साथीहरूसँग साग खोज्न जंगल गएका ४०/४५ वर्षीय महतोमाथि बाघले आक्रमण गरेको सूचनापछि खोजी तीव्र पारिँदैछ।
चितवन — पर्यटकीय क्षेत्र चितवनको पश्चिम भेगमा पर्ने मेघौलीका भीमकुमार महतो मंगलबार दिउँसोदेखि जंगलमा हराइरहेका छन् । भरतपुर महानगरपालिका–२७ पुरानो पटिहानीका ४०/४५ वर्षका महतोलाई बाघले आक्रमण गरेको सूचनाका आधारमा निकुञ्ज कार्यालयले खोजी सुरु गर्ने भएको छ ।
'जंगलमा मान्छे हराइरहेको भन्ने सूचना छ । हिजो अबेला जानकारी प्राप्त भयो । केही बेर खोजी गरे पनि साँझ परेका कारण अहिले बिहानबाट फेरि खोजी सुरु हुन्छ,' चितवन निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेश तिवारीले भने ।
खोजीका लागि निकुञ्जका दुईवटा हात्तीसहित अन्य हात्ती पनि परिचालन गर्ने उनले जानकारी दिए । निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेना, निकुञ्ज प्रशासनका कर्मचारी र अन्य प्राविधिकको टोली खोजीमा खट्ने तिवारीले बताए ।
राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा साथीसहित गएका महतो हराइरहेका छन् । चितवन निकुञ्जको मेघौली उपभोक्ता समितिका अध्यक्ष मायाराम चौधरीले तीनजना साग खोज्न जंगल गएको जानकारी दिए । 'तीनजना जंगल गएकोमा एकजनालाई बाघले आक्रमण गरेको जानकारी हामीलाई आएको छ,' अध्यक्ष चौधरीले भने ।
मेघौलीमै यसअघि बाघले आक्रमण गर्दा गएको साउन २६ मा स्थानीय मंगल बोटेको मृत्यु भएको थियो । मंगललाई मेघौलीको राप्ती हरियाली मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गरेको थियो ।
चितवन निकुञ्जसँग जोडिएको मेघौली क्षेत्रका मध्यवर्ती सामुदायिक वनहरूमा पछिल्ला वर्षहरूमा बाघको चहलपहल बढेको छ । यसले पर्यटनमा मद्दत पुगे पनि स्थानीयको ज्यान जाने र घाइते हुने घटना पनि हुने गरेका छन् ।
रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।