बलिउड अभिनेत्री प्रियंका चोपडा दिपावली पार्टीमा माछा (प्राउन) खाएको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचनाको सिकार भएकी छन् । केही प्रयोगकर्ताले लक्ष्मी पूजा गरेपछि मांसाहारी खाना खानु उचित नभएको भन्दै आलोचना गरेका छन् ।
प्रियंकाले भारतभन्दा टाढा अमेरिकाको लस एन्जलसस्थित आफ्नो घरमा दिवाली मनाएकी थिइन् । उनले पति निक जोनस, छोरी मालती र परिवारका सदस्यसँग मनाएको दिवालीका केही तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् ।
रातो रङको परम्परागत पहिरनमा सजिएकी प्रियंका निकै आकर्षक देखिएकी थिइन् । उनको घर दियो, मैनबत्ती र फूलले सजाइएको थियो। निक र मालती पनि सेतो पहिरनमा देखिएका थिए । दिपावली उत्सवका तस्बिरसँगै उनले खानाका परिकार पनि देखाएकी थिइन् ।
तर, एउटा तस्बिरमा प्रियंका झिँगे माछा खाइरहेको देखिएपछि सामाजिक सञ्जालमा बहस सुरु भयो । केही प्रयोगकर्ताले दिपावलीका दिन मांसाहारी खाना खानु हुँदैन भन्दै उनको आलोचना गरे ।
एक प्रयोगकर्ताले लेखेका छन्, ‘दिपावलीमा मांसाहारी खाना खानु हुँदैन ।’ अर्काले प्रश्न गरेका छन्, ‘दिवालीकै दिन झिँगे माछा किन खाएको ?’
त्यस्तै, एक प्रयोगकर्ताले पूजा गरेपछि मासु र माछा खानुको अर्थ के भन्दै प्रश्न गरेका छन् । अर्काले भने दिवालीमा मांसाहारी खाना खानु हुँदैन भन्दै प्रियंकालाई यस्तो खाना नखान सुझाव दिएका छन् ।
केही प्रयोगकर्ताले चाडपर्वका दिन मांसाहारी खाना देखाउनु भारतीय संस्कृतिप्रतिको सम्मान नभएको भन्दै टिप्पणी गरेका छन् ।
तर, सबैले उनको आलोचना गरेका छैनन् । केही प्रयोगकर्ताले खानपान व्यक्तिगत रुचिको विषय भएको भन्दै प्रियंकाको समर्थन पनि गरेका छन् । उनीहरूले चाडपर्व मनाउनु र के खाने भन्ने कुरा फरक विषय भएको बताएका छन्। अमेरिकामा बस्ने भएकाले त्यहाँको खानपान संस्कृतिलाई पनि बुझ्नुपर्ने उनीहरूको भनाइ छ ।
प्रियंकाले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।
प्रियंका बलिउड र हलिउड दुवै क्षेत्रमा सक्रिय छिन् । उनी एसएस राजामौलीको निर्देशनमा बन्ने आगामी हिन्दी फिल्म ‘वाराणसी’मा देखिने तयारीमा छिन् । उक्त फिल्ममा उनको जोडी दक्षिण भारतीय अभिनेता महेश बाबुसँग बाँधिएको छ। फिल्म आगामी वर्ष प्रदर्शन हुने बताइएको छ ।