त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै पर्यटन उद्योगको सबैभन्दा संवेदनशील सम्पर्क विन्दु भएकाले यात्रुकेन्द्रित व्यवस्थापन, चुस्तता र सुरक्षामा रत्तिभर सम्झौता गर्न हुँदैन ।
नेपाल प्राकृतिक सौन्दर्य, जैविक विविधता, धार्मिक तथा सांस्कृतिक सम्पदाले सजिएको मुलुक हो । विश्व पर्यटन बजारमा नेपाललाई साहसिक, सांस्कृतिक र आध्यात्मिक पर्यटनको गन्तव्यका रूपमा चिनिन्छ । तर, पर्यटकले नेपालको पहिलो अनुभव हिमाल, मन्दिर वा पदयात्राबाट होइन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु हुन्छ । त्यसैले विमानस्थल हवाई यातायातको पूर्वाधार मात्र होइन, नेपालको पर्यटन उद्योगको पहिलो अनुहार हो । पर्यटकले विमानस्थलमा प्राप्त गर्ने सेवा, सुरक्षा, सहजता र आतिथ्यले नेपालप्रतिको पहिलो धारणा बनाउँछ । नेपालमा हवाईमार्गबाट आउने अधिकांश विदेशी पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रवेश गर्छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२४ मा करिब ११ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका थिए, जुन कोभिड–१९ महामारीपछिको उल्लेखनीय संख्या हो । यद्यपि यो संख्या अझै पनि सन् २०१९ को स्तरमा पुगिसकेको छैन । उक्त वर्ष करिब १२ लाख पर्यटक आएका थिए । सरकारले आगामी वर्षहरूमा वार्षिक २० लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यस्तो महत्त्वाकांक्षी लक्ष्य पूरा गर्न विमानस्थलको सेवा क्षमता र गुणस्तरमा व्यापक सुधार चाहिन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालकै एक मात्र पूर्ण सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल हो । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भए पनि त्यहाँबाट अन्तर्राष्ट्रिय उडान अपेक्षित रूपमा सञ्चालन हुन सकेका छैनन् । जसले गर्दा अन्तर्राष्ट्रिय यात्रुको चाप त्रिभुवन विमानस्थलमै केन्द्रित छ । यसले यात्रु व्यवस्थापन, उडान ढिलाइ, पार्किङ सीमितता, अध्यागमनमा लामो प्रतीक्षा, सामान प्राप्तिमा ढिलाइ तथा भीड व्यवस्थापनजस्ता चुनौती छन् ।
पर्यटन सुधारको सफलताको मापन पर्यटक कति आए भन्ने संख्याले मात्र होइन, उनीहरूले नेपालबाट कस्तो अनुभव लिएर फर्किए भन्ने प्रश्नले निर्धारण गर्छ । त्यो अनुभवको सुरुआत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन्छ । विश्व पर्यटन संगठनले पर्यटक सन्तुष्टिमा सीमापार प्रवेश प्रक्रिया, अध्यागमनको गति, सुरक्षा र सेवा गुणस्तरलाई अत्यन्त महत्त्वपूर्ण मान्छ । अन्तर्राष्ट्रिय अध्ययनहरूले के देखाउँछन् भने, कुनै पनि पर्यटकले गन्तव्यबारे पहिलो ३० मिनेटभित्र बनाएको धारणाले समग्र भ्रमण अनुभवलाई प्रभावित गर्न सक्छ । विमानस्थलमै अव्यवस्था, लामो लाइन वा कमजोर सेवा अनुभव भयो भने त्यसले सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय समीक्षा प्लाटफर्मसम्म नकारात्मक प्रभाव पार्छ ।
नेपालमा पर्यटन सुधारको बहस प्रायः होटल, पदमार्ग, सडक वा सम्पदाको संरक्षणमा केन्द्रित हुने गरेको छ । तर पर्यटनको सम्पूर्ण मूल्य शृंखलामा विमानस्थललाई पर्याप्त प्राथमिकता दिइएको देखिँदैन । खासमा विमानस्थल नै पर्यटन उद्योगको सबैभन्दा संवेदनशील सम्पर्क विन्दु हो । यहींबाट नेपालले आफ्नो सेवा संस्कृति, व्यवस्थापन क्षमता र आतिथ्यको पहिलो परिचय दिन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्ला वर्षहरूमा केही सकारात्मक सुधार भएका छन् । स्वचालित अध्यागमन प्रणाली विस्तार, थप सुरक्षा उपकरण, डिजिटल सूचना प्रणाली, नयाँ एक्स–रे मेसिन, यात्रु सहायता डेस्क तथा टर्मिनल व्यवस्थापनमा केही सुधार भएका छन् । तर यात्रुको बढ्दो चापको तुलनामा यी सुधार अझै अपर्याप्त छन् । विशेष गरी पर्यटनको उच्च सिजनमा अध्यागमन काउन्टरमा लामो लाइन, आगमन हलमा भीड, सामान प्राप्त गर्न हुने ढिलाइ तथा पार्किङ व्यवस्थापन अझै उस्तै छन् ।
सिंगापुरको चांगी, दक्षिण कोरियाको इन्चोन र कतारको हमाद विमानस्थल विश्वकै उत्कृष्ट विमानस्थलमध्ये गनिन्छन् । ती विमानस्थल केवल आधुनिक भवनका कारण उत्कृष्ट बनेका होइनन्, त्यहाँ सेवा संस्कृति, प्रविधि, यात्रुकेन्द्रित व्यवस्थापन र कार्यकुशल प्रशासनलाई समान प्राथमिकता दिइएको छ । नेपालले ती देशसँग पूर्वाधारमा प्रतिस्पर्धा गर्न नसके पनि सेवा गुणस्तर, कर्मचारीको व्यवहार, सूचना प्रवाह र प्रक्रियागत सहजतामा उल्लेखनीय सुधार गर्न सक्छ ।
पर्यटन सुधारमा विमानस्थलका कर्मचारीहरूको भूमिका पनि अत्यन्त महत्त्वपूर्ण हुन्छ । अध्यागमन अधिकारी, सुरक्षा निकाय, भन्सार कर्मचारी, एयरलाइन्स कर्मचारी, ग्राउन्ड ह्यान्डलिङ स्टाफदेखि सरसफाइ कर्मचारीसम्म प्रत्येक व्यक्तिले नेपालको प्रतिनिधित्व गरिरहेका हुन्छन् । उनीहरूको व्यावसायिक व्यवहार, शिष्टाचार र सहयोगी प्रवृत्तिले पर्यटकको अनुभवमा प्रत्यक्ष प्रभाव पार्छ । ‘अतिथि देवो भवः’ भन्ने संस्कृतिलाई व्यवहारमा उतार्ने पहिलो स्थान नै विमानस्थल हो ।
पर्यटनमैत्री र विश्वस्तरीय विमानस्थल निर्माणका लागि डिजिटल प्रविधिको अधिकतम प्रयोग आजको अपरिहार्य आवश्यकता बनिसकेको छ । विश्वभरका आधुनिक अन्तर्राष्ट्रिय विमानस्थलहरूले सूचना–प्रविधि, अटोमेसन र एआई (कृत्रिम बुद्धिमत्ता) को प्रयोगमार्फत यात्रु सेवामा उल्लेखनीय सुधार गरेका छन् । नेपालले पनि अनलाइन आगमन तथा प्रस्थान फाराम, ई–भिसा प्रणालीसँग समन्वित डिजिटल सेवा, स्वचालित अध्यागमन प्रणाली, बायोमेट्रिक प्रमाणीकरण, रियल टाइममा उडानको अद्यावधिक सूचना, डिजिटल सूचना पाटी, बहुभाषिक सूचना प्रणाली, मोबाइल एपमार्फत विमानस्थल नेभिगेसन, डिजिटल सहायता सेवा, क्यूआर कोडमा आधारित सूचना सेवा तथा एआईमा आधारित यात्रु चाप व्यवस्थापन प्रणालीलाई क्रमिक रूपमा लागू गर्न आवश्यक छ । यस्ता प्रविधिले यात्रुको लामो प्रतीक्षा समय घटाउनुका साथै सेवा प्रवाह छिटो, पारदर्शी र त्रुटिरहित बनाउँछन् ।
त्यसैगरी, सामान ट्र्याकिङ प्रणाली, स्वचालित चेक–इन कियोस्क, सेल्फ ब्याग–ड्रप सेवा तथा डिजिटल गुनासो व्यवस्थापन प्रणालीले यात्रुलाई सहज अनुभव प्रदान गर्छ भने विमानस्थल प्रशासनलाई सेवा सुधारका लागि आवश्यक तथ्यांक उपलब्ध गराउँछ । अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा पहिलो पटक नेपाल आउने पर्यटकका लागि बहुभाषिक डिजिटल मार्गनिर्देशन, भोइस–सहायता प्रणाली तथा अन्तरक्रियात्मक सूचना कियोस्कले सेवा पहुँचलाई अझ समावेशी बनाउन सक्छ ।
सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन सके त्रिभुवन विमानस्थलको चाप उल्लेखनीय रूपमा कम हुनेछ । यसले पर्यटनको क्षेत्रीय विकासलाई समेत प्रोत्साहन गर्नेछ । लुम्बिनी आउने बौद्ध पर्यटकलाई सिधै भैरहवा र अन्नपूर्ण क्षेत्रमा आउने पर्यटकलाई पोखरा अवतरण गराउन सकियो भने काठमाडौंसँगको निर्भरता घट्नेछ र पर्यटक अनुभव सहज बन्नेछ ।
पर्यटन सुधार पूर्वाधार निर्माणबाट मात्र सम्भव हुँदैन, त्यसका लागि संस्थागत सुधार, दक्ष जनशक्ति, आधुनिक व्यवस्थापन र सेवामुखी संस्कृतिको विकास आवश्यक हुन्छ । विमानस्थल व्यवस्थापनलाई नियमित कार्यसम्पादन मूल्यांकन, यात्रु सन्तुष्टि सर्वेक्षण, अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा मूल्यांकन तथा उत्तरदायी प्रशासनसँग जोड्न आवश्यक छ । निजी क्षेत्र, पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्ड र नागरिक उड्डयनसँगको समन्वय पनि समान रूपमा महत्त्वपूर्ण हुन्छ ।
नेपालले सन् २०२५ पछि पर्यटन क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख आधार बनाउने लक्ष्य लिएको छ । यस्तो अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई केवल उडान केन्द्रका रूपमा होइन, पर्यटन कूटनीतिको अग्रभागका रूपमा हेर्नुपर्छ । प्रत्येक पर्यटकले विमानस्थलबाट प्राप्त गर्ने पहिलो मुस्कान, पहिलो सेवा र पहिलो अनुभव नै नेपालको सबैभन्दा प्रभावकारी पर्यटन प्रचार बन्न सक्छ ।
पर्यटन सुधारको सफलताको मापन पर्यटक कति आए भन्ने संख्याले मात्र होइन, उनीहरूले नेपालबाट कस्तो अनुभव लिएर फर्किए भन्ने प्रश्नले निर्धारण गर्छ । त्यो अनुभवको सुरुआत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन्छ । नेपालले पर्यटनलाई दिगो आर्थिक समृद्धिको आधार बनाउने हो भने विमानस्थल सुधारलाई राष्ट्रिय पर्यटन नीतिको केन्द्रमा राख्नैपर्छ । आधुनिक पूर्वाधार, प्रविधिमैत्री सेवा, दक्ष जनशक्ति र यात्रुमैत्री व्यवस्थापनमार्फत विमानस्थललाई विश्वस्तरीय प्रवेशद्वार बनाउन सकियो भने त्यसले नेपालको पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्याउनेछ ।
मनीषा आउजी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुब्बा पदमा कार्यरत छिन्