वीरगन्जसहित तराईका विभिन्न स्थानमा छठ घाटको सरसफाइ, सजावट र व्यवस्थापन सुरु हुँदा पर्व मनाउन घर फर्किने क्रम पनि बढेको छ।
पर्सा — दसैं र लक्ष्मीपूजाको उल्लासमय वातावरण सकिएलगत्तै तराई–मधेशमा अर्को ठूलो पर्व छठको प्रतीक्षा सुरु हुन्छ। करिब एक महिनाको अन्तरालमा दसैं, दीपावली र छठ गरी तीनवटा प्रमुख पर्वलाई भव्यताका साथ मनाउने मधेशको परम्परा छ। दुर्गा र लक्ष्मी माताको आराधनापछि अब सिंगो मधेश छठी माताको स्वागतमा जुटेको छ।
अधिकांश घरपरिवारमा छठ पर्व मनाउने चलन रहेकाले यो तराई–मधेशको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा स्थापित भइसकेको छ। पर्व नजिकिएसँगै वीरगन्जसहित तराईका विभिन्न स्थानमा छठ घाट सजाउने र व्यवस्थापन गर्ने काम सुरु भएको छ। वीरगन्जका घडिअर्वा, मुर्ली, नगवालगायतका छठ घाटमा विशेष चहलपहल हुने गर्छ।
छठ घाटहरुको सरसफाईदेखि पण्डाल आदिबाट भव्य सजावटको काम सुरु भइसकेको छ । घाटहरुबीचनै कसले राम्रोसंग सिंगार्ने भनि अघोषित प्रतिस्पर्धानै हुन्छ । छठ मनाउन आफ्नो थातथलो फर्किनेहरूको क्रम पनि बढ्न थालेको छ।
रोजगारी, अध्ययन तथा अन्य प्रयोजनले घर र देशबाहिर रहेका मानिस धमाधम फर्किन थालेका छन्। छठले पारिवारिक पुनर्मिलनको अवसर जुटाउनुका साथै तराई–मधेशको सामाजिक तथा आर्थिक गतिविधिलाई समेत चलायमान बनाउँछ। पर्वका लागि आवश्यक पूजासामग्री, फलफूल, बाँसका सामग्री, नयाँ लत्ताकपडा र अन्य उपभोग्य वस्तुको किनमेल बढ्न थालेको छ।
वीरगन्ज महानगरपालिका–१३ तेजारथटोलकी व्रतालु मञ्जु देवीका अनुसार यस वर्ष आउदो आइतबार साँझ अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई बाँसको सुपुलीमा नरिवललगायत पूजासामग्री राखेर अर्घ्य दिइनेछ। आइतबार साँझको विधिलाई ‘सझियाघाट’ र सोमबार बिहानको विधिलाई ‘बिहनियाघाट’ भनिन्छ। छठको विधि शुक्रबार ‘नहाखाय’ विधिबाट सुरु हुने छ । त्यस दिन ब्रतालुले नुहाइ धुहाइ गरी शुद्ध चोखो खाने छन् । यस दिन प्रायः खानामा लौकाको तरकारी खाने चलन छ । शनिबार ‘खरना’ विधि अन्तरगत व्रतालुहरूले दूध र गुडबाट बनाइएको रस्या (खिर) तथा रोटी वा पुरी प्रसादका रूपमा ग्रहण गर्छन्। त्यसपछि आइतबार दिनभर निर्जल र निराहार बसेर व्रत गर्ने छन् । साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्वको मुख्य विधि सम्पन्न हुनेछ ।
पर्वका अवसरमा व्रतालु तथा परिवारका सदस्यहरू घरनजिकैका पोखरी, नदी, सरोवरलगायत जलाशयमा बनाइएका आकर्षक छठ घाट पुग्छन्। नयाँ वस्त्रमा सजिएका परिवारका सदस्यले बाँसबाट बनेको छैंटीमा पूजाका सामग्री राखेर टाउकोमा बोकी घाटसम्म पुर्याउने गर्छन्। घाटमा भेला भएका व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य अर्पण गर्छन्।
छठ व्रत गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ। विशेषगरी चर्मरोग निको हुने तथा आफ्नो र परिवारका सदस्यको सन्तान प्राप्तिको कामना गर्दै यो व्रत लिने चलन छ। सूर्यको उपासना गरिने यस पर्वमा नरिवल, अदुवा, उखु, फलफूल र अनिवार्य प्रसादका रूपमा ठेकुवा चढाइन्छ। बाँसका सुपुली र छैंटीमा सजाइएका प्रसादसहित व्रतालुहरूले श्रद्धापूर्वक सूर्यको आराधना गर्छन्।
तराई–मधेशमा वर्षमा दुईपटक कात्तिकी र चैते छठ मनाउने परम्परा छ। यद्यपि सबै व्रतालुले दुवै छठ मनाउँदैनन्। कतिपयले कात्तिकी छठ मात्र मनाउने गर्छन् भने केहीले दुवै पर्वमा व्रत लिन्छन्। त्यस्तै, भाकल पूरा भएपछि मात्र चैते छठ गर्ने परम्परा पनि छ।
धार्मिक आस्था, पारिवारिक एकता र सामाजिक सद्भावसँग जोडिएको छठले तराई–मधेशको मौलिक संस्कृति र पहिचानलाई समेत प्रतिबिम्बित गर्छ। त्यसैले छठ केवल सूर्यको उपासना गर्ने पर्व मात्र नभई मधेशवासीको जीवनशैली, परम्परा र भावनासँग जोडिएको महान् उत्सवका रूपमा स्थापित छ।
सामाजिक अभियन्ता प्रकाश थारु छठ पर्वले सबै समुदायलाई जोड्ने, सूर्यलाई ब्रम्हाण्डको प्रमुख स्रोत र शक्ति मान्ने तथा सामाजिक एकता अभिवृद्धी समेत गर्ने गरेकाले यसको महत्व तराई मधेशमा मात्र नभई सिंगो देशमै स्थापित हुँदै गएको बताउँछन् ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।