Trending
Prev Story
Next Story

एनपीएलमा सुदूरपश्चिमका खेलाडीको दबदबा

Ekantipur •
November 07, 2026 • 04:31 PM
1
1 reads 0 reactions

सर्वाधिक रन बनाउने लोकेश बमदेखि शेर मल्लसम्म ९ खेलाडी धनगढी क्रिकेट एकेडेमीकै उत्पादन हुन् ।

एनपीएलमा सुदूरपश्चिमका खेलाडीको दबदबा

सर्वाधिक रन बनाउने लोकेश बमदेखि शेर मल्लसम्म ९ खेलाडी धनगढी क्रिकेट एकेडेमीकै उत्पादन हुन् ।

धनगढी — नेपाली क्रिकेटमा सुदूरपश्चिमको उपस्थिति पछिल्लो समय बलियो बन्दै गएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीमध्ये धनगढी क्रिकेट एकेडेमी (डीसीए) बाट प्रशिक्षण लिएका खेलाडी संख्या उल्लेख्य छ । एकेडेमीका ९ खेलाडी एनपीएलका टोलीहरूमा आवद्ध छन् ।

त्यसमध्ये लोकेश बम यतिबेला चर्चामा छन् । उत्कृष्ट ब्याटिङ गरिरहेका लोकेशले ५ खेलमा ३ अर्धशतकसहित १ सय ९४ रन बनाइसकेका छन् । उनी सर्वाधिक रन बनाउने खेलाडी सूचीमा शीर्षस्थानमा छन् । पहिलो सिजन अक्सनबाट लोकेशलाई लिएको विराटनगरले त्यसयता रिटेन गर्दै आएको छ ।

२६ वर्षीय लोकेशको चर्चा एनपीएलमा मात्रै सीमित छैन । यसै वर्ष मुम्बईस्थित वानखेडे स्टेडियममा इंग्ल्यान्डविरुद्ध उनले आक्रामक ब्याटिङ गर्दै नेपाललाई जितको निकै नजिक पुर्‍याएका थिए । उक्त खेलमा नेपाल ४ रनले पराजित भए पनि लोकेशले ३९ रनको अविजित इनिङ्स खेलेर आफ्नो क्षमता प्रमाणित गरेका थिए ।

लोकेशको क्रिकेट यात्रा आफैंमा प्रेरणादायी छ । डोटीस्थित बोगटानका उनले ११ वर्षअघि डीसीएबाट मुम्बई भ्रमणमा जाँदा क्रस मैदानमा शतक बनाएका थिए । त्यतिबेला ‘यो मैदानमा एक दिन विश्वकप खेल्छु’ भन्ने सपना बुनेका लोकेशले करिब एक दशकपछि आफ्नो सपना पूरा पारे ।

तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल

डीसीएका अध्यक्ष सुवास शाही लोकेशलाई सानैदेखि प्रतिभाशाली र क्रिकेटप्रति विशेष लगाव भएका खेलाडी ठान्छन् । उनी भन्छन्, ‘लोकेश सानैदेखि निकै प्रतिभाशाली र चनाखो खेलाडी थिए, उनको क्रिकेटप्रतिको लगाव, रुचि र सम्भावना देखेरै हामीले उनलाई एकेडेमीमा राखेर नियमित प्रशिक्षण अवसर दिलायौं । लोकेशले पनि निकै मिहिनेत गरे । निरन्तरको अभ्यास, लगनशीलता र मिहिनेतकै कारण उनी यो स्थानमा पुग्न सफल भएका हुन् ।’

डीसीएका अर्का प्रतिभाशाली खेलाडी नारायण जोशी पनि नेपाली क्रिकेटमा परिचित नाम हुन् । नेपाल ‘ए’ टोलीबाट खेलिसकेका नारायणसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटको राम्रो अनुभव छ । एनपीएलको पहिलो संस्करणमा पोखरा एभेन्जर्सबाट खेलेका नारायणले दोस्रो संस्करणमा विराटनगरबाट उत्कृष्ट प्रदर्शन गरे । उनको खेल क्षमता र अनुभव मूल्यांकन गर्दै विराटनगरले यसपालि पनि उनलाई टोलीमा रिटेन गरेको थियो ।

१४२ किमि प्रतिघण्टाको गतिमा बलिङ गर्ने हिक्मत

डीसीएका उत्पादन हिक्मत महरा नेपाली क्रिकेटका सम्भावनायुक्त तीव्र गतिका बलर हुन् । उनको बलिङ गति र प्रदर्शनले भविष्यमा सम्भावित राष्ट्रिय टोलीका तीव्र गतिका बलरमध्ये एकमा उनको नाम आउनेछ । अर्जुन ट्रफी राष्ट्रिय टी–२० च्याम्पियनसिपमा उदीयमान खेलाडी अवार्ड जितेका हिक्मतले ‘बिट द स्पिड सिजन–२’ मा सबैभन्दा तीव्र गतिमा बलिङ गर्ने खेलाडी अवार्डसमेत जितेका थिए ।

उनको बलिङ गति १४२ किलोमिटर प्रतिघण्टासम्म पुगेको छ । एनपीएलको दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडी बनेका हिम्मतलाई उनको क्षमताका आधारमा तेस्रो संस्करणमा पनि रोयल्सले राखेको छ ।

शेरको यात्रा एकेडेमीको प्रशिक्षणदेखि टी–२० विश्वकपसम्म

डीसीएका अर्का प्रतिभा शेर मल्लको यात्रा पनि प्रेरणादायी छ । सानै उमेरमा भारतबाट नेपाल फर्किएका उनले डीसीए अध्यक्ष शाहीको मार्गदर्शन र अभिभावकत्वमा आफ्नो क्रिकेट यात्रा अगाडि बढाए । शेरले आफ्नो रहस्यमयी स्पिन बलिङबाट नेपाली क्रिकेटमा छुट्टै पहिचान बनाएका छन् । अघिल्ला दुई संस्करणमा उनले फरक टोली एनपीएल खेल्दै उपाधि जितेका थिए । उनी यस पटक लुम्बिनी लायन्सको उपाधि अभियानमा खरो रूपमा उत्रिएका छन् ।

उनको करिअरको अर्को महत्त्वपूर्ण उपलब्धि टी–२० विश्वकपमा नेपालको प्रतिनिधित्व गर्नु हो । विश्वकपमा नेपालको ऐतिहासिक डेब्यु गरेका शेरले आफ्नो पहिलो बलमै विकेट लिएका थिए ।

डीसीएबाट प्रशिक्षण लिएका अशोक धामी र बिपिन रावल चितवन राइनोजमा आबद्ध छन् । नेपालको यू–१९ टोलीको कप्तानी गरिसकेका अशोकले आफ्नो नेतृत्व क्षमता प्रमाणित गरिसकेका छन् । उमेर समूहको राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका उनी एनपीएलमा आफ्नो क्षमता देखाउने अवसरको सदुपयोग गरिरहेका छन् ।

नेपालको यू–१६ र यू–१९ दुवै उमेर समूहको राष्ट्रिय टोलीमा प्रतिनिधित्व गरिसकेका विपिन अघिल्ला संस्करणदेखि नै चितवन टोलीमा आबद्ध छन् । उनी ब्याटिङ र विकेटकिपिङ गर्ने क्षमताका खेलाडी हुन् ।

सुदूरपश्चिम रोयल्समा घरेलु प्रतिभाको बाहुल्य

यस पटकको एनपीएल अक्सनमा पहिलो ‘सोल्ड आउट’ खेलाडी बनेका यू–१६ स्टार सचिन भट्ट पनि डीसीएकै उत्पादन हुन् । सानै उमेरमा उत्कृष्ट प्रदर्शन देखाएका सचिनलाई नेपाली क्रिकेटको सम्भावनायुक्त युवा प्रतिभामा हेरिएको छ ।

सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री कप (पीएम कप) लगायतका राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आयुब चन्द र विकेटकिपर/ब्याटर टेक रावत पनि सुदूरपश्चिम रोयल्समा आबद्ध छन् । हिक्मतसहित सचिन, आयुब र टेकको उपस्थितिले रोयल्समा स्थानीय प्रतिभाको बाहुल्यता देखाएको छ । यसले प्रदेशमै उत्पादित खेलाडीले राष्ट्रिय स्तरको फ्रेन्चाइज क्रिकेटमा स्थापित हुने अवसर पाएको सन्देश दिएको छ ।

ग्रासरुट क्रिकेट लगानीले राष्ट्रिय पहिचान

डीसीएबाट प्रशिक्षण लिएका यी ९ खेलाडीको सफलता व्यक्तिगत मिहिनेत र प्रतिभाको परिणाम मात्र होइन, स्थानीय स्तरमा क्रिकेटको जग बलियो बनाउन गरिएको निरन्तर प्रयासको उपलब्धिसमेत हो । डीसीएका अध्यक्ष तथा व्यवस्थापकहरूका अनुसार खेलाडीलाई सुरुआती चरणदेखि नै प्रशिक्षण, प्रतिस्पर्धा र उचित अवसर उपलब्ध गराउने प्रयासले उनीहरूलाई प्रादेशिक टोली, उमेर समूहका राष्ट्रिय टोली, नेपाल ‘ए’ र विश्वकप हुँदै एनपीएलसम्म पुर्‍याउन सहयोग गरेको छ ।

डीसीएले लामो समयदेखि सुदूरपश्चिममा क्रिकेट विकास, खेलाडी उत्पादन र व्यावसायिक क्रिकेटको वातावरण निर्माणमा योगदान दिँदै आएको छ । खेलाडीलाई स्थानीय स्तरबाटै पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने अभियानमा एकेडेमी सक्रिय छ । एकेडेमीले आफ्ना खेलाडीको उपलब्धिलाई संस्थागत सफलताका रूपमा लिएको छ । ‘होम अफ च्याम्पियन्स’ अर्थात् च्याम्पियनहरूको घर भन्ने पहिचानलाई खेलाडीको प्रदर्शनले थप बलियो बनाउँदै लगेको एकेडेमीको विश्वास छ ।

एनपीएलमा सुदूरपश्चिमका दुई दर्जनभन्दा बढी खेलाडी विभिन्न टोलीबाट खेलिरहेका छन् । त्यसमध्ये डीसीएका ९ खेलाडीको सहभागिताले सुदूरपश्चिम नेपाली क्रिकेटको उर्वरभूमिमा स्थापित हुँदै गएको देखाउँछ । डोटीको गाउँबाट क्रिकेट सपना बोकेर अघि बढेका लोकेशदेखि विश्वकपमा नेपालको प्रतिनिधित्व गर्ने शेरसम्मको यात्रा एउटै सन्देश दिन्छ, प्रतिभालाई समयमै पहिचान गर्ने, अवसर दिने र निरन्तर प्रशिक्षणको वातावरण बनाउने हो भने स्थानीय स्तरबाटै राष्ट्रिय/अन्तर्राष्ट्रिय क्रिकेटका स्टार उत्पादन गर्न सकिन्छ ।

सुदूरपश्चिमको क्रिकेट भविष्य अब सम्भावनामा मात्र सीमित छैन, मैदानमा देखिन थालेको छ । एनपीएलमा चम्किरहेका यी खेलाडीको सफलता नयाँ पुस्ताका लागि प्रेरणा र डीसीएको ग्रासरुट क्रिकेट अभियानका लागि सुखद उपलब्धि बनेको छ ।

टेकराज जोशी कान्तिपुरका धनगढी संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6h ago
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्स...

#एनपीएल #क्रिकेट
Compare →
Nagarik News
11h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल #सुदूरपश्चिम
Compare →
Arthasansar
11h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #सुदूरपश्चिम
Compare →
Onlinekhabar
11h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2611