पछिल्लो एक महिनामा मात्रै कम्पनीको बजार पुँजीकरण १० खर्ब डलरभन्दा बढीले घटेको छ । अक्टुबरमा यो ५८ खर्बसम्म पुगेको थियो ।
काठमाडौँ — विश्व बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका सेयर बिहीबार घटेका छन् ।
एनभिडियाको सेयर सो दिन अन्तरदिनको कारोबारमा १६ प्रतिशतसम्म घटेको थियो । बजार बन्द हुँदा यो ४.३४ प्रतिशतले घटेर १६६ डलरमा सेयर किनबेच भइरहेको छ ।
एनभिडियाको बजार पुँजीकरण पहिलो पटक सन् २०२५ जुलाईयताकै कम भएको छ । यो ४० खर्ब डलरभन्दा तल झर्ने अवस्थामा पुगेको छ । पछिल्लो एक महिनामा मात्रै कम्पनीको बजार पुँजीकरण १० खर्ब डलरभन्दा बढीले घटेको छ । अक्टुबरमा यो ५८ खर्बसम्म पुगेको थियो ।
एआई क्षेत्रमा लगानीको स्रोत र नियामकीय चुनौतीबारे चिन्ता बढिरहेका बेला एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन ह्वाङको नेतृत्वसम्बन्धी विवादले पनि यससहित अन्य एआई कम्पनीहरूको मूल्य घटेको हो ।
ह्वाङका दुई महिलासँग विवाहबाहिर सम्बन्ध रहेको खबर सार्वजनिक भएपछि कम्पनी ठूलो विवादमा परेको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले उल्लेख गरेको छ ।
हाललाई एनभिडियाले कम्पनीको स्थायी नेतृत्व चयन नभएसम्म प्रमुख वित्त अधिकारी कोलेट क्रेसलाई अन्तरिम प्रमुख कार्यकारीको जिम्मेवारी दिने भएको छ ।
एआई प्रविधिको विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको एनभिडियाले आफ्ना चिप प्रयोग गरेर पूर्वाधार निर्माण गर्ने कम्पनीहरूमा समेत लगानी गर्दै आएको छ । तर, एउटै कम्पनीले आफ्ना ग्राहक र साझेदारलाई आर्थिक सहयोग गर्ने यस्तो अभ्यासलाई लिएर यसअघि नै प्रश्न उठ्दै आएको थियो । अहिले नेतृत्वसम्बन्धी विवादले एआई क्षेत्रमा थप असर पार्न सक्ने चिन्ता बढेको छ ।
साथै, बढ्दो ब्याजदर, प्रविधि कम्पनीहरूको उच्च ऋण र नियामकीय चुनौतीका कारण लगानीकर्ताको विश्वास कमजोर हुँदा पनि कम्पनीहरूको बजार मूल्यमा गिरावट आएको हो ।
बिहीबार एनभिडियाको लगानी रहेको क्लाउड सेवा प्रदायक कम्पनी कोरविभको सेयर पनि ८.१ प्रतिशत घटेको छ । त्यस्तै, सुपर मार्केट क्म्प्युटरको सेयर मूल्य १२ प्रतिशत, नेबियसको सेयर मूल्य १८ प्रतिशतले घटेको छ । नेबियसले सन् २०२६ को लागि यसअघि प्रक्षेपण गरेको आम्दानी घट्ने अनुमान गरेपछि मूल्यमा प्रभाव परेको हो ।
रोयटर्ससँगको कुराकानीमा क्यापिटल डटकमकी वरिष्ठ बजार विश्लेषक डानिएला ह्याथोर्नका अनुसार ठूलो गिरावटपछि एनभिडियाको सस्तो मूल्यमा सेयर किन्ने लगानीकर्ताका कारण बजारमा केही सुधार भने देखिएको छ । एनभिडियाको प्रतिस्पर्धात्मक क्षमता, एआई प्रविधिको बढ्दो माग र स्थापित ग्राहक सम्बन्ध नयाँ नेतृत्व आए पनि कायम रहने विश्वास केही लगानीकर्तामा देखिएको उनले बताएकी छन् ।
खुद्रा लगानीकर्ताले पनि एनभिडियाको सेयर खरिद बढाएका छन् । भान्डा रिसर्चका अनुसार बिहीबार कारोबार सुरु भएको पहिलो आधा घण्टामै खुद्रा लगानीकर्ताले ११ करोड १० लाख डलर बराबरको एनभिडियाको सेयर खुद खरिद गरेका थिए ।
बजार खुलेको पहिलो आधा घण्टामा भएको कम्पनीको यो सेयर कारोबार अहिलेसम्मकै ठूलो खरिद हो ।