जिल्लाको सदरमुकाम रहेको तौलिहवा गाउँ पञ्चायत हुँदादेखि कपिलवस्तु नगरपालिका बन्दासम्म २५ वर्षभन्दा बढी नेतृत्वमा रहेका रामदास गुप्ताको बिहीबार बिहान निधन भएको हो ।
कपिलवस्तु — कपिलवस्तुका पूर्वप्रमुख रामदास गुप्ताको ८२ वर्षको उमेरमा निधन भएको छ । कपिलवस्तु –२, पुरानो हाटबजार टोलस्थित आफ्नै निवासमा उनको निधन भएको हो ।
जिल्लाको सदरमुकाम रहेको तौलिहवा गाउँ पञ्चायत हुँदादेखि कपिलवस्तु नगरपालिका हुँदासम्म २५ वर्षभन्दा बढी नेतृत्वमा रहेका गुप्ताको बिहीबार बिहान निधन भएको हो । उनी २०२७ सालमा बरगदवा गाउँ पञ्चायतको प्रधानपञ्च भएका थिए । त्यसपछि २०३३ मा बरगदवा गाउँ पञ्चायत र तौलिहवा आदर्श गाउँ पञ्चायत एकीकरण भएर बनेको तौलिहवा आदर्श गाउँ पञ्चायतका उपप्रधानपञ्च बने । उनी २०५९ सम्म नगरको नेतृत्वमा रहे ।
२०३९ मा तौलिहवा आदर्श गाउँ पञ्चायत नगर पञ्चायतमा परिणत भएपछि उनी प्रधानपञ्च निर्वाचित भएका थिए । त्यसपछि २०४३ मा भएको तौलिहवा नगर पञ्चायतको निर्वाचनमा पनि उनी प्रधानपञ्च निर्वाचित भए । २०४६ मा बहुदलीय व्यवस्था आएपछि ०४९ र ०५४ मा भएको स्थानीय निर्वाचनमा पनि उनी दुईपटक राप्रपाबाट नगरप्रमुख पदमा विजयी भएका थिए ।
२०७४ मा भएको कपिलवस्तु नगरपालिकाको नगरप्रमुख पदमा भने उनी पराजित भए । २०७४ मा उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
गुप्ता सदरमुकाम तौलिहवाको विकासको जग बसाल्ने व्यक्तिका रूपमा परिचित छन् । उनी स्वच्छ छविका थिए । दुई वर्षयता उमेरका कारण विभिन्न रोगबाट थलिएका थिए । विज्ञानमा स्नातक उत्तीर्ण गरेका उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको दाहसंस्कार शुक्रबार बिहान १० बजे रामघाटमा गरिने छोरा अखिलेश गुप्तले बताए ।
मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।