इस्मा गाउँपालिका–३ का गोकर्ण नेपालीले तिहारमा तीन सय किलो सयपत्री फूल बेच्ने लक्ष्यसहित प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री गरिरहेका छन्।
गुल्मी — गुल्मीका युवा किसान गोकर्ण नेपाली फूलको ब्यापारबाट उत्साहित छन् । जिल्लाकाे इस्मा गाउँपालिका-३ मा व्यावसायिक फूल खेती गरेका उनी यसपटक तिहारमा फूल बेच्न भ्याइनभ्याई छ ।
व्यावसायिक घाँस खेतीकाे अलावा नेपालीले पाँच राेपनी क्षेत्रफलमा तीन प्रजातिका सयपत्री फूल खेती गरेका छन् । यसपटक तीन सय किलोग्राम फूल बेच्ने उनलेे प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री गरिरहेका छन् ।
हालसम्म ७० किलो भन्दा बढी फूल बिक्री भइसकेको छ भने यसको झण्डै दोब्बर माग भइरहेको छ । तिहारका लागि फूल बिक्री राम्रो भइरहेको किसान नेपालीको भनाइ छ ।
स्थानीय स्तरमै बढी खपत हुने उक्त फूल उनले फाेन सम्पर्ककै भरमा अर्डर गरेकै स्थानमा पुर्याउँदै आएका छन् । 'फूल खेतीसँगै ब्यापारबाट उत्साहित छु', नेपालीले भने, 'बजारको कुनै समस्या छैन, जिल्लाभित्रै खपत छ ।' उनले मागअनुसार विभिन्न ठाउँमा फूल पुर्याउँदै आएको बताए । उनले तिहारसँग अन्य औपचारिक कार्यक्रमहरुमा पनि फूलको माग भइरहेको बताए ।
विगत केही वर्षदेखि व्यावसायिक घाँस खेती गरेका उनले बिदेशबाट फर्केर व्यावसायिक कृषिमा लागेका थिए। युवा उमेरका गोकर्ण सामाजिक अभियान्ताका रुपमा पनि चिनिएका छन् । उनले विभिन्न प्रजातिका घाँस, कफी, सुन्तला र कागतीका बिरुवा खेती व्यापक रुपमा गर्दै आएका छन् ।
गुल्मीमा व्यावसायिक रुपमा फूल खेती बढ्दै गएको छ भने प्लास्टिक फूल लगभग अन्त्य भइसकेको अवस्था छ ।