Trending
Prev Story
Next Story

तिहारमा घट्यो मादलको माग, संकटमा परम्परागत पेसा

Onlinekhabar •
November 07, 2026 • 10:30 AM
1
1 reads 0 reactions

२१ कात्तिक, धनकुटा । तिहार भन्नेबित्तिकै देउसी–भैलो, गीतसंगीत र रमाइलोको पर्व भन्ने गरिन्छ । गाउँघरदेखि सहरबजारसम्म तिहारको उल्लास छाउँदा देउसी–भैलोका भाकासँगै मादलको तालले वातावरणलाई थप रोमाञ्चक बनाउँछ । मादलको घिन्ताङ घिन्ताङ आवाजमा देउसी–भैलो खेल्नेहरूको उत्साह …

तिहारमा घट्यो मादलको माग, संकटमा परम्परागत पेसा

२१ कात्तिक, धनकुटा । तिहार भन्नेबित्तिकै देउसी–भैलो, गीतसंगीत र रमाइलोको पर्व भन्ने गरिन्छ । गाउँघरदेखि सहरबजारसम्म तिहारको उल्लास छाउँदा देउसी–भैलोका भाकासँगै मादलको तालले वातावरणलाई थप रोमाञ्चक बनाउँछ । मादलको घिन्ताङ घिन्ताङ आवाजमा देउसी–भैलो खेल्नेहरूको उत्साह झनै बढ्छ ।

तर, कुनै समय तिहारको रौनकसँग अभिन्न रूपमा जोडिएको मादल अहिले भने क्रमशः ओझेलमा पर्दैगएको छ । तिहार नजिकिएसँगै मादलको माग बढ्ने र मादल बनाउने व्यवसायीलाई भ्याइनभ्याइ हुने पुरानो चलन हो ।

समयसँगै मनोरञ्जनका माध्यम र मानिसहरुको रुचि परिवर्तन हुँदै जाँदा मादलको प्रयोग घट्न थालेको छ । यसको असर मादल निर्माण गर्दैआएका परम्परागत सीप भएका व्यवसायीहरूमा प्रत्यक्ष रुपमा परेको छ ।

धनकुटा नगरपालिका–१ गैरी टोलका छोटे भनेर चिनिने छविलाल सार्की विगतमा तिहार आउनुभन्दा करिब १ महिना अगाडिबाट मादल बनाउन व्यस्त हुने गरेको सम्झन्छन् ।

‘तिहारको समयमा उनी अन्य काम छाडेर मादल निर्माणको काममा जुट्नुपथ्र्यो । त्यसअनुसार यतिबेला पनि हामीलाई मादल बनाउन भ्याइनभ्याइ हुनुपर्ने हो,’ उनी भन्छन्, ‘तर, अहिले मादलको माग निकै कम आउँछ । अहिले त पूरै फुर्सद छ भनेपनि हुन्छ ।’

पहिले चाडपर्व, मेला, महोत्सव र सांस्कृतिक कार्यक्रमको समयमा मादलको माग बढी हुने गरेको उनी सम्झन्छन् । ‘तिहारमा देउसी–भैलो खेल्ने समूहले मादल किन्ने र पुराना मादल मर्मत गराउनेहरूको भीड हुन्थ्यो । अहिले त त्यस्तो छैन,’ उनी भन्छन् ।

यो वर्ष सार्कीले केही पुराना मादलमा खरी लगाउने बाहेक नयाँ मादल बनाउन काम गर्न परेको छैन् । सीमित केही व्यक्तिबाट नयाँ मादलको माग आएको भएपनि सार्कीले झन्झटिलो प्रक्रियाका कारण तथा उमेरको अशक्तताको कारण नबनाएको बताए ।

मादल निर्माण गर्नु सामान्य काम होइन । एउटा मादल तयार पार्न काठ छनोट गर्नेदेखि त्यसलाई आवश्यक आकारमा ढाल्ने, भित्र खोक्रो बनाउने, छाला तयार पार्ने, तन्काउने र खरि लगाउनेसम्मका विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । यसका लागि सीप, धैर्य र लामो अनुभव आवश्यक हुन्छ ।

‘मादल बनाउन खमारी, लामपाटो, सिरीस र खिर्रो जस्ता काठ प्रयोग गरिन्छ । मादलको गुणस्तर र आवाजमा काठको महत्वपूर्ण भूमिका हुने भएकाले काठ छनोट गर्दा विशेष ध्यान दिनुपर्छ,’ सार्की भन्छन् ।

काठलाई आवश्यक आकारमा काटेर भित्रबाट खोक्रो बनाइ ढुङ्ग्रो तयार पार्नु मादल निर्माणको एउटा कठिन काम भएको उनले बताए ।

‘त्यसपछि मादलको दुवैतर्फ बाख्रा, भैँसी वा गोरुको छाला प्रयोग गरिन्छ । छालालाई आवश्यक आकारमा तयार पारेर काठको ढुङ्ग्रोमा कसिलोसँग तन्काउनुपर्छ,’ उनी अगाडि भन्छन्, ‘मादलको आवाज राम्रो बनाउन छालाको तन्काइ र खरि लगाउने प्रक्रियामा विशेष सीप चाहिन्छ ।’

मादलको आकार अनुसार एउटा तयार गर्न तीनदेखि सात दिनसम्म लाग्ने सार्की बताउँछन् । निर्माणमा लाग्ने समय, श्रम र प्रयोग हुने सामग्रीका आधारमा एउटा मादलको मूल्य पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म पर्ने गरेको छ ।

मादल बनाउन प्रयोग हुने कच्चा पदार्थ जुटाउन पनि सहज छैन । विशेषगरी छाला भारतबाट ल्याउनुपर्ने अवस्था रहेको छ । काठको ढुङ्ग्रो तयार पार्नेदेखि छाला तन्काउने र खरि लगाउनेसम्मका काममा धेरै मेहनत गर्नुपर्ने भएकाले मादल निर्माण चुनौतीपूर्ण पेसा बन्दै गएको उनको भनाइ छ ।

लामो समय खर्चिएर तयार पारिएको मादल बिक्री हुने सुनिश्चितता नहुँदा व्यवसायीहरु थप समस्यामा पर्ने गरेको सार्कीले बताए । मादलको माग घट्दै जाने र निर्माणमा लाग्ने लागत तथा श्रम बढी हुने अवस्थाले यो पेसालाई निरन्तरता दिन कठिन बनाउँदै लगेको सार्कीले बताए ।

समय परिवर्तनसँगै मानिसहरूको जीवनशैली र मनोरञ्जन गर्ने तरिकामा पनि परिवर्तन आएको छ । पहिले गाउँघरमा हुने सांस्कृतिक कार्यक्रम, चाडपर्व र जमघटमा मादल मुख्य बाजाका रुपमा प्रयोग हुन्थ्यो ।

लोकगीत गाउन होस् वा देउसी–भैलो खेल्न, मादलको ताल अनिवार्यजस्तै मानिन्थ्यो । तर, अहिले प्रविधिको विकाससँगै मनोरञ्जनका नयाँ माध्यम भित्रिएपछि मादलको माग घटेको हो ।

मोबाइल फोन, इन्टरनेट, विद्युतीय बाजा र रेकर्ड गरिएका गीतसङ्गीतको प्रयोग बढेपछि मादलको माग घटेको हो । देउसी–भैलो तथा अन्य सांस्कृतिक कार्यक्रममा समेत आधुनिक ध्वनि प्रणाली र विभिन्न विद्युतीय बाजाको प्रयोग हुन थालेको छ । यसले परम्परागत बाजा मादलको प्रयोगलाई क्रमशः सीमित बनाउँदै लगेको छ ।

पहिले घरघरमा मादल बजाउने मानिस भेटिन्थे । बालबालिकादेखि वृद्धवृद्धासम्म मादलको तालमा रमाउने गर्थे । गाउँघरका युवाहरूले मादल बजाउन सिक्ने र लोकगीतसँगै यसको प्रयोग गर्ने चलन थियो ।

अहिले भने नयाँ पुस्ताको आकर्षण आधुनिक सङ्गीत र प्रविधितर्फ बढ्दै गएपछि मादल बजाउने र यसको निर्माण गर्ने सीप सिक्ने पुस्ता घट्दै जान थालेको हो ।

मादल केवल एउटा बाजा मात्र होइन, यो नेपाली लोकसंस्कृति, परम्परा र मौलिक पहिचानको महत्वपूर्ण हिस्सा पनि हो । यसको तालमा नेपाली समाजको जीवनशैली, खुसी, उत्सव र सांस्कृतिक विरासत जोडिएको गीतकार तथा पत्रकार रमेशचन्द्र अधिकारीले बताए ।

उनले नेपाली मौलिक बाजाको पहिचान ओझेलमा पर्न थालेकोमा चिन्ता व्यक्त गरे ।

‘मादल हाम्रो संस्कार र लोकसंस्कृतिसँग अभिन्न रूपमा जोडिएको मौलिक बाजा हो । रञ्जित गजमेरलगायतका स्रष्टाहरूले नेपाली मादलको धुन भारतीय संगीत उद्योगमा समेत पुर्‍याएर त्यहाँ यसको ठूलो प्रभाव र माग सिर्जना गर्नुभएको थियो’, अधिकारी भन्छन्, ‘तर आज आफ्नै भूमिमा नयाँ पुस्ताले यसलाई बिर्सिंदै जानु र आधुनिक ट्र्याक संगीतको बढ्दो प्रयोगले मादलको मौलिक धुन विस्थापित हुनु दुखद् पक्ष बन्दैगएको छ ।’

बजारमा उपलब्ध आधुनिक प्रविधि तथा ‘स्केल’ मिलाइएका मादलहरू निकै महँगा हुँदा सर्वसुलभ हुन नसकेको र परम्परागत मादल बनाउने शिल्पीहरूले समेत उचित प्रोत्साहन पाउन नसकेको अधिकारीले बताए ।

कच्चा पदार्थको सहज आपूर्ति, बजार प्रवद्र्धन र शिल्पीहरूलाई संरक्षण दिन नसके नेपाली मौलिक बाजाको अस्तित्व नै संकटमा पर्न सक्ने उनको भनाइ छ ।

मौलिक पहिचान बोकेको मादलको संरक्षण र प्रवद्र्धनका लागि स्थानीय सरकार तथा संस्कृतिसँग सम्बन्धित सरोकारवाला निकायहरुले विशेष योजना बनाएर शिल्पीहरुलाई प्रोत्साहन दिनुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
देउसी–भैलोको भीडमा हराउँदै सोरठीको मौलिकता

देउसी–भैलोको भीडमा हराउँदै सोरठीको मौलिकता

रुपन्देही । तिहार लागेसँगै गाउँबस्तीमा देउसी र भैलोका भाका गुञ्जिन थालेका छन् । मादल, मञ्जिरा, झ्याली र बाँसुरीका तालमा घरघर पुगेर गीत गाउने, नाच्ने र शुभकामना साटासाट गर्ने परम्पराले नेपाली समाजमा...

#तिहार #देउसी #भैलो
Compare →
Nagarik News
1d ago
देउसी–भैलोमा अश्लील नृत्य गर्ने थप तीन जना पक्राउ

देउसी–भैलोमा अश्लील नृत्य गर्ने थप तीन जना पक्राउ

देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन महिलालाई नियन्त्रणमा लिएको छ।

#देउसी #भैलो
Compare →
Arthasansar
18h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#तिहार
Compare →
Ekantipur
1d ago
तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

आर्थिक अभावका कारण माइती–मावली जान नसक्ने चेलीलाई निःशुल्क बाइक सेवा दिइएको हो ।

#तिहार
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612