Trending
Prev Story
Next Story

एनभिडियामा बलियो पकड भएका जेन्सेन हुआङ हटाउनै मुस्किल

Onlinekhabar •
November 10, 2026 • 04:00 AM
1
1 reads 0 reactions

२४ कात्तिक, काठमाडौं । चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङमाथि एक चिनियाँ महिलासँगको अफेयरलाई लिएर छानबिन सुरु भएको छ। ती महिलाले चीनका लागि जासुसी गरिरहेको अमेरिकी गुप्तचर एजेन्सीहरूको आशङ्का छ। हुआङले श्रीमतीप्रति …

एनभिडियामा बलियो पकड भएका जेन्सेन हुआङ हटाउनै मुस्किल

२४ कात्तिक, काठमाडौं । चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङमाथि एक चिनियाँ महिलासँगको अफेयरलाई लिएर छानबिन सुरु भएको छ।

ती महिलाले चीनका लागि जासुसी गरिरहेको अमेरिकी गुप्तचर एजेन्सीहरूको आशङ्का छ। हुआङले श्रीमतीप्रति बेइमानी गरेको स्वीकार गर्दै माफीसमेत मागिसकेका छन्।

यस प्रकरणमा एनभिडियाको सञ्चालक समिति सामु एउटा ठूलो चुनौती खडा भएको छ। कम्पनीका अधिकांश ठूला निर्णयहरू हुआङ आफैँले लिन्छन् र ६० भन्दा बढी उच्च अधिकारीहरूले सिधै उनलाई रिपोर्ट गर्छन्। हाल कम्पनीमा उनको ठाउँ लिन सक्ने अर्को कुनै ठूलो अधिकारी छैन। यस्तो अवस्थामा यदि बोर्डले उनलाई हटाउने निर्णय गर्‍यो भने एनभिडियाको नेतृत्व कसलाई सुम्पिने भन्ने सबैभन्दा ठूलो प्रश्न उठ्नेछ।

गेमिङ चिप बनाउने कम्पनीलाई बनाए एआईको बादशाह

जेन्सेन हुआङले सन् १९९३ मा एनभिडियाको स्थापना गरेका थिए। सुरुवाती चरणमा कम्पनीले भिडियो गेमका लागि ग्राफिक्स प्रोसेसिङ युनिट अर्थात् जीपीयू चिप बनाउँथ्यो, जसको प्रयोग गेममा उत्कृष्ट ग्राफिक्स देखाउनका लागि गरिन्थ्यो। सन् २००६ मा हुआङले एउटा ठूलो निर्णय लिए। भविष्यमा यी चिप्सको प्रयोग आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि विकास गर्नमा पनि हुन सक्छ भन्ने कुरा उनले पहिल्यै बुझिसकेका थिए। त्यसपछि उनले एआईका लागि विशेष चिप र सफ्टवेयर बनाउन अर्बौं डलर लगानी गरे।

उनको यो दाउ सही साबित भयो। आज एआईसँग जोडिएका ठूला परियोजनाहरूमा एनभिडियाकै चिप्स प्रयोग हुन्छ। यस बजारमा कम्पनीको करिब ९० प्रतिशत हिस्सा छ।

एनभिडिया ५ ट्रिलियन (५० खर्ब) डलरको बजार मूल्यमा पुग्ने विश्वकै पहिलो सार्वजनिक रूपमा कारोबार हुने कम्पनीसमेत बन्यो।

एलन मस्क र ल्यारी एलिसनले पनि मागेका थिए चिप्स

एनभिडियाका चिप्सका लागि विश्वका ठूला प्रविधि कम्पनीहरू कति आतुर छन् भन्ने कुरा एउटा रात्रिभोजको घटनाबाट अन्दाज लगाउन सकिन्छ।

सन् २०२४ को एक राति ओर्‍याकलका सह-संस्थापक ल्यारी एलिसन र टेस्ला तथा स्पेसएक्सका सिइओ एलन मस्कले एनभिडियाका सिइओ जेन्सेन हुआङसँग डिनर गरिरहेका थिए। सो क्रममा दुवैले हुआङसँग थप चिप्स उपलब्ध गराउन अनुनय-विनय गरे।

एलिसनले पछि उक्त घटना स्मरण गर्दै आफूहरूले हुआङलाई यस्तोसम्म भनेको बताए, ‘कृपया हाम्रो पैसा लिनुहोस्। जति लिइरहनुभएको छ, त्योभन्दा बढी लिनुहोस्। तर हामीलाई तपाईंबाट थप चिप्स चाहियो।‘

अर्थात्, विश्वका दुई ठूला उद्योगपतिहरू पनि त्यतिबेला हुआङसामु बढी चिप्स पाउनका लागि गुहार लगाइरहेका थिए। कम्पनीको यही सफलताले हुआङलाई प्रविधि जगतको सर्वाधिक चर्चित अनुहार बनाइदियो।

एनभिडियाको डेभलपर कन्फ्रेन्समा उनलाई सुन्न मानिसहरू घण्टौँ लाइनमा उभिन्छन् भने कैयौँ कार्यक्रममा उनीसँग अटोग्राफ लिन भीड लाग्ने गर्छ।

कम्पनीको हरेक ठूलो निर्णयमा चल्छ हुआङको एकछत्र राज

हुआङसँग एनभिडियाको ३.५६ प्रतिशत सेयर स्वामित्व छ र उनी कम्पनीका सबैभन्दा ठूला व्यक्तिगत सेयरधनी पनि हुन्। कम्पनीमा उनको दबदबा सेयरमा मात्र सीमित छैन।

उनी दैनिक कामकाजदेखि ठूला व्यापारिक निर्णयहरूसम्म सिधै संलग्न हुन्छन्। अमेरिकी सरकारको एआई र चिप नीतिहरूमा पनि उनको प्रभाव रहँदै आएको छ।

कम्पनीमा उनको यति बलियो पकड हुनुको एउटा कारण उनको काम गर्ने शैली पनि हो। एनभिडियामा ६० भन्दा बढी अधिकारीहरूले सिधै उनलाई रिपोर्ट गर्छन्। अर्थात्, कम्पनीका अधिकारीहरूले आफ्ना निर्णयका लागि बीचका कैयौँ तहहरू पार गरिरहनु पर्दैन।

हुआङ पद र दर्जाका आधारमा काम बाँड्नुको सट्टा अलग-अलग प्रोजेक्टमा ध्यान दिन्छन्। सन् २०२३ मा एक पडकास्टमा बोल्दै उनले को कसको मातहतमा काम गर्छ भन्ने चार्ट बनाउने कुरा आफूलाई समझमा नआउने बताएका थिए।

उनी प्रोजेक्टका आधारमा बैठकहरू गर्छन्, जसमा कलेजबाट भर्खरै निस्किएका नयाँ कर्मचारीदेखि कम्पनीका उच्च अधिकारीहरूसम्म सहभागी हुन्छन्। हरेकले सिधै उनका सामु आफ्नो कुरा राख्न सक्छन्। आफूले दैनिक कम्पनीका कर्मचारीहरूका हजारौँ इमेल पढ्ने हुआङको दाबी छ।

उनको काम गर्ने यो शैलीलाई एप्पलका संस्थापक स्टिभ जब्ससँग तुलना गरिन्छ। जब्सले जस्तै हुआङले पनि कम्पनीको लगभग हरेक महत्त्वपूर्ण काममा आफैँ नजर राख्छन्।

बोर्डमा पनि हुआङकै पुराना व्यापारिक साझेदार

एनभिडियाको बोर्डमा सह-संस्थापक तथा सिइओ जेन्सेन हुआङसहित कुल ११ सदस्य छन्। बोर्डका सदस्यहरूमध्ये दुई जना सन् १९९३ मा एनभिडियामा सुरुवाती लगानी गर्ने लगानी कम्पनीहरूसँग जोडिएका व्यक्ति छन्।

त्यस्तै, अन्य दुई सदस्य सन् १९९० को दशकमा एनभिडियासँग काम गर्ने चिप डिजाइन कम्पनी सिनोप्सिससँग आबद्ध रहेका व्यक्ति हुन्।

कम्पनीका तीन पूर्वकर्मचारीका अनुसार एनभिडियामा वास्तविक निर्णय जेन्सेन हुआङले नै लिन्छन् र कम्पनीको कामकाजमा बोर्डको खासै भूमिका रहँदैन। अहिले त्यही बोर्डले हुआङमाथि छानबिन गरिरहेको छ। बोर्डले हालसम्म

एनभिडियाका गोप्य जानकारी चीनसम्म पुगेको वा अमेरिकाको राष्ट्रिय सुरक्षामा नोक्सान पुगेको कुनै प्रमाण नभेटिएको जनाएको छ।

ट्रम्पसँग निकटता, अमेरिकी एआई नीतिमा पनि प्रभाव

हुआङको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि राम्रो घनिष्ठता छ। दुवैबीच प्रायः फोनमा कुराकानी भइरहन्छ। एकपटक टेक्नोलोजी समिट चलिरहेकै बेला ट्रम्पले हुआङलाई अचानक फोन गरेका थिए।

गत वर्ष हुआङले चीनलाई चिप बेच्न लगाइएको प्रतिबन्ध हटाउन ट्रम्पलाई मनाएका थिए। चीनजस्तो ठूलो बजारबाट अमेरिकी कम्पनीहरूलाई पूर्ण रूपमा टाढा राख्दा आफ्नो व्यवसाय प्रभावित हुने र चीनले आफ्नै चिप उद्योगलाई तीव्र गतिमा अगाडि बढाउन सक्ने हुआङको तर्क थियो।

यसरी हुआङले एनभिडियाको व्यापार मात्र सम्हालिरहेका छैनन्, अमेरिकी सरकारको प्रविधि नीतिलाई प्रभावित पार्नमा पनि उनको अहम भूमिका छ।

छोरा-छोरी र ज्वाइँलाई पनि कम्पनीमा ठूला पद

उनका छोरा स्पेन्सर हुआङ कम्पनीमा प्रोडक्ट म्यानेजमेन्टका डाइरेक्टर छन्। रोबोटिक्ससँग जोडिएका काममा उनको ठूलो भूमिका छ।

त्यस्तै, छोरी म्याडिसन हुआङ प्रोडक्ट मार्केटिङकी सिनियर डाइरेक्टर छिन्। उनले रोबोटिक्सका साथै कम्पनीको सञ्चार र मार्केटिङको काम हेर्छिन्। ज्वाइँ निको क्याप्रेज कम्पनीमा बिजनेस डेभलपमेन्टको काम सम्हाल्छन्।

परिवारका सदस्यहरूलाई दिइएको यो जिम्मेवारीबाट कम्पनीका केही कर्मचारी असन्तुष्ट पनि छन्। हुआङले भविष्यमा कम्पनीको कमान सम्हाल्न आफ्ना छोराछोरीलाई तयार पारिरहेको उनीहरूको बुझाइ छ।

यसले कम्पनीभित्रको कार्यशैलीमा पनि असर पारेको छ। बैठकहरूमा हुआङका छोराछोरीको आफ्ना बुबासम्म सिधा पहुँच हुन्छ भने कम्पनीको हरेक ठूलो निर्णयमा अन्तिम स्वीकृति हुआङले नै दिन्छन्।

कतिपय ग्राहक, आपूर्तिकर्ता र व्यापारिक सल्लाहकारहरूले पनि अब उनका छोराछोरीसँग आफ्नो सम्बन्ध बलियो बनाउन थालेका छन्।

हाल यो छानबिन कहिलेसम्म पूरा हुन्छ भन्ने स्पष्ट छैन। र, छानबिनपछि हुआङलाई सीईओ पदबाट हटाइन्छ या हटाइँदैन भन्ने पनि तय छैन। तर, यदि उनलाई हटाइयो भने कम्पनीसामु नयाँ हाकिम छान्ने चुनौती हुनेछ।

हुआङ आफैँले भने कम्पनीमा आफ्नो ठाउँमा काम गर्न सक्ने कैयौँ व्यक्ति रहेको र त्यसमा आफ्ना छोरा र छोरी पनि हुन सक्ने बताएका छन्।

यद्यपि, एनभिडियाको कामकाज धेरै हदसम्म हुआङकै भरमा चल्ने र ठूला निर्णय उनैले लिने भएकाले उनी बाहिरिएमा कम्पनी सम्हाल्न सजिलो हुने छैन। हुआङ नरहे एनभिडियाको कमान कसलाई सुम्पिने भन्ने नै बोर्डसामुको सबैभन्दा पेचिलो प्रश्न हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
12h ago
जेन्सेन हुआङको आकस्मिक राजीनामाले एनभिडियामा हलचल:  सेयर बजारमा पहिरो, अमेरिका–चीन प्रविधि तनाव पुनः चर्कियो

जेन्सेन हुआङको आकस्मिक राजीनामाले एनभिडियामा हलचल: सेयर बजारमा पहिरो, अमेरिका–चीन प्रविधि तनाव पुनः चर्कियो

सान्टा क्लारा, क्यालिफोर्निया– कृत्रिम बुद्धिमत्ता (एआई) क्रान्तिको ३३ वर्ष लामो नेतृत्वमा नाटकीय पूर्णविराम लगाउँदै जेन्सेन हुआङले सन् २०२६ नोभेम्बर १२, बिहीवारका दिन एनभिडियाको प्रमुख कार्यकारी अ...

#एनभिडिया #हुआङ #जेन्सेन
Compare →
Bizshala
10h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#कात्तिक #काठमाडौं
Compare →
Ekantipur
12h ago
एनभिडियाका प्रमुख कार्यकारीको विवादले एआई कम्पनीका सेयरमा गिरावट

एनभिडियाका प्रमुख कार्यकारीको विवादले एआई कम्पनीका सेयरमा गिरावट

पछिल्लो एक महिनामा मात्रै कम्पनीको बजार पुँजीकरण १० खर्ब डलरभन्दा बढीले घटेको छ । अक्टुबरमा यो ५८ खर्बसम्म पुगेको थियो ।

#एनभिडिया
Compare →

Related Stories

Technology
Build #2611