पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–४ का हरिबहादुर बुढा र जाजरकोटको बारेकोट–१ का यज्ञ विक छन् । योसँगै फरार आठ कैदीमध्ये पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।
सुर्खेत — डोल्पा कारागारबाट फरार भएका कैदीमध्ये थप दुई जना पक्राउ परेका छन् । आइतबार साँझ त्रिपुरासुन्दरी नगरपालिका–४ रंगगाउँभन्दा माथिको जंगलबाट उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–४ का हरिबहादुर बुढा र जाजरकोटको बारेकोट–१ का यज्ञ विक छन् । योसँगै फरार आठ कैदीमध्ये पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।
गत कात्तिक १४ गते बिहान ठूलीभेरी–३ दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदी सुरुङ खनेर फरार भएका थिए । कारागारको सुरक्षा ट्यांकीबाट करिब साढे तीन मिटर लामो सुरुङ खनेर उनीहरू भागेका थिए ।
फरार भएकामध्ये पाँच जना जबर्जस्ती करणी र तीन जना चोरी मुद्दामा कैद भुक्तान गरिरहेका थिए । प्रहरीले बाँकी दुई जनाको खोजी जारी राखेको जनाएको छ ।
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।