Trending
Prev Story
Next Story

गुल्मीमा असिना पानीले धानबालीमा क्षति

Onlinekhabar •
November 13, 2026 • 01:30 AM
1
1 reads 0 reactions

२७ कात्ति, गुल्मी । धान भित्र्याउने तयारीमा रहेका गुल्मीका किसानलाई तिहारको भाइटीकाको दिन परेको असिनापानीले निराश बनाएको छ । असिनापानीका कारण जिल्लाको इस्मा गाउँपालिका–१ भराह, गुर्वामा पाक्न लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । गुर्वामा मात्रै …

गुल्मीमा असिना पानीले धानबालीमा क्षति

२७ कात्ति, गुल्मी । धान भित्र्याउने तयारीमा रहेका गुल्मीका किसानलाई तिहारको भाइटीकाको दिन परेको असिनापानीले निराश बनाएको छ । असिनापानीका कारण जिल्लाको इस्मा गाउँपालिका–१ भराह, गुर्वामा पाक्न लागेको धानबालीमा ठूलो क्षति पुगेको छ ।

गुर्वामा मात्रै एकै ठाउँमा करिब ४ सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा असिनापानीले क्षति पुर्‍याएको हो । असिनापानीका कारण खेतमा पाक्न लागेको धान झरेपछि किसानहरू चिन्तित बनेका छन् ।

स्थानीय कृषक पदम खत्रीले मात्रै करिब १ सय रोपनी क्षेत्रफलमा लगाएको धान असिनाले क्षति पुर्‍याएको छ । केही दिनमै धान काटेर भित्र्याउने तयारीमा रहेका खत्रीको वर्षभरिको मेहनत असिनापानीले प्रभावित बनाएको बताए ।

उनले आफनो र अरुको जग्गा समेत भाडामा लिएर धान उत्पादन गर्दै आएका छन् । धान उत्पादन राम्रो भएपनि अन्तिम समयमा परेको असिना पानीले ठूलो क्षती गरेका बताए ।

यस वर्ष धान उत्पादन राम्रो हुने अपेक्षा गरिएको भए पनि असिनापानीले पाक्न लागेको धान झारिदिएपछि उत्पादनमा असर पर्ने कृषक खत्रीले बताए । धान राम्रो फलेको अवस्थामा असिनापानी परेर क्षति पु¥याउँदा आफूहरूलाई ठूलो नोक्सानी भएको उनको भनाइ छ ।

गुर्वामा मात्रै नभई असिनापानीले जिल्लाका अन्य स्थानमा समेत धानबालीमा क्षति पुर्‍याएको छ । गुल्मीमा तिहार पर्व सकिएसँगै किसानहरू धान काट्ने र भित्र्याउने चटारोमा जुट्न थालेका छन् ।

जिल्लाका विभिन्न फाँटमा धान पाकेर पहेँलपुर भएका छन् । तर धान भित्र्याउने समयमा परेको असिनापानीले किसानको वर्षभरिको मेहनतमा असर पुर्‍याएको छ । प्राकृतिक विपत्तिका कारण भित्र्याउने बेलाको बालीमा क्षति हुँदा किसानलाई आर्थिक नोक्सानीसँगै खाद्यान्न उत्पादनमा समेत असर पर्ने देखिएको छ ।

कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार जिल्लामा कुल ९ हजार १५३ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । त्यसमध्ये ४ सय ४५ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिँदै आएको छ ।

जिल्लाका किसानहरूले विभिन्न स्थानीय तथा उन्नत जातका धान खेती गर्दै आएका छन् । गुल्मीमा रामधान, खुमल चार, खुमल ६, खुमल १०, हंसराज, मकवानपुर १, खुमल ८, हर्दिनाथ, आँप झोते, जडन र लामे जातका धान बढी लगाउने गरिएको छ ।

त्यसैगरी हाइब्रिड जाततर्फ च्याम्पियन, शंकर र उपजलगायतका धानका जातसमेत किसानले खेती गर्दै आएका छन् । धान खेतीका लागि जिल्लामा सिँचाइको अवस्था भने अझै पूर्ण रूपमा सहज छैन ।

जिल्लामा ३ हजार ६ सय २६ हेक्टर क्षेत्रफलमा वर्षभरि नै सिँचाइको सुविधा रहेको छ भने ६ हजार ६ सय ९० हेक्टर क्षेत्रफल खेतमा आंशिक सिँचाइको व्यवस्था रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । सिँचाइको सीमित सुविधाका कारण धेरै किसान अझै पनि आकाशे पानीमा निर्भर रहनुपर्ने अवस्था छ ।

गुल्मीका सबै स्थानीय तहमा धान उत्पादन हुने गरेको भए पनि जिल्लाका केही क्षेत्र धान खेतीका लागि विशेष रूपमा चिनिन्छन् । इस्मा गाउँपालिकाको छल्दी र चौरासी क्षेत्र, धुर्कोटका विभिन्न क्षेत्र, मालिका गाउँपालिकाको अर्जेबेसी, मुसिकोटका विभिन्न फाँट तथा सत्यवती र चन्द्रकोट गाउँपालिकाका ठूला फाँटहरू जिल्लाका प्रमुख धान उत्पादन क्षेत्रका रूपमा परिचित छन् ।

यी क्षेत्रहरूमा धान खेती किसानको जीविकोपार्जन र स्थानीय खाद्यान्न आपूर्तिको महत्त्वपूर्ण आधार बनेको छ । विशेषगरी फाँट क्षेत्रमा पर्याप्त धान उत्पादन हुने भएकाले किसानहरू वर्षायाममा धान रोपाइँदेखि शरद ऋतुमा धान भित्र्याउने समयसम्म खेतीपातीमै व्यस्त हुने गरेका छन् ।

यस वर्ष पाक्न लागेको धानमा असिनापानीले क्षति पुर्‍याएपछि किसान थप चिन्तित बनेका छन् । उत्पादन राम्रो हुने अपेक्षा गरिएका बेला प्राकृतिक विपत्तिले क्षति पुर्‍याउँदा किसानको आम्दानीमा समेत असर पर्ने देखिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
असिना पानीले धानबालीमा क्षति

असिना पानीले धानबालीमा क्षति

भोजपुर । जिल्लाका विभिन्न ठाउँमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ । धान भित्र्याउने समयमा एक्कासि असिना पानी परेपछि किसान समस्यामा परेका हुन् ...

#क्षति #धानबाली #असिना
Compare →
Nagarik News
1d ago
असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति

असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति

जिल्लाका विभिन्न स्थानमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ।

#क्षति #धानबाली #असिना
Compare →
Ekantipur
4d ago
गुल्मीका गोकर्णले पाँच रोपनीमा फलाए तीन सय केजी सयपत्री, बजारको समस्या छैन

गुल्मीका गोकर्णले पाँच रोपनीमा फलाए तीन सय केजी सयपत्री, बजारको समस्या छैन

इस्मा गाउँपालिका–३ का गोकर्ण नेपालीले तिहारमा तीन सय किलो सयपत्री फूल बेच्ने लक्ष्यसहित प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री गरिरहेका छन्।

#गुल्मी
Compare →

Related Stories

Business & Economy
Build #2611