तानसेनका सडकमा नेवार समुदायको सहभागितामा र्याली निस्कियो भने ग्रामीण भेगमा पनि विविध सांस्कृतिक कार्यक्रम आयोजना भए।
पाल्पा — नेपाल सम्वत् ११४७ को स्वागतमा मंगलबार पाल्पाको तानसेनलगायत ग्रामीण भेगमा विभिन्न कार्यक्रम गरिएका छन् । सदरमुकाम तानसेन, बाँसटारी, आर्यभञ्ज्याङ, ताहुँ, हार्थोक, छहरा र रामपुरलगायत नेवारी बस्ती रहेका स्थानमा र्याली तथा अन्य कार्यक्रम आयोजना गरिएको छ ।
तानसेन बजारमा नेवारी समुदायले धिमेबाजासहित र्याली निकालेका छन् । र्यालीले बजार परिक्रमा गरेको थियो । नेवा गुठी, पासा खःललगायत विभिन्न नेवारी संघसंस्थाले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले नेपाल सम्वत् सबै नेपालीको सम्वत् भएको र अहिले कामकाजमा समेत प्रयोग हुन थालेको बताए ।
पासा खःल पाल्पाले तानसेनको टुँडिखेल छेउमा रहेको शंखधर साख्वाको सालिकमा माल्यार्पण गर्दै नेपाल संवत्का विशेषताबारे जानकारी गराएको छ । तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठले राष्ट्रिय संवत् नेपाल संवत् भएकाले यसको प्रयोग हरेक क्षेत्रमा हुनुपर्ने बताए । पासा खःलले आयोजना गर्ने कार्यक्रममा नगरपालिकाको सहभागिता हुने गरेको उल्लेख गर्दै उनले सबैको संवत् भएकाले यसलाई नेवारी समुदायको मात्र सम्वत्का रूपमा हेर्न नहुने बताए ।
नेपाल सम्वत्का बारेमा जानकारी गराउँदै विज्ञ छत्रराज शाक्यले सबै समुदायले यसलाई आफ्नो सम्वत्का रूपमा लिनुपर्नेमा जोड दिए । सोही अवसरमा पासा खःलले प्रकाशन गरेको नेपाल सम्वत् ११४७ को भित्तेपात्रो नगरप्रमुख श्रेष्ठलगायतले विमोचन गरे ।
तानसेनको टुँडिखेलस्थित शंखधर साख्वा चोकबाट धिमेबाजासहित निस्केको र्याली भीमसेनटोल, नारायणस्थान, असनटोल, शीतलपाटी, टक्सार र मखनटोल हुँदै भगवती मन्दिर पुगेर समापन गरिएको थियो ।
र्यालीमा नेवार समुदायको उल्लेख्य सहभागिता थियो । पाल्पाली नेवाः धिमे बाजा खःल तानसेन टक्सारको धिमेबाजा आकर्षण बनेको थियो । पाल्पाकै रामपुर, आर्यभञ्ज्याङ, हार्थोकलगायत ग्रामीण भेगमा बसोबास गर्ने नेवार समुदायले पनि नेपाल संवत्को स्वागतमा विभिन्न कार्यक्रम गरेको पासा खःलले जनाएको छ । मंगलबार बिहानैदेखि तानसेनमा नेवारी समुदायसँग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गरेका छन् । नेवा देय् दबुले भगवती मन्दिर परिसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । यसैगरी, तानसेन बसपार्कस्थित इलाभेन ब्रदर्सले नेपाल संवत्को स्वागतमा तानसेन नगरभित्र मोटरसाइकल र्याली निकालेको छ । र्यालीले तानसेन बजार, बर्तुङ, बाँसटारी र बतासेडाँडालगायत स्थान परिक्रमा गरेको थियो । र्यालीमा सहभागीलाई इलाभेन ब्रदर्सले उपहारसमेत प्रदान गरेको तानसेन नगरपालिका–६ का वडाध्यक्ष सागरमान महर्जनले बताए । कात्तिक शुक्ल प्रतिपदाका दिन मंगलबार नेवार समुदायमा म्हः पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले म्हः पूजा गर्ने गर्छन् । मानिसको आत्मा नै ठूलो र महत्त्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा शास्त्रीय भएको नेवारी संस्कृतिका जानकार राजेन्द्रगोपाल सिंहले बताए ।
माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।