बान्धवगढ बाघ आरक्षकी डोटीको भरखरै मृत्यु भयो तर गुमनाम होइन । उनको अवसान भए पनि उनले हुर्काएको पुस्ता र आहार शृंखलाको सन्तुलन कायम राख्न बाघको भूमिका बान्धवगढको जंगलमा निरन्तर रहिरहनेछ ।
काठमाडौँ — सबै बाघको मृत्यु समाचार बन्दैन । तर केही बाघ यस्ता हुन्छन्, जसको कथा जंगलको सीमाभन्दा बाहिर पनि पुग्छ । उनीहरू पर्यटकका क्यामरामा कैद हुन्छन्, वन्यजन्तुप्रेमीका स्मृतिमा बस्छन् र आफ्ना सन्तानमार्फत जंगलमा वर्चस्वको विरासत छाड्छन् ।
भारतको मध्यप्रदेशस्थित बान्धवगढ बाघ आरक्षकी डोटी त्यस्तै बघिनी थिइन् ।
निधारमा अंग्रेजी अक्षर ‘डी’ जस्तो देखिने प्राकृतिक चिह्न, सफारीका गाडी देख्दा पनि नडराउने स्वभाव र आफ्ना सन्तानमार्फत बाघको पुस्ता विस्तारमा पुर्याएको योगदानले उनलाई चर्चित बनायो ।
तर जीवनको उत्तरार्धमा आफ्नै छोरीहरूबाट पुरानो क्षेत्र छाड्न बाध्य भएर नयाँ बासस्थान रोजेकी डोटीको गत शुक्रबार मृत्यु भयो । उनको शव मानपुर बफर रेन्जअन्तर्गत माझखेटा क्षेत्रमा भेटिएको थियो । उनी बान्धवगढका चर्चित तथा शक्तिशाली भाले बाघमध्ये एक डी–वनकी आमा हुन् ।
वन विभागको प्रारम्भिक अनुसन्धान र शव परीक्षणअनुसार उनको मृत्यु प्राकृतिक कारणले भएको अनुमान गरिएको छ । वृद्धावस्थाका कारण मृत्यु भएको हुन सक्ने अधिकारीहरूको भनाइ छ । घटनास्थलमा कुकुरसहितको अनुसन्धान टोली खटिए पनि शंकास्पद गतिविधि वा चोरीसिकारसँग सम्बन्धित कुनै प्रमाण फेला परेन । प्रारम्भिक जाँचमा अर्को बाघसँगको भिडन्तका कारण मृत्यु भएको संकेत पनि भेटिएन ।
आरक्षका फिल्ड डाइरेक्टर अनुपम सहायका अनुसार डोटी सन् २०१२ तिर बान्धवगढ बाघ आरक्षको मगधी क्षेत्रमा जन्मिएकी थिइन् । उनी चर्चित बघिनी सुखी पतिहा र निलो आँखा भएको भाले बाघ ‘ब्लु आइज’की सन्तान हुन्। अर्की चर्चित बघिनी स्पटी (टी–४१) उनकी सहोदर बहिनी हुन् ।
डोटीले आफ्नो जीवनकालमा पटक–पटक डमरु जन्माएर हुर्काइन् । मगधी र आसपासका क्षेत्रमा उनका सन्तानले बलियो क्षेत्र स्थापित गरेका छन् । सफारीमा प्रयोग हुने जिप र ठूला पर्यटकीय गाडी देख्दा पनि उनी विचलित हुँदैन थिइन् । उनको आकर्षक रूप र पर्यटकले सहजै देख्न सक्ने स्वभावका कारण उनी वन्यजन्तु फोटोग्राफर तथा पर्यटकमाझ लोकप्रिय बनेकी थिइन् ।
तर जीवनको उत्तरार्धमा उनका दिन पहिलेझैं सहज रहेनन् । आफ्नै वयस्क छोरीहरूले पुरानो क्षेत्रबाट विस्थापित गरेपछि उनले नयाँ बासस्थान खोज्नुपर्यो । छोरीहरूको दबदबा बढ्दै गएपछि डोटी टाला क्षेत्र हुँदै मानपुर बफर रेन्जमा पुगिन् र त्यहीँ नयाँ बासस्थान बनाइन् ।
डोटीले करिब १५–१६ महिनाअघि थप दुई डमरु जन्माएकी थिइन् । ती अहिले बान्धवगढको जंगलमा घुमिरहेका छन् र जंगलमा बाँच्न आवश्यक व्यवहार सिक्दै छन् । आरक्ष प्रशासनले उनीहरू सुरक्षित रहून् भन्ने उद्देश्यले तिनको गतिविधि र व्यवहारलाई नजिकबाट निगरानी गरिरहेको छ ।
उनका हुर्किसकेका सन्तानले भने मगधी र आसपासका क्षेत्रमा आफ्नो क्षेत्र स्थापित गरिसकेका छन् । डोटीको सन्तान डी–वन आरक्षकै चर्चित भाले बाघमध्ये एक बनेको छ । उसलाई हेर्न ठूलो संख्यामा पर्यटक बान्धवगढ पुग्ने गर्छन् ।
मनसुनका कारण रोकिएको कोर क्षेत्रको सफारी पुनः सुरु भएपछि पर्यटकले डी–वनलाई नियमित रूपमा देख्न पाइरहेका छन्। यही बाघले केही दिनअघि एक पुजारीलाई मारेको थियो ।
बाघको शरीर वा अनुहारमा भएका विशिष्ट चिह्नका आधारमा तिनको पहिचान र नामकरण गरिन्छ । डोटीको आधिकारिक पहिचान टी–१७ भए पनि उनको निधारको दाहिनेतर्फ अंग्रेजी अक्षर ‘डी’ वा थोप्लोजस्तो देखिने प्राकृतिक चिह्न थियो । त्यही चिह्नका कारण पर्यटक र गाइडहरूले उनलाई ‘डोटी’ नाम दिएका थिए ।
निडर स्वभाव, आकर्षक रूप र सफारीका क्रममा सहजै देख्न सकिने विशेषताले डोटीलाई बान्धवगढका चर्चित बघिनीमध्ये एक बनाएको थियो । उनका तस्बिर वन्यजन्तुप्रेमी र फोटोग्राफरका लागि विशेष आकर्षण बनेका थिए ।
मध्यप्रदेशको उमरिया जिल्लामा रहेको बान्धवगढ राष्ट्रिय निकुञ्ज सन् १९९३ मा बाघ आरक्ष बनेको हो । यसको मुख्य क्षेत्र अर्थात् कोर एरिया ७१६ वर्ग किलोमिटरमा फैलिएको छ । वन्यजन्तु विविधताका दृष्टिले समृद्ध यो आरक्ष भारतमा बाघको घनत्व उच्च भएका क्षेत्रमध्ये एक हो ।
यहाँका घाँसेमैदान र बाँसका वनका कारण बाघलाई अन्य धेरै निकुञ्जको तुलनामा सहजै देख्न सकिन्छ । बान्धवगढका केही बाघ आफ्नो विशिष्ट पहिचान, स्वभाव र जीवनकथाका कारण निकै चर्चित छन् । तिनको वर्चस्व, आपसी प्रतिस्पर्धा र सन्तानको विस्तारले आरक्षको बाघ इतिहासलाई रोचक बनाएको छ ।
हात्ती र पर्यटकलाई झम्टिएजस्तो गरेर तर्साउने स्वभावका कारण ‘चार्जर’ नाम पाएको भाले बाघ सन् १९९० को दशकमा बान्धवगढको शक्तिशाली बाघका रूपमा स्थापित भएको थियो । विश्वमै सबैभन्दा धेरै तस्बिर खिचिएका बाघमध्ये एक मानिने चार्जर नेसनल जियोग्राफिक पत्रिकाको आवरणमा समेत छापिएको थियो ।
त्यतिबेला क्षेत्रमा वर्चस्व जमाइरहेको ‘बाँका’ नामको भाले बाघसँग चार्जरको लगातार केही रातसम्म भिडन्त भएको थियो । त्यसपछि चार्जरले बाँकालाई विस्थापित गर्दै आफ्नो क्षेत्र कायम गर्यो ।
चार्जरले आफ्नी जोडी ‘सीता’सँग मिलेर सन् १९९१ देखि १९९९ सम्म उक्त क्षेत्रमा वर्चस्व कायम राख्यो । अहिले बान्धवगढमा रहेका धेरै बाघको वंश चार्जर र सीतासँग जोडिन्छ ।
सीताको मृत्यु चोरीसिकारका क्रममा लागेको चोटका कारण भएको थियो । चार्जरको भने सन् २००० मा वृद्धावस्थाका कारण मृत्यु भयो। मृत्युपछि उसलाई अहिले ‘चार्जर पोइन्ट’ भनेर चिनिने स्थानमा गाडिएको थियो ।
बी–२ चार्जर र सीताको सन्तान थियो । आफ्नो क्षेत्र कायम गर्ने क्रममा उसले आफ्नै बाबुसँग भिडन्त गर्यो । सन् २००४ देखि २००७ सम्म बान्धवगढमा प्रभुत्व जमाएको बी–२ आरक्षका शक्तिशाली बाघमध्ये एक बन्यो ।
बी–२ लाई गाडीका आवाज र कोलाहल मन पर्दैनथ्यो । त्यस्ता आवाज निकाल्ने गाडीलाई उसले पटकपटक झम्टिने गरेको बताइन्छ । वृद्धावस्थामा अर्को भाले बाघसँगको भिडन्तमा ऊ गम्भीर घाइते भयो । उपचारका लागि लैजाँदै गर्दा उसको मृत्यु भयो ।
उसका दाजुभाइ बी–१ र बी–३ ले बी–२ को क्षेत्रबाहिरका इलाकामा आफ्नो क्षेत्र कायम गरेका थिए । तर उनीहरूले बी–२ लाई चुनौती दिन सकेनन् । पछि बी–१ को मृत्यु करेन्ट लागेर भयो भने बी–३ चोरीसिकारको सिकार बन्यो ।
चार्जर र सीताका अन्य सन्तानमा लङ्गरु पनि थियो । खुट्टामा समस्या भएका कारण उसको हिँडाइ सहज थिएन । प्यारी, रेश्मा र मोहिनी पनि उनीहरूकै सन्तान थिए ।
मोहिनीको शरीरमा आकर्षक धर्सा र चिह्नहरू थिए । उसले ‘महामन’ नामको भाले बाघसँग संसर्ग गरी डमरु जन्माएकी थिई । सवारीसाधनसँग भएको दुर्घटनामा लागेको चोटका कारण मोहिनीको मृत्यु भएको थियो ।
बी–२ बाट जन्मिएको बमेरा सिद्धबाबा क्षेत्रकी एक बघिनीतर्फको सन्तान थियो । सन् २००८ मा पहिलोपटक आरक्षमा देखिएको बमेरा, बी–२ को वर्चस्व समाप्त भएपछि बान्धवगढको प्रभावशाली भाले बाघका रूपमा स्थापित भयो ।
बमेरा निकुञ्जका चर्चित बाघमध्ये एक थियो । सफारीमा जाने पर्यटकले उसलाई देख्ने सम्भावना तुलनात्मक रूपमा बढी हुने गर्थ्यो । उसको उपस्थितिले बान्धवगढको बाघ अवलोकनलाई थप आकर्षक बनाएको थियो ।
बान्धवगढ बाघ आरक्षको मगधी क्षेत्रमा बोखाले वर्चस्व जमाएको थियो । सफारीमा जाने पर्यटकहरूले यस क्षेत्रमा उसका ठूला पन्जाका छाप देखेको बताउने गरेका छन् । अर्को बाघसँगको भिडन्तमा एउटा दाँत भाँचिएपछि उसको नाम ‘बोखा’ राखियो । उसले टाला क्षेत्रको बी-२ सँग पटकपटक भिडन्त गरेको थियो ।
टाला क्षेत्रकी निडर बघिनी स्पटीको दाहिने आँखामाथि अंग्रेजी अक्षर ‘टी’ जस्तो देखिने चिह्न छ । त्यही चिह्नका आधारमा उनको नाम ‘स्पटी’ राखिएको हो । उनी ‘ब्लु आइज’ नामको भाले बाघ र ‘सुखी पतिहा’ नामकी बघिनीकी छोरी हुन् । यी दुवै चार्जरका वंशज थिए ।
स्पटीले तीनवटा पोथी डमरु हुर्काएकी थिइन् । ती अहिले वयस्क भइसकेका छन् र आफ्नै क्षेत्रतर्फ लागेका छन् । उनका जोडीदार मंगु टाला क्षेत्रको वर्चस्वशाली भाले बाघ हुन् ।
स्पटीले आफ्नी बहिनी डोटीसँगै उक्त क्षेत्रमा बासस्थान साझा गरेकी थिइन् । डोटीको निधारको दाहिनेपट्टि अंग्रेजी अक्षर ‘डी’ जस्तो देखिने प्राकृतिक चिह्न थियो । यही चिह्नका कारण उनी ‘डोटी’ नामले चर्चित भएकी थिइन् ।
टाला र मगधी क्षेत्रमा प्रायः देखिने अन्य बाघमा बनबेही, मिरचैनी, राजबेहरा, महामन, दमदमा र सुखी पतिया पर्छन् । यी बाघका धेरै डमरु अहिले किशोरावस्थामा प्रवेश गरिसकेका छन् भने केही वयस्क भइसकेर आफ्नै क्षेत्र खोज्दै अन्यत्र सरेका छन् ।
जंगलमा बाघका पन्जाका छाप बस्छन् र समयसँगै मेटिँदै जान्छन् । बासस्थान फेरिन्छन्, एउटा पुस्ताको ठाउँ अर्को पुस्ताले लिन्छ । डोटीका पदचाप पनि अब बान्धवगढको जंगलमा भेटिनेछैनन् । तर बाघको महत्त्व उसको सुन्दरता, निडर स्वभाव वा पर्यटकलाई आकर्षित गर्ने क्षमतामा मात्र सीमित हुँदैन । आहार शृंखलाको उपल्लो तहमा रहेको बाघले वनको पारिस्थितिक सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसैले डोटीको मृत्यु एउटा समाचार मात्रै होइन, जंगलको पारिस्थितिक प्रणालीमा योगदान पुर्याएको एउटा जीवनको अन्त्य पनि हो । (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)
फणीन्द्र संगम डेढ दशकभन्दा लामाे समयदेखि पत्रकारिता, लेखन र सम्पादनमा क्रियाशील छन् । ईकान्तिपुरमा कार्यरत उनी फिचर र साहित्य लेखनमा पनि रुचि राख्छन् ।