Trending
Prev Story
Next Story

साउदीमा निश्चित पेसामा विदेशी श्रमिकको अवसर खुम्चिँदै

Ekantipur •
November 07, 2026 • 04:31 PM
1
1 reads 0 reactions

साउदी अरबले पर्यटन क्षेत्रका ४ पेसामा आफ्ना नागरिकका लागि शतप्रतिशत रोजगारी आरक्षित गरेको छ भने १२ पेसामा ७० र अन्य १२ पेसामा ५० प्रतिशत स्थानीयकरण लागू गरेको छ । त्यस्तै, प्रशासनिक तथा सहयोगी सेवाका ६९ पेसामा पनि शतप्रतिशत रोजगारी आफ्ना नागरिकका लागि आरक्षित गरेको छ ।

साउदीमा निश्चित पेसामा विदेशी श्रमिकको अवसर खुम्चिँदै

साउदी अरबले पर्यटन क्षेत्रका ४ पेसामा आफ्ना नागरिकका लागि शतप्रतिशत रोजगारी आरक्षित गरेको छ भने १२ पेसामा ७० र अन्य १२ पेसामा ५० प्रतिशत स्थानीयकरण लागू गरेको छ । त्यस्तै, प्रशासनिक तथा सहयोगी सेवाका ६९ पेसामा पनि शतप्रतिशत रोजगारी आफ्ना नागरिकका लागि आरक्षित गरेको छ ।

काठमाडौँ — साउदी अरबले पर्यटन क्षेत्रका २८ पेसा र प्रशासनिक क्षेत्रका ६९ पेसामा आफ्ना नागरिकलाई रोजगारीमा प्राथमिकता दिने नीति कार्यान्वयनमा ल्याएको छ । प्रशासन, होटल, पर्यटन, ट्राभल तथा आतिथ्य सेवासँग सम्बन्धित यी पेसामा विदेशी श्रमिकको रोजगारीको अवसर सीमित हुने गरी सरकारले स्थानीयकरणको अनुपात तोकेको हो ।

साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालय (एमएचआरएसडी) ले पर्यटन मन्त्रालयसँगको सहकार्यमा गत २२ अप्रिलदेखि पर्यटन क्षेत्रका २८ पेसामा साउदी नागरिकलाई प्राथमिकता दिने गरी पहिलो चरण कार्यान्वयनमा ल्याएको हो । मन्त्रालयले ३ मेमा जारी गरेको सूचनाअनुसार निर्णय कार्यान्वयन सुरु भएको र रोजगारदाताले तोकिएको अनुपात पालना गर्नुपर्ने जनाएको छ ।

मन्त्रालयका अनुसार २८ पेसामध्ये ४ मा शतप्रतिशत, १२ मा ७० प्रतिशत र बाँकी १२ मा ५० प्रतिशत साउदीकरण लागू गरिएको छ । यसको अर्थ ४ पेसामा विदेशी नागरिकलाई नियुक्त गर्न पाइने छैन । अन्य पेसामा तोकिएको अनुपातअनुसार साउदी नागरिकलाई नियुक्त गर्नुपर्नेछ ।

साउदी नागरिकका लागि शतप्रतिशत भनिएका पेसामा रिसेप्सनिस्ट, होटल रिसेप्सनिस्ट, टेलिफोन अपरेटर र सूचना कर्मचारी छन् । त्यस्तै, ७० प्रतिशत अनुपात साउदी नागरिकका लागि लागू हुने पेसामा शाखा व्यवस्थापक, होटल अडिट व्यवस्थापक, होटल अडिट विशेषज्ञ, होटल निरीक्षक, पर्यटन मार्गदर्शक, सार्वजनिक सेवा सुपरभाइजर, खरिद विशेषज्ञ, जनसम्पर्क विशेषज्ञ, बिक्री विशेषज्ञ, पर्यटन विशेषज्ञ, पर्यटन मार्गदर्शन विशेषज्ञ र हेल्थ क्लबका कर्मचारी छन् ।

त्यसैगरी, साउदी नागरिकका लागि ५० प्रतिशत अनुपात लागू हुने पेसामा टिकट बिक्री कर्मचारी, ट्राभल टिकट क्लर्क, कार्यक्रम संयोजक, ट्राभल एजेन्ट, टुर आयोजक, मार्केटिङ विशेषज्ञ, रेस्टुरेन्ट होस्ट, हाउसकिपिङ सुपरभाइजर, पर्यटन विकास विशेषज्ञ, हस्पिटालिटी विशेषज्ञ, खरिद प्रतिनिधि र बिक्री प्रतिनिधि छन् ।

साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले जारी गरेको पर्यटन क्षेत्र स्थानीयकरणसम्बन्धी कार्यविधिमा यी पेसाको व्यावसायिक नाम र कोडसमेत उल्लेख छ । रोजगारदाताले कर्मचारीको पद, नाम मात्रै नभई वास्तविक काम र साउदीको एकीकृत व्यावसायिक वर्गीकरणमा तोकिएको पेसागत कोडका आधारमा स्थानीयकरणको अनुपात पूरा गर्नुपर्नेछ ।

निर्णयअनुसार पर्यटन क्षेत्रका निजी प्रतिष्ठानमा एक जना वा त्यसभन्दा बढी कर्मचारी कार्यरत भए पनि सम्बन्धित व्यवस्था लागू हुन्छ । तोकिएको अनुपात पूरा नगर्ने रोजगारदातामाथि कानुनी कारबाही हुने कार्यविधिमा उल्लेख छ । साउदी सरकारले पर्यटन क्षेत्रका कुल ४१ पेसालाई तीन चरणमा स्थानीयकरण गर्ने निर्णय गरेको हो । पहिलो चरणमा २८ पेसा समेटिएका छन् । दोस्रो चरणमा ३ जनवरी २०२७ देखि सेफ पेसामा ३० प्रतिशत अनुपात साउदी नागरिकका लागि लागू हुनेछ । तेस्रो चरणमा २ जनवरी २०२८ देखि पर्यटनतर्फकै व्यवस्थापकीय समूहका १२ पेसामा ५० प्रतिशत स्थानीयकरण लागू गर्ने व्यवस्था छ ।

साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले २१ अप्रिल २०२५ मा जारी गरेको मन्त्रीस्तरीय निर्णय नम्बर १३७४४ अनुसार यो व्यवस्था अघि बढाइएको हो । मन्त्रालयले २२ अप्रिल २०२६ देखि पहिलो चरण कार्यान्वयनमा ल्याएको जनाएको छ । स्थानीयकरणको अनुपात सम्बन्धित पेसामा कार्यरत कुल कर्मचारीका आधारमा गणना हुन्छ । उदाहरणका लागि, ७० प्रतिशत स्थानीयकरण लागू हुने पेसामा पाँच जना कर्मचारी कार्यरत छन् भने कम्तीमा चार जना साउदी नागरिक हुनुपर्छ । त्यस्तै, प्रतिष्ठानले तोकिएका काम तेस्रो पक्षमार्फत गराए पनि स्थानीयकरणको दायित्वबाट उन्मुक्ति पाउँदैन । कार्यविधिमा वास्तविक काम र पदनाम दुवैलाई आधार मानिने स्पष्ट गरिएको छ ।

प्रशासनिक क्षेत्रका ६९ पेसा साउदी नागरिकका लागि आरक्षित

साउदी अरबले निजी क्षेत्रका प्रशासनिक तथा सहयोगी सेवाका ६९ पेसामा पनि आफ्ना नागरिकलाई शतप्रतिशत आरक्षण लागू गरेको छ । मानव संसाधन मन्त्रालयले ४ अक्टोबरदेखि यी पेसामा पूर्ण स्थानीयकरण कार्यान्वयनमा आएको जनाएको छ । मन्त्रालयको सूचनाअनुसार मानव संसाधन विकास व्यवस्थापक, जनशक्ति योजना व्यवस्थापक, मानव संसाधन सञ्चालन व्यवस्थापक, भर्ती व्यवस्थापक, भर्ती विशेषज्ञ, मानव संसाधन सञ्चालन विशेषज्ञ, जनशक्ति योजना विशेषज्ञ, भर्ती कार्यालय व्यवस्थापक, भर्ती विशेषज्ञ, सरकारी सम्बन्ध कर्मचारी, प्रशासनिक सहायक, भन्सार प्रतिनिधि, ढुवानी प्रतिनिधि, ढुवानी क्लर्क, मौज्दात अभिलेख कर्मचारी र जनसम्पर्कसम्बन्धी विभिन्न पद यसमा समेटिएका छन् ।

मन्त्रालयका अनुसार यी ६९ पेसा साउदीको एकीकृत व्यावसायिक वर्गीकरणमा आधारित छन् । सम्बन्धित पेसामा एक जना वा त्यसभन्दा बढी कर्मचारी राख्ने निजी प्रतिष्ठानले समेत शतप्रतिशत साउदी नागरिकको व्यवस्था पालना गर्नुपर्नेछ । यसअघि ५ अप्रिलमा मन्त्रालयले प्रशासनिक सहयोगी पेसासम्बन्धी निर्णय अद्यावधिक गर्दै ६९ पेसालाई पूर्ण साउदी नागरिक हुनुपर्ने दायरामा ल्याएको थियो । उक्त निर्णयमा केही पेसामा तत्काल र बाँकी पेसामा ६ महिनाको सहुलियत अवधि पूरा भएपछि कार्यान्वयन हुने व्यवस्था गरिएको थियो ।

४ अक्टोबरमा मन्त्रालयले सबै ६९ पेसामा निर्णय पूर्ण रूपमा लागू भएको र निरीक्षण सुरु गरिएको जनाएको छ । यी पेसामा सचिवालय, अनुवाद, तथ्यांक प्रविष्टि, मानव संसाधन, जनसम्पर्क, भर्ती तथा प्रशासनिक सहयोगका काम पर्छन् ।

नेपाली श्रमिकको रोजगारीमा कस्तो असर ?

साउदी अरब नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्यमध्ये एक हो । त्यहाँ निर्माण, उद्योग, सेवा, होटल, रेस्टुरेन्ट, यातायात, सुरक्षा र घरेलु काममा नेपाली कार्यरत छन् । पर्यटन तथा प्रशासनिक क्षेत्रका नयाँ निर्णयले विशेषगरी होटल, ट्राभल, रिसेप्सन, जनसम्पर्क, मानव संसाधन र कार्यालय प्रशासनमा काम गर्ने नेपाली प्रभावित हुन सक्छन् ।

साउदी नागरिकका लागि शतप्रतिशत लागू भएका पेसामा नयाँ विदेशी श्रमिक भर्नाको अवसर बन्द हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीले बताए । ‘५० र ७० प्रतिशत साउदी नागरिक अनिवार्य हुनुपर्ने पेसामा भने विदेशी श्रमिकको संख्या तोकिएको अनुपातभित्र सीमित गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसले नयाँ श्रम माग घटाउने र कम्पनीहरूले कर्मचारीको संरचना परिवर्तन गर्ने सम्भावना बढाउँछ ।’

साउदीमा कार्यरत एक नेपाली व्यवसायीका अनुसार यो नीतिको प्रभाव विदेशी श्रमिकको भिसा तथा आवासीय परिचयपत्र ‘इकामा’ नवीकरणदेखि दक्ष र प्राविधिक जनशक्तिको रोजगारीसम्म पर्ने देखिन्छ । तोकिएको अनुपात पूरा गर्न नसक्ने, ‘निताकात प्रणाली’अन्तर्गत रातो वा पहेँलो श्रेणीमा परेका कम्पनीले विदेशी श्रमिकको भिसा तथा इकामा नवीकरण गर्न नपाउने भएकाले त्यस्ता कम्पनीमा कार्यरत नेपाली श्रमिकले रोजगारी गुमाएर स्वदेश फर्कनुपर्ने अवस्था आउन सक्ने उनले बताए ।

उनका अनुसार इन्जिनियरिङ, स्वास्थ्य सेवा, फार्मेसी, मानव संसाधन, प्रशासनिक तथा पर्यटन क्षेत्रका दक्ष र अधिकृत तहका पदमा साउदी नागरिकको सहभागिता बढाउन थालिएपछि नेपाली प्राविधिक, इन्जिनियर र अधिकृत तहका कर्मचारी बढी प्रभावित हुन सक्छन् । निर्माण, सरसफाइ, प्याकेजिङ तथा अन्य साधारण श्रमका कठिन काममा भने साउदी नागरिकको आकर्षण तुलनात्मक रूपमा कम रहेकाले नेपाली अदक्ष श्रमिकका लागि तत्काल रोजगारीको अवसर खुम्चिने जोखिम कम रहेको ती नेपाली व्यवसायीको भनाइ छ ।

श्रम आप्रवासन प्रतिवेदन २०२४ अनुसार साउदी अरब जाने नेपाली श्रमिकमध्ये सबैभन्दा ठूलो हिस्सा साधारण तथा प्राथमिक काममा संलग्न हुने गरी श्रम स्वीकृति लिएर गएको देखिन्छ । यस क्षेत्रमा जाने श्रमिकको हिस्सा ६७.६ प्रतिशत छ । यसअन्तर्गत साधारण श्रम, प्याकेजिङ, लोडिङ, डेलिभरी तथा सरसफाइका काम पर्छन् । प्रतिवेदनअनुसार चालक तथा मेसिन अपरेटरका रूपमा जाने श्रमिक १२.२ प्रतिशत, सेवा तथा बिक्री क्षेत्रमा जाने ८.७ प्रतिशत र निर्माण क्षेत्रमा जाने ४.६ प्रतिशत छन् । त्यस्तै, उत्पादन क्षेत्रमा ३ प्रतिशत, विद्युतीय तथा मेकानिकल प्राविधिक काममा १.८ प्रतिशत, कृषि तथा पशुपालनमा ०.९ प्रतिशत र कार्यालय तथा प्रशासनिक सहयोगीका रूपमा ०.८ प्रतिशत श्रमिकले श्रम स्वीकृति लिएका छन् । साउदीमा हाल चार लाख नेपाली कार्यरत छन् ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
हुथी आक्रमणसँगै विपक्षीहरूको प्रश्नको घेरामा साउदी युवराज, देशको सुरक्षामा चुक भएको आरोप

हुथी आक्रमणसँगै विपक्षीहरूको प्रश्नको घेरामा साउदी युवराज, देशको सुरक्षामा चुक भएको आरोप

काठमाडौं- साउदी अरबका विमानस्थल र ऊर्जा क्षेत्रसँग सम्बन्धित संरचनाहरूमा हुथी विद्रोहीहरूले गरेका आक्रमणले साउदी अरबको नेतृत्वसामु ठूलो चुनौती खडा गरेको छ । यी आक्रमणले साउदी अरबको ‘भिजन २०३०’ योजन...

#साउदी #अरब
Compare →
Nagarik News
1d ago
साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै केन्याली महिलालाई सय कोर्रा हान्ने सजाय

साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै केन्याली महिलालाई सय कोर्रा हान्ने सजाय

साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै ४० वर्षीया केन्याली महिला एस्थर वान्जा मुथोनीलाई १०० कोर्रा हान्ने सजाय सुनाइएको छ।

#साउदी #अरब
Compare →

Related Stories

World News
Build #2611