गरी बसेको जस्तो देखाइएको छ, जसमा दाहिने खुट्टाको पिँडुलासम्म र देब्रे खुट्टाको आधा तिघ्रा मात्र देखिन्छ। यो मूर्ति पहिले कतै अन्यत्र रहेको र यहाँ ल्याउँदा यसको तल्लो भाग चुँडिएको हुनुपर्छ।

यस मूर्तिको शारीरिक बनोट र कलात्मक शैलीलाई नियाल्दा यसमा आर्य वा लिच्छविकालीन कलाको जस्तो स्पष्ट आभूषण र शास्त्रीय मापदण्ड देखिँदैन। बरु यसमा मङ्गोलियन शारीरिक सुगठन, थेप्चो नाक, चौडा गाला र एउटा हात माथि उठाएर कुनै गहन शक्ति वा वस्तु समातेको जस्तो आदिम प्रस्तर कलाको जीवन्त छाप स्पष्ट रूपमा झल्कन्छ।

स्वयम्भूमा भेटिएको यो मूर्ति स्थापित प्राचीन प्रस्तर कला, पौराणिक आख्यान वा स्थापित मूर्तिशिल्पको मापदण्डभन्दा पनि धेरै पुरानो र आदिम देखिन्छ। काठमाडौँ उपत्यका बौद्ध र हिन्दू दर्शनको औपचारिक प्रभावमा पर्नु र कलाले एउटा निश्चित रूप पाउनुभन्दा निकै अगाडिको रैथाने ढुङ्गे सभ्यताको गवाही यस मूर्तिले दिन्छ।

काभ्रे वा हाँडीगाउँजस्ता स्थानमा भेटिएका यक्ष-यक्षिकाका मूर्तिहरूमा समेत समयक्रममा एउटा धार्मिक र कलात्मक साँचो देखिन थालेको थियो, तर यो मूर्तिमा भने त्यस्तो कुनै शास्त्रीय बन्धन भेटिँदैन।

यसमा देखिने मङ्गोलियन शारीरिक सुगठन, थेप्चो नाक, चौडा गाला र बिनाकुनै कृत्रिम आभूषणको सीधा प्रहारले यो मूर्ति उपत्यकाको प्रागैतिहासिक र पूर्व-लिच्छविकालीन किरात सभ्यताको सबैभन्दा प्रारम्भिक र मौलिक ढुङ्गे कलाको रूपमा रहेको सङ्केत गर्छ, जहाँ कला धार्मिकभन्दा पनि रैथाने जनजीवन र शक्तिको आदिम स्वरूपसँग जोडिएको थियो।

विडम्बना के छ भने, ऐतिहासिक र पुरातात्त्विक दृष्टिकोणले अत्यन्तै अमूल्य मान्न सकिने स्वयम्भूको यो किरात मूर्ति आज महाचैत्यको एउटा कुनामा सर्वसाधारण र अनुसन्धानकर्ताहरूको नजरबाट ओझेलमा परेर वास्ता नगरिएको अवस्थामा छ।

ड्यानियल राइटको वंशावलीमा आधारित वर्णनले किरात राजा पटुका र गस्तीको कथा त लेखियो, तर जमिनमा बाँकी रहेका यस्ता मूर्तिहरूको वैज्ञानिक तिथि-मितिकरण र कला-शैलीको वर्गीकरणतर्फ राज्यको ध्यान कहिल्यै पुगेन।

च्यासलको त्यो विस्मृत किराती स्मृति र पाटनको उपेक्षित पटुका ढिस्कोजस्तै स्वयम्भूको यो प्राचीन मूर्ति पनि हाम्रो इतिहास लेखनमा रहेको चरम उपेक्षा र उदासीनताको मौन साक्षी बनेर उभिएको छ।

अतः च्यासलको त्यो विस्मृत ऐतिहासिक स्मृति, पाटनको वास्ता नगरिएको पटुका ढिस्को र स्वयम्भू परिसरमा गुमनाम अवस्थामा रहेको प्राचीन किरात मूर्तिले उपत्यकाको इतिहास लेखन र सम्पदा संरक्षणमा रहेको हाम्रो चरम उदासीनतालाई नै गिज्याइरहेका छन्।

लिखित वंशावलीका काल्पनिक कथाहरूलाई शाश्वत सत्य मानेर रमाउने तर जमिनमा बाँकी रहेका यी मूर्त तथा अमूर्त पुरातात्त्विक साक्षीहरूलाई बेवास्ता गर्ने हाम्रो प्रवृत्तिले नेपालको प्राचीन इतिहासलाई झन् धमिलो र भ्रमपूर्ण बनाउँदै लगेको छ।

यदि इतिहास केवल जित्नेहरूको मात्र विजयगाथा होइन र हार्नेहरूको पनि दबाइएको यथार्थ हो भने, काठमाडौँ खाल्डोको सभ्यतालाई पूर्ण रूपमा बुझ्न पूर्व–लिच्छवि तथा किरातकालको ढोका खोल्नैपर्छ।

यसका लागि च्यासलको जनश्रुति, पटुका ढिस्कोको भग्नावशेष र स्वयम्भूको यो विशिष्ट मूर्तिको गम्भीर पुरातात्त्विक उत्खनन र वैज्ञानिक तिथि–मितिकरण हुन जरुरी छ।

जबसम्म राज्य र अनुसन्धानकर्ताहरूले लिखित दस्तावेज र जमीनी यथार्थबीचको यो खाडललाई पुर्न आधुनिक प्रविधिको प्रयोग गर्दैनन्, तबसम्म उपत्यकाको प्रागैतिहासिक मानव बसोबास र राजनीतिक रूपान्तरणको वास्तविक तहक्रम सधैँ अनुत्तरित नै रहनेछ।

इतिहासका यी जीवित सङ्ग्रहालय र ओझेलमा परेका कलाकृतिहरू नासिएर जानुअघि नै यिनको संरक्षण गर्नु आजको मुख्य आवश्यकता हो, ताकि भावी पुस्ताले मिथकको कुहिरोमा होइन, प्रामाणिक यथार्थको उज्यालोमा आफ्नो इतिहास जान्न सकोस्।

(माथिका तस्वीरहरू २०८२ र २०८३ मा खिचिएका हुन्।)

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
15h ago
एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘म्याचा’ खोज्दा किन सबै तीनछक परे ?

एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘म्याचा’ खोज्दा किन सबै तीनछक परे ?

नेपाल प्रिमियर लिग (एनपीएल) यतिबेला सबैको केन्द्रमा छ । अनि त्यसैको एउटा हिस्सा बनेकी छन्, येशा सागर । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अक्सर देखिने येशा पाहुना बनेर काठमाडौं आएकी छन् । उनी जारी एनप...

#काठमाडौं #परे
Compare →

Related Stories

Education & Youth
Build #2611