छठ पर्वले तराई–मधेसका गाउँबस्ती मात्र होइन सहर, बजार र पहाडसम्म धार्मिक तथा सांस्कृतिक चहलपहल बढेको छ। सूर्यको उपासना गरी मनाइने यो पर्वले धार्मिक रौनक मात्र बढाएको छैन, पुस्तौंदेखि बाँसका सामग्री बनाउँदै आएका डोम तथा मरिक समुदायको जीविकोपार्जनमा समेत आशा जगाएको छ।
पर्व नजिकिएसँगै बाँसका ढाकी, कोनिया, नाङ्लो र डालीको माग बढेको छ। अर्कातर्फ, विभिन्न समुदायको सहभागिताले छठ धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सांस्कृतिक एकताको साझा पर्वका रूपमा विस्तार हुँदै गएको छ भने छठघाट सजाउने र पूजाका सामग्री जुटाउने कामले तीव्रता पाएको छ।
छठ पूजा नजिकिँदै गर्दा बाँसले बनेका सामग्रीको किनमेल बढेको छ। विशेषगरी तराई–मधेसका जिल्लाका व्रतालुले छठ पूजामा बाँसबाट बनेका सामग्री प्रयोग गर्ने भएकाले यसको माग बढेको हो।
छठ पूजा सामग्री राख्नका लागि बाँसका टोकरी, डाली, कनसुपा, नाङ्लो, चाल्नो, पंखालगायत सामान अपरिहार्य हुने गरेको छ। डोम सामुदायले बनाउने यी सामग्रीको बजारबाट व्रतालुले छठ पूजाका लागि किन्ने गरेका छन्।
पर्साको वीरगन्ज, बाराको कलैया, जितपुरलगायतका बजारहरूमा बाँसले बनाइएका सामग्रीको ठुलो माग रहेको छ। डोम जातिको बाँसको चोया तथा कप्टेरा काढेर छिटी, डाली, कनसुपा, नाङ्लो, चाल्नो र पंखा बनाउने पुर्ख्याैली पेसा मानिन्छ। पर्वविशेषले यस्ता सामग्रीको माग बढ्दा अहिले काम भ्याइनभ्याइ भएको कलैया बरेवाका रामु मालिकले बताए।
प्लास्टिकबाट बनेका सामग्रीको प्रयोग बढी मात्रामा गरिँदै आएकाले हाम्रो पेसा नै संकटमा परेको उनले बताए। बाँसले बनेका सामग्री कम बिक्ने गरेको उनले बताए। दीपावली र छठमा बाँसकै भाँडा चाहिने धार्मिक मन्यता रहेकाले व्रतालुले छठका लागि किन्ने गर्दा पुस्तौनी पेसामा टिक्न सकिएको उनले बताए।
पहिले–पहिले दैनिकरूपमा बाँसबाट बनाइएका सामग्री प्रयोग हुँदा बाबुबाजेले यही पेसाबाट गुजारा गरे पनि अब भने यसको माग दीपावली र छठमा मात्र हुने गरेको उनको भनाइ छ। पर्वविशेषमा माग मात्र हुने भए पनि यतिबेला यी सामान बनाएर बेचिएको पैसाले झन्डै तीन–चार महिनाको गुजारा चल्ने गरेको उनीहरूको भनाइ छ।
त्यस्तै, सुनसरी गढी गाउँपालिका– २ का सोम मरिक ३५ वर्ष पुगे। उनले कक्षा ५ देखि पढाइ त्यागे अनि बाबुबाजेले गर्दै आएको बासका सामग्री बनाएर बिक्री गर्न थाले। ‘कक्षा ५ देखि पढ्न मन लागेन अनि बाबुबाजेले गर्दै आएको काम थालें, यही काम गरेर परिवार धान्दै आएको छु’, उनले भने, ‘अरु बेला बिक्री हुँदैन, यही छठ पर्व आम्दानीको मुख्य अवसर हो।’
उनले बिहीबार मात्रै पाँच सय हाराहारी कोनिया र ढाकी बिक्री गरे। प्रति कोनियाको एक सय र प्रति ढाकीको मूल्य ४ सय रुपैयाँ रहेको छ।
छठ पर्वमा बाँसका सामग्री बिक्रीबाट आएको पैसाले वर्षभरि गुजारा टार्ने गरिएको उनले बताए। उनले बनाएका सामग्री दुहवी, गढी र इनरुवा बजारका साप्ताहिक बजारमा बिक्री हुन्छ। उनी बाँसबाट कोनिया, ढाकी, नाङ्लो र डाला पनि बनाउने गर्छन्।
सोमजस्तै सुनसरीका गढी, दुहबी, हरिनगर, भोक्राहा नरसिंह, इनरुवा र रामधुनी क्षेत्रका मरिक समुदायले बाँसका सामग्री बनाएर बिक्री गर्दै आएका छन्। पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको यो पेसा उनीहरूको जीविकोपार्जनको आधार बनेको छ। उनीहरूले बनाएका सामग्री प्रायः आफैं बिक्री गर्न पूर्वका बजार पुग्ने गर्छन्।
बाँसका सामग्री उत्पादन गर्ने मरिक समुदायबाट खरिद गरेर बिक्री गर्ने व्यापारीले पनि छठमा राम्रो आम्दानी गर्छन्। इनरुवा नगरपालिका– २ का रमेश शर्माले बाँसका सामग्री बिक्री गर्न बिहीबार हटियामा व्यस्त रहेको बताए। उनका अनुसार वर्षमा एक सिजन मात्रै यस्ता सामग्रीको राम्रो कारोबार हुन्छ। मरिक समुदायले बनाएका बाँसका नाङ्ला साप्ताहिक बजारमा लगेर इनरुवाकै नागेन्द्रकुमार साहले पनि बिक्री गर्ने गरेका छन्।
बिहीबार हटियामा बाँसका सामग्रीसँगै माटाका भाँडाकुँडा तथा अन्य पूजा सामग्री किन्नेको पनि उत्तिकै चहलपहल थियो। इनरुवा– २ की सावित्रीदेवी पण्डितलाई मेसिनबाट बनेका माटाका सामग्री बिक्री गर्न भ्याइनभ्याइ थियो। ‘घरमा मेसिनबाट बनाएका माटाका सामग्री बजारमा ल्याएर बिक्री गर्ने गरिएको छ’, उनले भनिन्, ‘घरमै आएर पनि धेरैले किनेर अरू बजारमा लगेर बिक्री गर्छन्।’
इनरुवाको बिहीबारे हटियामा बाँस र माटोका सामग्रीसँगै पूजाका लागि अरु सामग्री खरिद गर्ने सर्वसाधारणको बाक्लो जमघट थियो।
सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइने छठ पर्वका लागि इटहरीको बुढीखोलामा तयारी पूरा भएको छ। सुनसरी–मोरङको सीमा इटहरीस्थित बुढीगंगा–जमुनामुक्तिधाममा छठ पर्व मनाउन सम्पूर्ण पुजा घाट बुकिङसँगै अन्य सम्पूर्ण तयारी पूरा भएको हो।
सुनसरीको इटहरी उपमहानगरपालिका र मोरङको सुन्दरहरैँचा नगरपालिकाका बासिन्दाले मनाउने छठ पर्वले यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको प्रतीकका रूपमा पहिचान बनाउँदै गएको समितिले जनाएको छ।
समितिका अनुसार इटहरीमा छठ पर्व व्यवस्थित ढंगले ३६ वर्षदेखि मनाउने गरिएको छ। त्यसअघि पनि सामान्य ढंगले छठ पर्व भने मनाउने गरिएको थियो।
छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई संस्थागत गर्न मुक्तिधाममा मन्दिर निर्माणसमेत गरिएको छ। छठ पर्वका लागि ६५० वटा पूजाघाट बुकिङ भइसकेको आयोजक समितिका अध्यक्ष वासुदेव कर्णले बताए।
पूर्वकै केन्द्रमा पर्ने र दसैंसँगै तिहार पर्वका लागि इटहरी आएका आफन्तले पनि यहीं पर्व मान्ने भएकाले सुनसरी, मोरङ र अन्यत्रका भक्तजनको उल्लेखनीय सहभागिता रहने आयोजक समितिले जनाएको छ। यहाँ अघिल्लो वर्ष ६ सय पूजाघाट रहेका थिए। यहाँ बर्सेनि पूजाघाट थपिने क्रम बढ्दो रहेको आयोजक समितिका सचिव मुकेश चौधरीले बताए। इटहरीको बुढीखोलाबाहेक सुनसरीकै दुहबी, झुम्का, इनरुवाको सुनसरी खोलार सप्तकोसी नदीतटीय क्षेत्रमा छठ पर्वको तयारी गरिएको छ।
मधेसमा लोकआस्था, श्रद्धा र निष्ठाको महापर्व छठको तयारी सुरु भइसकेको छ। छठ पर्व नजिकिएसँगै मधेसका गाउँबस्तीमा धार्मिक तथा सांस्कृतिक चहलपहल बढ्नुका साथै पर्वको पहिलो चरणअन्तर्गत व्रतालु छठीमाताको आराधनाका लागि आवश्यक सामग्रीको तयारी गरिरहेका छन्।
यस क्रममा गत मंगलबार बिहानै गाउँको मुख्य बाटोमा जम्मा गरिएको गाईको गोबरलाई बुधबार बिहानै व्रतालुले सामूहिक रूपमा गोधन कुट्दै छठसँग सम्बन्धित परम्परागत गीत गाउँदै, दाजुभाइको दीर्घायु, परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै छठीमातालाई चढाइने महाप्रसाद पकाउन माटोको नयाँ चुलोसमेत निर्माण गरिसकेका छन्। मधेसका गाउँबस्तीमा सामूहिक रूपमा माटोको चुलो निर्माण गर्ने परम्परा छ।
छठ पर्वमा शुद्धता र पवित्रतालाई विशेष महत्व दिइने भएकाले चुलो निर्माणदेखि प्रसाद तयार पार्ने र पूजाका सामग्री व्यवस्थापन गर्नेसम्मका सबै काम धार्मिक विधिअनुसार हुने गरेको सातदशकदेखि छठी व्रत बस्दै आएकी गढिमाई– ४ पर्साकी ८५ वर्षीया शान्तिदेवी सुनाउँछिन्।
छठको प्रमुख विधि शुक्रबारदेखि ‘नहाय–खाय’ सुरु हुन्छ। यस दिन व्रतालु स्नान गरी शारीरिक तथा मानसिक रूपमा शुद्ध बनेर शुद्ध शाकाहारी भोजन ग्रहण गर्नेछन्। नहाय–खायको दिन गाउँका हुनेखाने तथा श्रद्धालु व्यक्तिहरूले व्रतालुका घरमा दाल, चामल, गहुँ, साठी धान र विभिन्न प्रकारका मौसमी तरकारीलगायतका सामग्री उपलब्ध गराउने परम्परा पनि मधेसका गाउँबस्तीमा रहिआएको छ।
छठ पर्वलाई धार्मिक अनुष्ठानसँगै सामाजिक सद्भाव, सहयोग र आपसी एकताको पर्वका रूपमा समेत स्थापित भएको शान्तिदेवी सुनाउँछिन्। शनिबार बिहानदेखि व्रतालु ‘खरना’ को तयारीमा जुट्नेछन्। यस दिन माटोबाट निर्माण गरिएको नयाँ चुलोमा छठीमाताका लागि खीर, पुरी, मिठाईलगायतका पकवान बनाएर साँझ खरना पूजा गरी प्रसाद ग्रहण गरिन्छ। खरनापछि व्रतालुको निर्जला उपवास सुरु हुन्छ, जुन छठ पर्वको सबैभन्दा कठिन तथा महत्वपूर्ण पक्ष मानिन्छ।
आइतबार बिहानैदेखि व्रतालु निराहार तथा निर्जला व्रत बसेर गाउँका पोखरी, नदी तथा अन्य जलाशयमा निर्माण गरिएका छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै उनीहरू छठीमाताको पूजा–आराधना गर्छन्।
यस अवसरमा छठघाटलाई केराका थम्बा, फूलमाला, बत्ती तथा पूजाका विभिन्न सामग्रीले सजाउने कार्य सुरु भइसकेको छ। सजाइएका छठघाटमा व्रतालु, परिवारजन तथा श्रद्धालुको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रतालु घर फर्कन्छन्, धार्मिक अनुष्ठान भने जारी रहनेछ। जलाशयबाट घर ल्याइएका अघ्र्य तथा विभिन्न प्रकारका पकवानसहित छठीमाताको गीत गाएर रातभरि जाग्राम बस्ने परम्परा छ। कतिपय व्रतालु तथा श्रद्धालु छठघाटमै रातभर जाग्राम बसेर छठीमाताको भजनकीर्तन गर्ने गर्छन्।
छठ पर्वको अन्तिम तथा महत्वपूर्ण विधि सोमबार बिहान सम्पन्न हुनेछ। उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि चार दिनसम्म चल्ने छठ महापर्वको समापन हुनेछ। उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै व्रतालुले आफ्नो कठोर व्रत तोड्नेछन्। धार्मिक विधि र परम्पराबारे जानकारी दिँदै पण्डित जयप्रकाश मिश्रले छठ पर्वमा शुद्धता, संयम, सत्यता र निष्ठालाई विशेष महत्व दिइने बताए।
उनका अनुसार छठ पर्वमा व्रतालुले मन, वचन र कर्मले शुद्ध भएर पूजा गर्नुपर्ने मान्यता छ। पर्वका क्रममा झुटो नबोल्ने, मन शान्त राख्ने र पूर्ण निष्ठाका साथ छठीमाताको आराधना गर्ने परम्परा रहेको उनले बताए।
प्रकृति र पण्डित मिश्रका अनुसार मधेसमा छठ पर्व विशेषगरी पति, छोराछोरी तथा परिवारका सम्पूर्ण सदस्यको दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासहित मनाउने गरिन्छ। यो पर्व व्यक्तिगत आस्थामा मात्र सीमित नरही परिवार, समाज र समुदायलाई एकताको सूत्रमा बाँध्ने धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा समेत परिचित हुँदै गएको पण्डित मिश्रको भनाइ छ।
छठको तयारी कोजाग्रत पूर्णिमादेखि नै सुरु हुने धार्मिक मान्यता छ। यस अवधिमा व्रतालु तथा छठ मनाउने परिवारले सात्विक जीवनशैली अपनाउन थाल्छन्। घरआँगनमा सरसफाइ, पूजाका सामग्री व्यवस्थापन र खानपानमा विशेष शुद्धता अपनाउँदै उनीहरू छठको तयारीमा जुट्ने गर्छन्। उपासनासँग जोडिएको छठ पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अघ्र्य दिने गरिन्छ।
सूर्यलाई जीवन, ऊर्जा र समृद्धिको स्रोतका रूपमा पूजा गरिने यस पर्वमा जलाशयको महत्व पनि उत्तिकै छ। बाँसका सुप, ढाकी, माटोका भाँडा, फलफूल, ठकुवा, भुसुवा र अन्य परम्परागत प्रसादले सजाइएका छठघाटले मधेसका गाउँ तथा सहरलाई पर्वमय बनाउने गर्छ। धार्मिक आस्था, कठोर तपस्या, पारिवारिक सुखको कामना, सामाजिक सद्भाव र प्रकृतिप्रतिको सम्मानको अनुपम संगम मानिने छठ पर्वले मधेसको मौलिक पहिचान उजागर गरेको छ।
पश्चिम तराईको प्रमुख व्यापारिक तथा सांस्कृतिक केन्द्र नेपालगन्ज यतिबेला झकिझकाउ र भक्तिमय बनेको छ। ऐतिहासिक वागेश्वरी मन्दिरपरिसरको तलाउ किनारमा शुक्रबारदेखि सुरु हुने चार दिने छठ महापर्वको तयारीले तीव्रता पाएको छ। कुनै समय पूर्वीतराई र मिथिलाञ्चलमा मात्र सीमित मानिने सूर्य उपासनाको यो पर्व बाँकेका विभिन्न समुदायको साझा सांस्कृतिक उत्सवका रूपमा रूपान्तरण भइसकेको छ।
बागेश्वरी मन्दिरका तलाउ, रानीतलाउ र अन्य जलाशय रङरोगन र विद्युतीय बत्ती जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। सद्भावको सहरका रूपमा चिनिने नेपालगन्जमा छठको रौनक भित्रिएसँगै बजारमा बाँसका नाङ्ला, ढाकी, माटोका दियो, केरा, उखु, नरिवल र सक्खर किनमेल गर्नेहरूको चहलपहल ह्वात्तै बढेको छ।
नेपालगन्जमा छठ पर्वको इतिहास धेरै पुरानो नभए पनि यसको विस्तार लोभलाग्दो छ। रोजगारी, व्यापार र सरकारी सेवाको सिलसिलामा पूर्वीतराईबाट बाँके झरेका केही अगुवाले रोपेको आस्थाको बिउ पश्चिम नेपालकै ठूलो धार्मिक समागम बनेको छ।
मिथिला सेवा समाजका अध्यक्ष रामलोचन शाहका अनुसार २०३९ सालतिर बाँकेमा छठ पर्व मनाउने परम्परा बसेको हो। सुरुवाती चरणमा रामकेवल दास, हरिदेव महतो, केवल कृष्णलाल दास, महेन्द्र शाहलगायत पाँचजनाको समूहको नेतृत्वमा नेपालगन्जको रानीतलाउबाट छठपूजा थालनी भएको थियो।
प्रकाशित: २७ कार्तिक २०८३ ०८:४९ शुक्रबार