Trending
Prev Story
Next Story

रिग्मो गाउँका कष्ट : शिक्षा-स्वास्थ्यमा छैन सहजता, सधैं सडककै सास्ती

Onlinekhabar •
November 09, 2026 • 12:31 PM
1
1 reads 0 reactions

२३ कात्तिक, डोल्पा । डोल्पाको शे-फोक्सुण्डो ताल (३६३९ मि.) नजिकै दक्षितणतर्फ छ, रिग्मो गाउँ । ढुंगा र काठले बनेका परम्परागत घरहरू छन् । हिमाली संस्कृति र निलो तालसँगै रिग्मो गाउँ पनि पर्यटकको आँखामा पर्छ । …

रिग्मो गाउँका कष्ट : शिक्षा-स्वास्थ्यमा छैन सहजता, सधैं सडककै सास्ती

२३ कात्तिक, डोल्पा । डोल्पाको शे-फोक्सुण्डो ताल (३६३९ मि.) नजिकै दक्षितणतर्फ छ, रिग्मो गाउँ । ढुंगा र काठले बनेका परम्परागत घरहरू छन् । हिमाली संस्कृति र निलो तालसँगै रिग्मो गाउँ पनि पर्यटकको आँखामा पर्छ । घरहरूमा रेष्टुरेन्ट र होमस्टे छन् । पर्यटकका कारण चहलपहल र रमाइलो हुन्छ ।

तर तालको आडैमा रहेको यो रिग्मो गाउँका स्थानीयका दुःख भने अर्कै छन् । रिग्मो प्रवेश गर्ने बित्तिकै भेटिइन् पेम्बा डोल्मा गुरुङ (६२) ।

‘सर औषधि छ ? यहाँ औषधि पाइएन । तेल लगाएर पनि भएन । औषधि दिनु होला,’ स्थानीय लवजमा हातको औँला देखाउँदै उनले समस्या सुनाइन् । उनको घर नजिकै आधारभूत स्वास्थ्य सेवा केन्द्र छ । तर दशैंको बिदाका कारण खुलेको थिएन । खुले पनि औषधि नपाइने गुनासो उनले गरिन् ।

गत चैतमा रिग्मो गाउँका चुपुर लामा (६५) बिरामी परे । सदरमुकामा दुनैबाट जिपमा सुर्खेतसम्म र सुर्खेतबाट काठमाडौं जहाजमा आउनु पर्‍यो । ‘यहाँ उपचार हुँदैन । छाती र पेट दुखेको सामान्य औषधि हुन्छ । घुँडामा समस्या भएपछि उपचार गर्न काठमडौं गएको हो । तर अस्पताल पुग्न नै ठूलो खर्च लाग्यो,’ उनले भने ।

शे-फोक्सुण्डो गाउँपालिकाको वडा नम्बर-८ मा पर्छ यो गाउँ । वडाध्यक्ष निमा लामाको घर पनि रिग्मोमै छ ।

वडाध्यक्ष लामाका अनुसार जटिल बिरामी वा दुर्घटना हुँदा हेलिकप्टर नै बोलाउनु पर्ने बाध्यता स्थानीयको छ ।

‘जटिल बिरामी हुँदा सदरमुकाम दुनै जाने हो । दुनैमा पनि भएन भने काठमाडौं जानुपर्छ,’ उनले भने, ‘सडक छैन । यहाँ गाडी आउँदैन । हेलिकप्टरबाट अस्पताल पुर्‍याउन मात्र १०-१२ लाख खर्च हुन्छ ।’

संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हकमा राखेको छ । संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हकको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने भनिएको छ ।

तर यहाँका स्थानीय आधारभूत स्वासथ्य सेवाबाट नै वञ्चित छन् । ‘गर्भवती महिलालाई पनि समस्या छ । हेलीबाट लैजाने गरेको छ । गाह्रो भइसकेको हुन्छ । अस्पताल पुग्न ढिला हुन्छ,’ स्थानीय शिक्षिका सेरापलामू रोकायले भनिन् ।

सदरमुकाम दुनैबाट दुई दिन हिँडेपछि रिग्मो पुगिन्छ । सडक यातायात सुविधा नभएका कारण बिरामीलाई समयमा अस्पताल पुर्‍याउन कठिन भएको स्थानीयले सुनाए ।

संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हकको उपधारा ३ मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भनिएको छ ।

तर, डोल्पाली भने स्वास्थ्य सेवाको पहुँचमा अझै जोडिन सकेका छैनन् । ‘पैसा हुनेले हेलीमा लैजान्छन् । नहुनेले ज्यान गुमाउनु पर्छ,’ वडाध्यक्ष लामाले भने । उनका अनुसार बिरामीको उद्धारमा डोको र स्ट्रेचरको प्रयोग गर्नुपर्ने बाध्यता छ ।

मुलतः शे-फोक्सुण्डो गाउँपालिका सडक सञ्जालमा नजोडिएकाले समस्या भएको उनले बताए । ‘दुनै-सुलिगाडदेखि नै बाटो छैन । सडकको लागि पहल गरेको हो । प्रदेश र केन्द्र सरकारलाई बारम्बार भन्दा पनि सुनुवाइ भएको छैन,’ वडाध्यक्ष लामाले भने, ‘यहाँ आइपुग्न धेरै कठिन छ ।’

भीमकाय पहाड छिचोल्दै रिग्मो पुग्नुपर्छ । यहाँको यातायात भन्नु नै खच्चड हो । खाद्यन्नको ढुवानी र हिँड्न नसक्नेलाई खच्चडले बोकेर गन्तव्यसम्म पुर्‍याइन्छ ।

‘पहिलो प्राथमिकता सुलिगाडदेखि यहाँसम्म सडक चाहिएको छ । आँखा चिम्लेर हिँड्न सक्ने बाटो हुनुपर्छ,’ अध्यक्ष लामाले भने, ‘शे-फोक्सुण्डो ट्रेकिङ आउनेका लागि सहज हुने बाटो आवश्यक छ ।’

रिग्मो गाउँमा छ, गोविन्द आधारभूत विद्यालय । २०१८ सालमा बनेको यो विद्यालयमा अहिले बाल कक्षा (ईसीडी) मात्र चलेको छ । ‘माथिल्लो कक्षामा विद्यार्थी नै छैनन् । दुई घण्टा तल अर्को स्कुल छ त्यहाँ होस्टेलमा बसेर पढ्छन् । यहाँ ईसीडीमा ७ जना विद्यार्थी छन्,’ शिक्षिका सेरापलामू रोकायले भनिन् ।

विद्यार्थी नभएपछि दरबन्दीका शिक्षकलाई अर्को विद्यालयमा व्यवस्थापन गरिएको उनले बताइन् । कतिपयले काठमाडौंमा होस्टेलमा राखेर बालबालिकालाई पढाउने गरेका छन् ।

‘५ कक्षासम्म पढाइ गर्नुपर्ने हो । बल्ल ईसीडीको सुरु भएको छ,’ वडाध्यक्ष लामाले भने, ‘यहाँ शिक्षा, स्वास्थ्य र सडकको समस्या छ ।’

रिग्मो गाउँ कहिलेदेखि बस्यो भन्ने यकिन छैन । तर वडाध्यक्ष लामाका अनुसार गुम्बाको पुस्तक ६ सय वर्ष पहिले भेटिएको छ ।

‘गुम्बाको पुस्तकको आधारमा पनि ६ वर्ष पहिले बस्ती बसेको अनुमान गर्न सकिन्छ,’ उनले भने । शे-फोक्सुण्डो गाउँपालिकाको वडा नम्बर-८ मा ७ सयको हाराहारीमा जनसंख्या रहेको छ ।

त्यसमध्ये रिग्मो गाउँमा ६२ घरधुरीमा ४ सय जनसंख्या रहेको उनले बताए । उनका अनुसार कर्णाली प्रदेश सरकारले रिग्मो बस्ती विकास कार्यक्रम ल्याएको छ ।

२०८२ मा मुख्यमन्त्री यमलाल कँडेलले कार्यक्रमको शुभारम्भ गरेका थिए । तर यो कार्यक्रम द्रुत गतिमा भएको छैन ।

‘४० करोड बजेटमा बस्ती विकास गर्ने भनेर कार्यक्रम आएको छ । सजिलो ठाउँमा तलतल बाटो बनाउन थालेको छ । गाउँको अफ्ठ्यारो बाटोमा काम भएको छैन । काम एकातिर कुम्लोबोकी अर्कोतिर भएको छ,’ वडाध्यक्ष लामाले भने, ‘रिग्मो गाउँमा भने काम भएको छैन ।’

यो कार्यक्रम रिग्मो बस्तीको कला, संस्कृति, र पर्यटनको विकास गर्न ल्याइएको हो । शे-फोक्सुण्डो पदमार्ग बनाउने, सडक विस्तार गर्ने, प्रतीक्षालय बनाउने, रिग्मो संग्राहलयदेखि बस्तीमा तटबन्ध बनाउनेसम्मको योजना रहेको छ ।

‘‎शे-फोक्सुण्डो तालको नजिक रहेको रिग्मो प्राचीन बस्तीलाई संरक्षण गर्ने र पर्यटनको विकास गर्ने योजना हो,’ उनले भने ।

रेग्मो गाउँमा कादुरी संस्थाको सहयोगमा बिजुली उत्पादन गरिएको छ । अध्यक्ष लामाका अनुसार १ अघि ७० करोडको हाराहारीमा बिजुली उत्पादन गरिएको हो । अहिले गाउँमा बत्ति बल्छ तर इन्टरनेट र टेलिफोन टावरको समस्या छ । ‘फोन लाग्छ तर राम्रो छैन । फोरजीको टावरको लागि सरकारसँग अनुरोध गर्छु,’ उनले भने ।

आम्दानीको स्रोत यार्सागुम्बा, खाद्यन्न किन्नु पर्छ

यस क्षेत्रका स्थानीयको आम्दानीको स्रोत यार्सागुम्बा हो । वडाध्यक्ष लामाका अनुसार यो वर्ष यार्साको पनि मूल्य कम भएको छ । ‘अघिल्लो वर्ष २०-३० लाखको यार्सा बेच्नेले यो वर्ष १२-१५ लाखमा बेच्नु पर्‍यो । मूल्य नै आएन,’ उनले भने ।

यही यार्सा बेचेर अन्य खाद्यन्न किनेर चुल्हो बाल्ने गरेको स्थानीय बताउँछन् ।

‘फापर, आलु हुन्छ । वर्षभरि खान पुग्दैन । नुनदेखि तेलसम्म किन्नपर्छ । खच्चडमा बोकेर ल्याउनुपर्छ,’ स्थानीय चुपुर लामाले भने । कृषकले चौंरी, भेडाबाख्रा र खच्चड पालेका हुन्छन् ।

‘यहाँ उत्पादन गरेर वर्षभरी खान पुग्दैन । खाद्यन्न किन्नुको अर्को विकल्प हुँदैन,’ वडाध्यक्ष लामाले भने ।

शे-फोक्सुण्डो अवलोकनका लागि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेपछि तालनजिकै होटल र गाउँमा होमस्टे खोलिएको छ । स्थानीयको आम्दानीको स्रोत बनेको छ ।

‘४ वर्ष यता आन्तरिक पर्यटक आउन थालेका छन् । पहिले कहिलेकाहीँ विदेशी मात्र आइपुग्थे,’ अध्यक्ष लामाले भने, ‘दशैं, तिहारको बिदामा नेपाली धेरै आउँछन् ।’

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ५ हजार ९५ र आर्थिक वर्ष ०८२/८३ मा ७ हजार २३२ पर्यटकले तालको अवलोकन गरेका छन् ।

आर्थिक वर्ष २०८३/८४ को असोजसम्म ७३८ जना पुगेका छन् । शे-फोक्सुण्डो ताल नेपालकै सबैभन्दा गहिरो ताल मानिन्छ । जसका कारण यो ताल आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि एक प्रमुख आकर्षणको केन्द्र बनेको छ । सदरमुकाम दुनैसम्म काठमाडौंदेखि नै सार्वजनिक बस चल्न थालेपछि यो क्षेत्रमा आन्तरिक पर्यटक धेरै जान थालेका हुन् ।

६५ वर्षका चुपुर लामाले बाल्यकालमा वरिपरिका डाँडामा हिउँ नै हिउँ देख्थे । तर, अहिले उनका आँखा अगाडि काला पहाड मात्र देख्छन् ।

‘८-९ वर्ष भयो हिउँ नभएर कालो भएको छ । यो सिजनमा हिउँ परिसक्नु पर्ने हो परेको छैन,’ उनले भने, ‘पहिलो हिमालबाट चिसो आउँथ्यो । अहिले त तातो हुन्छ । अहिलेभन्दा पहिले धेरै राम्रो थियो नि ।’ वडाध्यक्ष लामा ग्लोबल वर्मिङको असर हिमालमा परेको बताउँछन् । ‘मौसम परिवर्तनको असर परेको छ । पहिले जस्तो हिँउ परेको छैन । तापक्रम बढेको छ,’ उनले भने ।

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
भीमफेदी दुर्घटना : १० जनाको मृत्युपछि सर्लाहीको सुन्दरपुर गाउँ शोकमा

भीमफेदी दुर्घटना : १० जनाको मृत्युपछि सर्लाहीको सुन्दरपुर गाउँ शोकमा

सर्लाही, कात्तिक २६ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीबार बिहान भएको इभी हायस गाडी दुर्घटनामा एकै गाउँका १० जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर गाउ...

#गाउँ
Compare →
Nagarik News
1d ago
मकवानपुर ईभी दुर्घटना : छठ मनाउन गाउँ फर्किँदै थिए यात्रु

मकवानपुर ईभी दुर्घटना : छठ मनाउन गाउँ फर्किँदै थिए यात्रु

छठ मनाउन काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेका एकै गाउँका यात्रु सवार विद्युतीय गाडी (इभी) आज बिहान ६ बजेतिर दुर्घटनामा परेको हो।

#गाउँ
Compare →
Ekantipur
2d ago
गाउँको तिहार, परदेशको तिहार

गाउँको तिहार, परदेशको तिहार

विदेशमा बिताएका धेरै वर्षमध्ये तिहारकै दिन टीका लगाउने अवसर एक वर्ष मात्र जुरेको छ। अन्य वर्ष निधार खाली नै रहे ।

#गाउँ
Compare →
Bizshala
9h ago
बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

काठमाण्डौ । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको एउटा गाउँमा पर्यटन व्यवसायले नयाँ जीवन भरेको छ।...

#गाउँ
Compare →

Related Stories

Health & Wellness
Build #2611