तिहारको झिलिमिली साँझ । घरको ढोकामा टल्किरहेका दियो, आँगनभरि फूलको सुगन्ध, देउसी-भैलोको मधुर धुन ।
यही रौनकमा जब रंगीबिरंगी रंगोलीले घरको आँगन सजिन्छ, तिहारको उत्सव अझ विशेष बन्छ ।
तिहारमा घर सजाउनु भनेको बत्ती बाल्नु मात्र होइन, शुभताको स्वागत गर्नु पनि हो ।
घरको मूलढोका वा आँगनमा बनाइने रंगोलीलाई सुख, समृद्धि र सौभाग्यको प्रतीक मानिन्छ । त्यसैले, तिहारमा रंगोली बनाउने चलन पछिल्लो समय गाउँदेखि सहरसम्म फैलिएको छ ।
रंगोली सजावट मात्र होइन, यो हाम्रो धार्मिक आस्था, सांस्कृतिक परम्परा र सिर्जनात्मक अभिव्यक्तिको संगम पनि हो । चामलको पीठोबाट बनाइने स्वस्तिकदेखि विभिन्न देवीदेवताका आकृतिसम्म, रंगोलीका अनेक रूप छन् ।
रंगोलीको धार्मिक र सांस्कृतिक महत्त्व
हाम्रो समाजमा कुनै पनि शुभकार्य गर्नुअघि चामलको पीठोबाट स्वस्तिक वा अन्य शुभ आकृति बनाउने परम्परा छ । यसले घरमा शुभकार्य भइरहेको संकेत गर्छ ।
रंगोलीलाई पनि यस्तै शुभताको प्रतीकका रूपमा लिइन्छ । धार्मिक तथा आध्यात्मिक कार्यमा यसको विशेष महत्त्व छ । हवन वा यज्ञका बेला रंगोली बनाउने चलन पनि यसैसँग जोडिएको छ ।
रंगोलीको अर्को नाम अल्पना पनि हो । अल्पना वात्स्यायनको ‘कामसूत्र’मा वर्णित चौसठी कलामध्ये एक मानिन्छ । यो प्राचीन लोककलाको एउटा रूप हो ।
पहिले घरमा कलात्मक चित्र र आकृति बनाउँदा धन, ऐश्वर्य र समृद्धि भित्रिने विश्वास गरिन्थ्यो ।
घर–आँगन लिपपोत गरेर रंगोली बनाउनु भूमि शुद्धीकरण र समृद्धिको आह्वानसँग जोडिएको छ । यसको सांकेतिक अर्थ जीवनलाई रंगीन बनाउनु पनि हो ।
शरीर नश्वर छ भन्ने जान्दाजान्दै जीवनलाई सुन्दर र उत्सवमय बनाउनुपर्छ भन्ने सन्देश रंगोलीले दिन्छ ।
तिहार उज्यालो र रंगको पर्व हो । दियोको प्रकाश, फूलमालाको सुगन्ध, सेलरोटीको स्वाद र देउसी–भैलोको धुनले घर–आँगनमा उत्सवको माहोल बनाउँछन् । त्यसमाथि रंगोलीले घरको शोभा थप्छ ।
विगतमा रंगोली बनाउने चलन मुख्यतः सहरी क्षेत्रमा सीमित थियो । तर पछिल्ला वर्षमा गाउँघरमा पनि तिहारका बेला रंगोली बनाउने चलन बढेको छ । अहिले घरको मूलढोका, आँगन र पूजास्थलमा विभिन्न डिजाइनका रंगोली बनाउने गरिन्छ ।
तिहारमा रंगोली बनाउँदा स्वस्तिक, गणेश वा अन्य देवीदेवताका आकृति रोज्न सकिन्छ । साधारण ज्यामितीय आकारदेखि फूल, मयुर र आकर्षक अमूर्त डिजाइनसम्म रंगोलीका अनेक विकल्प छन् ।
रंगोली बनाउन सिन्दुर, चामलको पीठो, विभिन्न रंगका धुलो, रंगीन चामल वा फूल प्रयोग गर्न सकिन्छ । रंगोलीको बीचमा वा कुनामा दियो बाल्दा यसको सौन्दर्य अझ बढ्छ । सयपत्री फूलले सजाउँदा तिहारको रौनक थपिन्छ ।
परम्परागत रंगोली चामलको पीठो वा सेतो चकको धुलोबाट बनाउन सकिन्छ । रेखा र थोप्लाको संयोजनबाट तयार हुने यस्तो डिजाइन सरल र आकर्षक हुन्छ ।
रंग उपलब्ध नभए पनि सेतो रंगको प्रयोगबाट सुन्दर रंगोली बनाउन सकिन्छ ।
पाहुनालाई आकर्षित गर्ने रंगोली बनाउन चाहनुहुन्छ भने अमूर्त डिजाइन रोज्न सकिन्छ । चम्किला रंगको प्रयोग गरी फूल, घुमाउरा रेखा तथा विभिन्न आकृति मिसाएर यस्तो रंगोली बनाइन्छ ।
ठूलो फूल र त्यसको वरिपरि फैलिएका रंगले यसलाई आकर्षक बनाउँछन् ।
धार्मिक आस्थासँग जोडिएको रंगोलीमा आफ्नो रोजाइका देवीदेवताका आकृति बनाउन सकिन्छ । तिहारमा भगवान गणेशको आकृति बढी लोकप्रिय हुन्छ ।
तर आफ्नो आस्था र रुचिअनुसार अन्य देवीदेवताका चित्र पनि बनाउन सकिन्छ ।
रंगोली बनाउन धेरै समय वा ठाउँ छैन भने सरल डिजाइन उपयुक्त हुन्छ । चकको धुलो वा रंगको सहायताले हातैले साना फूल, गोलाकार वा अन्य सामान्य आकृति बनाउन सकिन्छ ।
यस्तो रंगोली कम ठाउँमा पनि सुन्दर देखिन्छ ।
रंगको धुलो प्रयोग गर्न कठिन लाग्छ भने फूलबाट रंगोली बनाउन सकिन्छ । सयपत्री, मखमलीलगायत विभिन्न रंगका फूल प्रयोग गरेर आकर्षक प्याटर्न तयार गर्न सकिन्छ । फूलको प्राकृतिक रंग र सुगन्धले घर–आँगनलाई अझ सुन्दर बनाउँछ ।
रेखा, वृत्त, त्रिभुज र अन्य ज्यामितीय आकारको संयोजनबाट बनाइने रंगोली आधुनिक र आकर्षक देखिन्छ । यसमा विभिन्न रंगको प्रयोगसँगै दियो राख्दा डिजाइन अझ मनमोहक हुन्छ ।
भव्य र फरक शैलीको रंगोली बनाउन मोती, पोते तथा रंगीन स्टोन प्रयोग गर्न सकिन्छ । पहिले एउटा प्याटर्न तयार गर्ने र त्यसमा रंग भरेपछि मोती तथा स्टोनले सजाउन सकिन्छ । यस्तो रंगोलीले घरको सजावटलाई विशेष बनाउँछ ।
चामललाई विभिन्न रंगमा भिजाएर वा रंग मिसाएर रंगीन चामल तयार गर्न सकिन्छ । त्यसबाट विभिन्न आकृति र डिजाइन बनाइन्छ । चामललाई शुभ मानिने भएकाले तिहारमा यसको प्रयोग विशेष अर्थपूर्ण हुन्छ ।
रंगीन चामलबाट गणेशको आकृति पनि बनाउन सकिन्छ ।
घरको आँगन सानो छ वा धेरै ठाउँ छैन भने बोर्डर रंगोली उपयुक्त हुन्छ । मूलढोकाको वरिपरि वा भुइँमा रंगीन रेखा र फूलका डिजाइन बनाएर घर सजाउन सकिन्छ ।
यसमा दियो राख्दा तिहारको माहोल झन् आकर्षक देखिन्छ ।
मयुरलाई हिन्दू धर्ममा शुभताको रुपमा लिइन्छ । यसको सुन्दर प्वाँख र रंगीन स्वरूपका कारण तिहारमा मयुरको डिजाइन लोकप्रिय छ । चम्किला रंग र ज्यामितीय आकारको संयोजनबाट मयुरको आकर्षक आकृति बनाउन सकिन्छ ।
तिहारमा रंगोली बनाउन ठूलो ठाउँ वा महँगो सामग्री नै चाहिन्छ भन्ने छैन । थोरै रंग, केही फूल र सिर्जनात्मक सोचले घरको मूलढोकालाई उत्सवमय बनाउन सकिन्छ ।
परम्पराको सम्मान गर्दै आफ्नै शैलीमा बनाइएको रंगोलीले तिहारको खुसीलाई अझ रंगीन बनाउँछ ।