Trending
Prev Story
Next Story

एक अनासक्त क्रान्तिकारी

Onlinekhabar •
November 10, 2026 • 04:00 AM
1
1 reads 0 reactions

एउटा जमाना यस्तो पनि थियो- सामान्य मानिसहरू 'खबर कागज' वा 'अखबार' भनेको 'गोरखा पत्र' भन्थे, 'टूथपेस्ट' भनेको 'कोलगेट' भन्थे । हिजोआज धेरैले युवाको अर्थमा जेञ्जी भन्छन्: हामी पनि जेञ्जी हुँदा यस्ता थियौं, यसो गर्थ्यौं आदि …

एक अनासक्त क्रान्तिकारी

एउटा जमाना यस्तो पनि थियो- सामान्य मानिसहरू ‘खबर कागज’ वा ‘अखबार’ भनेको ‘गोरखा पत्र’ भन्थे, ‘टूथपेस्ट’ भनेको ‘कोलगेट’ भन्थे । हिजोआज धेरैले युवाको अर्थमा जेञ्जी भन्छन्: हामी पनि जेञ्जी हुँदा यस्ता थियौं, यसो गर्थ्यौं आदि यद्यपि जेञ्जीले सबैका लागि ‘युवा’ को पगरी थामिदिन सक्दैन ।

२०८२ को भदौ २३-२४ को घटनापछि आफूलाई ‘जेञ्जी’ घोषित गर्नु युवाहरूमाझ फेसन जस्तै भएको थियो र अझै छ । सुदूर गाउँका नवयुवाहरू समेत आफूलाई जेञ्जी भन्दा गौरव गर्छन् । उनीहरूमध्ये अधिकांशले बुझेको जेञ्जी हुनु भनेको पुराना खासगरी दलहरूमा आबद्ध नेता कहलिएका मानिसहरूको विरोधमा उभिनु हो ।

पुराना दलका नेतालाई उनीहरू वेकम्मा, भ्रष्ट र मुलुक लुटिखान पल्केका मानिसका रूपमा लिन्छन् । तर तिनीहरूको यस्तो धारणा आंशिक मात्रै सत्य हो । पुराना धेरै नेताले प्रजातन्त्र प्राप्तिका लागि कठोर संघर्ष गरेका थिए, उनीहरूले त्यो त्याग नगरेको भए आज पनि हाम्रा लागि प्रजातन्त्र टाढाकै विषय हुन सक्थ्यो ।

यस्ता धेरै नेता बितेर गइसके पनि इमान्दार, त्यागी र मुलुकका लागि केही गरौं भनेर लागिरहेका पुराना मानिस अझै कम छैनन् । त्यसैले सबैलाई एउटै टोकरी हाल्नु उचित होइन ।

अग्रजहरू भन्छन्, अघि–अघि काठमाडौंमा हिउँदमा डम्म भुइँ कुहिरो लाग्ने गर्थ्यो । पुस र माघ त असाध्यै जाडो । त्यसैले विद्यालयहरूमा मीनपचासको विदा हुन्थ्यो । मङ्सिरको २१ देखि माघको १० गतेसम्मका ५० दिनमा सधैं पानीमा बस्ने माछालाई समेत जाडो हुन्छ भन्ने विश्वासमा मीनपचासको विदाको चलन बसेको थियो।

यस्तै कठ्याङ्ग्रिने मङ्सिरको अन्तिम साताको एक दिन पाटनको शान्ताभवन अस्पतालमा घाँटीमा समस्या भएको एउटा १० वर्षे ठिटोलाई ल्याइन्छ । बिरामीको परीक्षणपश्चात डाक्टरले उनको शल्यक्रिया गर्नुपर्ने बताउँछन् । उनलाई त्यहीँ भर्ना गरिन्छ र शल्यक्रियाका लागि आवश्यक परीक्षणहरू गर्न थालिन्छ । ती मधौरुलाई हरदम उनकै आमाले स्याहारसुसार गरिरहेकी हुन्छिन् ।

मङ्सिर मसान्तका दिन गरिएको शल्यक्रिया सफल हुन्छ तर त्यस क्रममा लट्याउनका लागि दिइएको औषधि लगायतका कारण शिथिल बिरामी अर्धचेत जस्तो अवस्थामा लडिरहेका हुन्छन् । शल्यक्रियाको दोस्रो दिन अपरान्हतिर उनको स्याहार सुसारमा संलग्न ती आमा अचानक अस्पतालबाट गायब हुन्छिन् । दुई चार दिनदेखि त्यही अस्पतालमा सँगै रहेका बिरामी र तिनका कुरुवा पनि छक्क पर्छन् । कतिले त भने होला- कस्ती निर्दयी मान्छे रहिछन्, बिरामी बालक छोरालाई यसरी छाडेर हिँड्ने !

फागुन १२ गते काठमाडौंको इन्द्रचोकमा एकाएक ‘इन्क्लाब-जिन्दावाद’ को नारा घन्किन थाल्छ । त्यसमा धादिङबाट आएका तामाङ समुदायका महिला हुन्छन् । त्यसको नेतृत्व गर्नेमध्येमा एक हुन्छिन् तिनै अस्पतालमा बिरामी छोरो छाडेर वेपत्ता हुनपुगेकी आमा ।

सैन्य शक्तिका आडमा प्रजातान्त्रिक सरकारलाई अपदस्त गरेर नेताहरूलाई बन्दी बनाउने महेन्द्रको तानाशाही कदमविरुद्ध निस्केको त्यो जुलुसमा ७० जति महिला हुन्छन् । उनीहरूमाथि लाठी चार्ज हुन्छ, अगुवाहरूलाई यातना दिँदै बन्दी बनाइन्छ ।

जहानियाँ राणा शासनको समयमा बेलाबखत, खासगरी प्रधानमन्त्री फेरिएलगत्तै, तिनका कारिन्दा समेत शासकको कोपमा पर्थे, राजनीतिक गतिविधि गर्नेको त कुरै भएन । यस्ता कतिलाई देश निकाला गरिन्थ्यो । राजनीतिक गतिविधमा संलग्न नगन्य मानिस पनि खुसुक्क भारततिर लाग्थे । यस्ता निर्वासित सबैजसोको बसोबासो बनारसमा हुन्थ्यो ।

त्यसरी भारत पसेर बनारसमा व्यापार गर्दै बस्नेमा ईश्वरीप्रसाद उपाध्याय पौडेल र इन्दिरा दम्पती पनि थिए । वि.सं. १९८५ कात्तिक २४ गते तिनलाई पुत्रीलाभ हुन्छ । पण्डितहरूले ती बालिकाको नाम जुराउँछन्- सुधा । काशी आफैँ एउटा गुरुकुल, विश्वविद्यालय र तपोभूमिजस्तो शहर । सुधा विद्यालय जान थाल्छिन् । उनीमा सानैदेखि क्रान्तिकारी स्वभाव देखिन थाल्छ ।

सन् १९४० मा सुधा बनारस हिन्दु गर्ल्स स्कुलमा सातौं कक्षामा पढ्दै गर्दा भारतलाई बृटिश उपनिवेशबाट मुक्त गर्ने उद्देश्यले सञ्चालित स्वराज अभियानका नेता महात्मा गान्धी त्यहाँ आउँछन्, सभालाई सम्बोधन गर्छन् । सुधाले त्यस कार्यक्रममा सहभागी हुने अवसर पाउँछिन् । त्यस सभामा स्कूलका केही विद्यार्थीले गान्धीजीलाई माला लगाइदिएर स्वागत गर्छन् । यस्तो दुर्लभ अवसर पाउने विद्यार्थीमध्ये एक उनै सुधा हुन्छिन् ।

संयोग भनौं या नियति, उनको मगनी केही सम्पन्न घरानाहरूबाट भइरहेका बेला सुधाले नै राणा शासनविरुद्ध संघर्षरत क्रान्तकारी कोइराला परिवार रोज्छिन् । उनको विवाह कृष्णप्रसाद कोइरालाका साइँला छोरा केशवप्रसादका साथ हुन्छ । त्यो बेला उनी १५ वर्षकी थिइन् । त्यस बखत पिताजी नेपालमा र बीपी भारतीय जेलमा बन्दी बनाइएका थिए । सुधाले आफ्ना ससुरालाई पहिलो पटक जेलमै भेट्छिन् । त्यो भेटमा पिताजी भन्नुहुन्छ- तिमी बुहारी होइन, छोरी भयौ।

त्यसको केही समयपछि बन्दी अवस्थामै पिताजीको देहावसान हुन्छ । घाटमा लगेर अन्तिम संस्कार गर्नका लागि राणा शासकको भयबाट मलामीसमेत जुट्न सक्दैनन् । त्यहीँ रहेको एउटा सिपाही, आमा दिव्या र केशव-सुधा दम्पतिसहित ४ जनाले पिताजीको शवलाई घाटसम्म लगेर दाह संस्कार गर्छन् ।

तर यस सम्बन्धमा आफ्ना दाजु ढुण्डिराज कोइरालाको संस्मरण भनेर भुवन ढुङ्गानाले आफ्नो पुस्तक ‘बीपी आत्मवृत्तान्तका कथा/अकथा’ मा उद्धरण यसरी गरेकी छिन्: त्यस बखत उहाँका साथमा आमा, (कसैले दुवै आमा पनि उल्लेख गरेको पाइन्छ) छोरा केशव, बुहारी सुशीला र छोरी बुनु थिए । उहाँको शव घाटको किनारमा लडाइएको थियो । उठाउने ब्राह्मण खोज्दा सरकारको त्रासले कोही आउन मानेनन् । त्यसपछि मैले तत्कालीन पुलिस जनरल चन्द्रबहादुर थापासँग गएर अनुरोध गर्दा उनले ब्राह्मण सिपाहीमध्येबाट ६ जवान खटाइदिए । लास उठ्यो ।

कोइराला परिवारमा पुग्दासम्ममा सुधा, नोना भइसकेकी हुन्छिन् । त्यसको पनि रोचक कथा छ । उनका पिता आफूले हेरेको एउटा रुसी सिनेमाकी मुख्य पात्रको क्रान्तिकारी भूमिकाबाट यति धेरै प्रभावित हुन्छन्, ती नायिकाको नाम उनले आफ्नी छोरी सुधामा सारिदिँदै भन्छन्- आजदेखि तिम्रो नाम नोना भयो ! तिमी पनि उनीजस्तै अन्याय र अत्याचारविरुद्ध सशक्त भएर उभिनू ।

विवाहपछि केशव कोइरालाले नोनालाई विराटनगरको कोइराला निवासमा भित्र्याउँन ल्याउँदा त्यहाँ घरपरिवारका सदस्य र नव वरवधूको स्वागतार्थ सजाएर राखेका जोडी जलघडामात्रै होइन जहानियाँ राणा शासकका सैनिकहरू समेतको उपस्थिति हुन्छ । तिनीहरूले नव वरवधूका सबै सामान मिहिनगरी जाँच गरेपछि मात्रै उनीहरूलाई गृह प्रवेशको अनुमति मिल्यो । त्यस बेला नोनाको मनमा के खेलिरहेको थियो- सायद यो जिज्ञासा उनी समक्ष कसैले राखेन !

वि सं २००३ सालमा विराटनगरमा मजदुर आन्दोलन हुन्छ । त्यस आन्दोलनका घाइतेहरूलाई औषधोपचार र भोजन व्यवस्थापन लगायतको जिम्मा लिएर नोनाले औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेको देखिन्छ । भनिन्छ, त्यसै साल नेपाली कांग्रेसको कलकत्ताको भवानीपुरमा भएको पहिलो महाधिवेशनमा पनि उनी सहभागी थिइन् । निरंकुश राणा शासनविरुद्ध २००७ सालमा काँग्रेसले सञ्चालन गरेको सशस्त्र मुक्ति आन्दोलनमा समेत उनी सक्रिय रहन्छिन् । प्राप्त हतियारको सरसफाइ, व्यवस्थापनदेखि वितरणसम्मको जिम्मेवारी लिन्छिन् उनी । हतियार आफ्नो शरीरमा लुकाएर मुक्ति सेनासमक्ष पुर्‍याउनु उनको दैनिकीजस्तै हुन्छ ।

२००७ सालको क्रान्तिमा कोइराला परिवार नै होमिएको थियो । पिताजी कृष्णप्रसादका पाँचै भाइ छोरा- मातृका, बीपी, केशव, तारणी र गिरिजा- मुक्ति योद्धाका कमाण्डरका रूपमा युद्धमोर्चामा थिए । बुहारीहरूलाई आफूनजिक बोलाएर आमा दिव्या कोइरालाले भन्नुभयो, ‘मेरा छोराहरू लडाईंमा जाँदैछन्, उनीहरू मारिन पनि सक्छन् । यदि उनीहरू मरिनैहाले पनि तिमीहरूले आँसु नझारेस्’ । आफूलाई छोरीको स्नेह दिने सासूको यस्तो आदेशले नोना कोइरालालाई थप उत्साही र कर्तव्यनिष्ट बनायो ।

प्रजातन्त्र प्राप्तिपश्चात विराटनगरमा उनी सामजिक काममा संलग्न हुन्छिन्, पार्टीको काम त छँदैथियो । भनिन्छ, २०१५ सालको आमनिर्वाचनमा बीपीले नोनालाई टिकट दिन चाहनुभएको थियो तर उनले भनिन्, ‘म चुनाव लड्दिन पार्टीको काम गर्छु ।’ यस विषयमा मैले एक पटक जिज्ञासा राखेको थिएँ ।

उनको जवाफ थियो, ‘सान्दाजु (बीपी) व्यक्तिका लागि मात्रै होइन, प्रजातन्त्रका लागि पनि सान्दाजुको हात बलियो पार्नु पर्ने समयको माग थियो । परिवारभित्रैकाले टिकट लिँदा विपक्षीहरूले भन्ने मौका पाउँथे । मेरो के कुरा, गिरिजा बाबुले त टिकटमा दावा गर्नुभएन ।’

८ वर्षपछि बीपी जेलबाट छुटेर भारत प्रवासतिर लाग्नुभयो । समयक्रममा नोना पनि उतै पुग्छिन् र बीपीले पञ्चायती व्यवस्थालाई फालेर प्रजातन्त्रको पुन:स्थापनाका लागि आह्वान गरेको सशस्त्र क्रान्तिको तयारीमा जुट्छिन् ।

यो पंक्तिकारले निर्वासनमा रहँदा चार वर्षभन्दा बढी समय नोना कोइरालासँग संगत गरेको छ, सहकार्य गरेको र उनलाई राम्ररी जान्दछ । उनी पार्टीका लागि जस्तोसुकै जोखिम उठाउन र दु:ख खेप्न तयार थिइन् । गिरिजाप्रसाद कोइरालाका लागि त ठूलो भरोसा थिइन् । जस्तोसुकै परे पनि गिरिजाबाबु बीपीसँग सोझै सवालजवाफ गर्न नसक्ने । यस्तोमा नोनाले दुई दाजुभाइबीच सेतुको काम गरिदिने ।

एक पटक मैले उनलाई ठट्टा भावमा सोधेको थिएँ, ‘तपाईंलाई चाहिँ सान्दाजुसँग धक लाग्दैन ?’

उनको जवाफ थियो, ‘हेर्नुहोस् धर्मजी, म सान्दाजुसँग व्यक्तिगत कुरा गर्दिन । पार्टीको सन्दर्भमा कुनै पनि कुरा गर्न म धक मान्दिन । म कोइराला परिवारमा बुहारी भएर भित्रिएँ तर छोरीको स्नेह पाएँ । सान्दाजु मलाई सुरुदेखि नै दाजुजस्तो लाग्थ्यो । पार्टीको काम गर्दै गएपछि हाम्रो सम्बन्ध नेता र कार्यकर्ताबीच जस्तो हुन्छ त्यस्तै छ । कति कुरामा गिरिजा बाबु धक मान्नु हुन्छ, म उहाँलाई सजिलो बनाइदिन्छु ।’

भनिन्छ, २०५६ मा कांग्रेसको बहुमतको सरकार बनाउँन लाग्दा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नोनालाई मन्त्री बन्न कर गर्दै मन्त्रालय रोज्न अनुरोध गर्दा पनि उनको जवाफ थियो, ‘म मन्त्री बन्दिन, पार्टीको काममै रमाएकी छु ।’ यस्ता मानिस हिजोआज कति भेटिएलान् ?

नोना भाउजुमा श्रध्दा शुमन- जय नेपाल !

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3d ago
एक अनासक्त क्रान्तिकारी

एक अनासक्त क्रान्तिकारी

एउटा जमाना यस्तो पनि थियो- सामान्य मानिसहरू ‘खबर कागज’ वा ‘अखबार’ भनेको ‘गोरखा पत्र’ भन्थे, ‘टूथपेस्ट’ भनेको ‘कोलगेट’ भन्थे । हिजोआज धेरैले युवाको अर्थमा जेञ्जी भन्छन्: हामी पनि जेञ्जी हुँदा यस्ता ...

#जेञ्जी #भन्थे #जमाना
Compare →

Related Stories

World News
Build #2611