तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको खेलका झलक ।
तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल
काठमान्डु गोर्खाजले सानदार प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार च्याम्पियन लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा १ सय ६१ रनको लक्ष्य लिएर आएको लुम्बिनी १९.३ ओभरमा १ सय २४ रनमै अलआउट भयो ।
योसँगै लुम्बिनीको ११ औं खेलमा अपराजित यात्रा टुंगिएको छ । गत वर्ष सुदूरपश्चिम रोयल्ससँग लिग चरणको खेलमा टोली ७ विकेटले पराजित भएको थियो । त्यसपछि लुम्बिनीले लगातार ६ खेल जित्दै च्याम्पियन बनेको थियो । यसपटक टोलीले पहिलो चार खेलमा ३ जितेको थियो भने चितवन राइनोजसँगको खेल वर्षाका कारण रद्द भएको थियो ।
लगातार तेस्रो खेल जितेपछि काठमान्डु ६ अंकसहित पुनः दोस्रो स्थानमा उक्लेको छ । सुदूरपश्चिम रोयल्सको पनि समान ६ अंक नै भए पनि काठमान्डु राम्रो नेट रनरेटका कारण दोस्रो स्थानमा रहेको हो । लुम्बिनी ७ अंकसहित शीर्ष स्थानमा छ ।
पाकिस्तानी तीव्र बलर जहानन्द खानले आफ्नो पहिलो तथा खेलको दोस्रो ओभरमा डार्सी शटलाई ४ र आसिफ शेखलाई १ रनमा विकेटको पछाडि क्याच गराई काठमान्डुलाई सनसनीपूर्ण सुरुआत दिलाएका थिए । कप्तान करण केसीले तेस्रो ओभरमा लुम्बिनीका कप्तान रोहित पौडेललाई पनि शून्यमा विकेटकै पछाडि क्याच गराए ।
जहानन्दले आफ्नो दोस्रो ओभरमा निरोशन डिकवेला र दिलीप नाथलाई बोल्ड गरेपछि लुम्बिनी चौथो ओभरमा २१–५ को अवस्थामा पुगेको थियो । डिकवेलाले ७ बल खेली ३ चौकासहित १४ रन बनाए । इटालियन अलराउन्डर ग्रान्ट स्टेवार्टलाई करणले ६ रनमा एलबीडब्लु आउट गरे । रुबेन ट्रम्पलमन १६ बल खेली १ छक्का प्रहार गरी ११ रनमा आउट भए ।
सन्दीप जोराले लुम्बिनीबाट सर्वाधिक ४४ रन बनाए । १८ औं ओभरमा शाहब आलमको बलमा आउट भएका जोराले ४५ बल खेली ३ चौका प्रहार गरे । अराचिगेले अन्तिम विकेटमा शेरलाई १२ रनमा बोल्ड गरे । जहानन्दले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । करणले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । १–१ विकेट लिने क्रममा शाहबले ४ ओभरमा १८ र रशिदले ३ ओभरमा २० रनमात्र खर्चेका थिए ।
यसअघि ओपनिङ जोडी डेभिड वार्नर र साहिल पटेलले शतकीय साझेदारी गरेपछि टस हारेर ब्याटिङको निम्ता पाएको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ६० रन बनाएको थियो । वार्नर र पटेलले १४ ओभरभित्र १ सय ४ रन जोडेका थिए । जारी एनपीएलमा यो पहिलो विकेटका लागि दोस्रो शतकीय साझेदारी हो । यसअघि विराटनगर किंग्सका लोकेश बम र इमरान शेखले जनकपुर बोल्ट्सविरुद्ध १ सय ७ रनको ओपनिङ साझेदारी गरेका थिए ।
शेरले साहिललाई आउट गरी लुम्बिनीलाई पहिलो सफलता दिलाए । साहिलले ३६ बलमा समान २ चौका र छक्काका साथ ३८ रन बनाए । अस्ट्रेलियन ब्याटर वार्नरले ५० बलमा ६६ रन बनाए । प्लेयर अफ द म्याच उनले ३३ बलमा अर्धशतक पूरा गरेका थिए । वार्नरले कुल ९ चौका र १ छक्का प्रहार गरी शेरकै बलमा आउट भए ।
तेस्रो नम्बरमा पठाइएका करण १० बलमा ९ रन बनाई अभिषेकको बलमा कट एन्ड बोल्ड भए । अभिषेकले अर्को बलमा रिभर्स स्विप गर्न खोजेका विल बोसिस्टोलाई बोल्ड गरे । रशिद खानले पनि १ रनमात्र बनाए । जहानन्द खानले १ छक्का प्रहार गरे पनि ३ बलमा ६ रन बनाई आउट भए ।
मोहम्मद आदिल आलम १ र सन्तोष यादव २ रनमा रनआउट भए । सहन अराचिगे १५ बलमा ३४ रन बनाई अविजित रहे । उनले ३ चौका र १ छक्का प्रहार गरे । लुम्बिनीका अभिषेक, शेर र ट्रम्पलमनले २–२ विकेट लिए । अभिषेकले ४ ओभरमा १५, शेरले १९ र ट्रम्पलमनले ३ ओभरमा २४ रन खर्चे ।
तस्बिर कान्तिपुर मिडिया ग्रुपका आबद्ध उनी फोटो पत्रकार हुन् । खेलकुद फोटोग्राफीमा विशेष रुचि राख्छन् ।
अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।