२७ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणमा ११ दिने चीन भ्रमण गर्न लागेका रास्वपाका नेताहरूको भ्रमणको कार्यतालिका निश्चित भएको छ ।
आइतबार (कात्तिक २९ गते) बाट चीनको भ्रमण गर्ने रास्वपाका नेताहरू सिचुवान प्रान्तको चेङ्दुमा ओर्लने छन् । सिचुवानबाट सुरु भएको प्रतिनिधिमण्डल भ्रमण बेइजिङ पुगेर सकिने छ । सिचुवान पुगेको टोलीले दोस्रो दिनबाट अध्ययन भ्रमण सुरु गर्नेछ ।
नोभेम्बर १६ मा सिचुवानमा रहेको ‘हाइटेक इन्टरप्राइजेज एण्ड इन्ड्रस्टियल पार्क’ मा भ्रमण गर्ने भएका छन् । त्यसै दिन पार्टी स्कूल अफ सीपीसीका नेताहरूबाट रास्वपा सांसदहरूले विचार आदानप्रदान गर्नेछन् । महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा भ्रमणमा रहेको टोलीमा पार्टीका तर्फबाट विचार उनैले राख्नेछन् ।
नोभेम्बर १७ मा भूकम्पपछिको पुर्न निर्माणबारे वेन्चुआनमा भ्रमण गर्ने भएका छन् । सन् २००८ मा ७.८ म्याग्नीच्युडको भूकम्प यस क्षेत्रमा गएको थियो । उक्त भूकम्पमा परेर ८७ हजार बढीको ज्यान गएको थियो । भ्रमण टोलीले नोभेम्बर १८ मा छेङ्दुमा रहेको अनुन्धानमा आधारित ‘जायन्ट पाण्डा व्रिडिङ’ को अध्ययन भ्रमण गर्नेछ । त्यसैदिन सिचुवान युनिभर्सिटी (विश्वविद्यालय) मा विपद् प्रतिकार्य व्यवस्थापन विषयक अन्तक्रिर्यामा सहभागी हुनेछन् ।
नोभेम्बर १९ मा टोली जेजियाङ प्रान्तका लागि उड्ने छ । अर्कोदिन रोबोटिक्स प्रविधि क्षेत्रको भ्रमण गर्नेछन् । नोभेम्बर २० मा औद्योगिक पार्कको भ्रमण गर्ने तालिका तय भएको छ । २१ नोभेम्बरमा तीव्र गतिको रेल यात्रा मार्फत यीवू अन्तारष्ट्रिय ट्रेड सेन्टरको अवलोकन भ्रमण गर्नेछन् । त्यसैदिन ग्रामिण सरकार सञ्चालन र तल्लो तहमा पार्टी निर्माणबारे अवलोकन गर्नेछन् ।
नोभेम्बर २२ मा जेजिहाङ युनिभर्सिटीमा ‘थिंक ट्यांक’ विकास बारे अवलोकन गर्नेछन् । २३ नोभेम्बरमा चीन–नेपाल ‘इन्टरप्राइजेज म्याचमेकिङ कन्फ्रेन्स’ हुनेछ । जिन्ह्वामा उद्यमीहरू सहभागी हुने उक्त कार्यक्रममा रास्वपा प्रतिनिधिमण्डलबाट महामन्त्री आचार्यले विचार राख्नेछन् ।
२४ नोभेम्बरमा टोली बेइजिङका लागि उड्नेछ । बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूसँग रास्वपा टोली भेट हुनेछ । सीपीसीका विज्ञहरूसँग छलफल एवं उक्त पार्टीको ऐतिहासिक संग्रहालय भ्रमण गर्ने तालिका बनेको छ । ११ दिने भ्रमण सकेर टोली २६ नोभेम्बरमा स्वदेश फर्कनेछ ।
महामन्त्री आचार्यको नेतृत्वमा चीन भ्रमण गर्न लागेको टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी सहित सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा.राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा चीन जान लागेका छन् ।
टोलीले शुक्रबार प्रधानमन्त्री बालेन शाहसँग पनि भेटवार्ता गरेको थियो ।