Trending
Prev Story
Next Story

सल्यानमा स्क्रब टाइफसको त्रासले छैन दसैंको रौनक

Ekantipur •
October 13, 2026 • 04:45 PM
1
1 reads 0 reactions

स्क्रब टाइफस संक्रमितहरू उपचारपछि केही निको भइरहे पनि कमजोरी, टाउको दुखाइ र चक्कर लाग्ने जस्ता समस्याका कारण खेतीपाती भित्र्याउने तथा दसैंको तयारी गर्न सकेका छैनन्।

सल्यानमा स्क्रब टाइफसको त्रासले छैन दसैंको रौनक

स्क्रब टाइफस संक्रमितहरू उपचारपछि केही निको भइरहे पनि कमजोरी, टाउको दुखाइ र चक्कर लाग्ने जस्ता समस्याका कारण खेतीपाती भित्र्याउने तथा दसैंको तयारी गर्न सकेका छैनन्।

सल्यान — दार्मा गाउँपालिका–२ दलसिङकी ३३ वर्षीया कमला केसीलाई स्क्रब टाइफस संक्रमण भएको एक साताभन्दा बढी भयो । उनले चिकित्सककै सल्लाहमा औषधि खाइरहेकी छन् । औषधि सेवनपछि अहिले उनलाई ज्वरो आउन छाडेको छ, तर टाउको दुख्ने र चक्कर लाग्ने समस्या ठीक भएको छैन । यी समस्या निको नभएपछि उनले कुनै काम गर्न सकेकी छैनन् ।

श्रीमान् कलिलै उमेरमा बितेपछि खेतीपाती गरेर तीन जनाको परिवार पाल्दै आएकी उनले खेतमा पाकेको बालीसमेत भित्र्याउन सकेकी छैनन् । नजिकिँदै गरेको दसैं कसरी मनाउने भन्ने सोच्नसमेत सकेकी छैनन् । दसैं नजिकिँदै गए पनि अहिले उनलाई स्क्रब टाइफसबाट कसरी ज्यान जोगाउने भन्ने चिन्ता छ ।

कुमाख गाउँपालिका–६ की ४४ वर्षीया भुमा डाँगीको अवस्था पनि कमलाको जस्तै छ । १२ दिनदेखि ज्वरोले थलिएपछि स्क्रब टाइफस परीक्षण गराउँदा पोजिटिभ देखिएको थियो । त्यसपछि उनले औषधि सेवन गर्न थालेको चार दिन भयो । ज्वरो ठीक भए पनि उनी पूर्ण रूपमा तन्दुरुस्त हुन सकेकी छैनन् ।

स्वास्थ्यकर्मीको सल्लाहअनुसार आराम गरेर बसिरहेकी छन् । दसैं नजिकिँदै गए पनि उनले अहिलेसम्म कुनै तयारी गरेकी छैनन् । उनी भन्छिन्, ‘छिमेकी पालिकामा आठ जनाको मृत्यु भएपछि अहिले पर्व धुमधामका साथ मनाउनेभन्दा पहिला आफू कसरी ठीक हुने भन्ने चिन्तामा छु । सबैभन्दा ठूलो कुरा आफ्नो ज्यान हो । ज्यान बाँच्यो भने दसैं मनाउन पाइहालिन्छ । केही फरक पर्दैन ।’

सल्यानमा झन्डै तीन महिनायता स्क्रब टाइफस फैलिएको छ । रोगबाट दार्मा गाउँपालिकाका विभिन्न वडामा एक बालक, एक महिला र ६ पुरुष ज्येष्ठ नागरिक गरी आठ जनाको मृत्यु भइसकेको छ भने छत्रेश्वरी गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । जिल्लाभर ७ सयभन्दा बढी संक्रमित भएका छन् । जिल्लामा सबैभन्दा बढी प्रभावित पालिका दार्मा हो ।

पछिल्लो समय संक्रमण कम हुँदै गए पनि रोगबाट धेरैको मृत्यु भएको र रोगको उपचारबारे अफवाह फैलिएपछि बढी प्रभावित पालिकाका स्थानीयमा त्रास अझै कम भएको छैन । त्रासकै कारण उनीहरू दसैं मनाउनेभन्दा रोगबाट कसरी ज्यान जोगाउने भन्ने चिन्तामा छन् ।

संघीय, प्रदेश, जिल्ला र पालिकाका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शिविर सञ्चालन गरेर रोग पहिचान र उपचार गर्दै आएको छ । त्यसपछि ज्वरोका बिरामीसँगै संक्रमितको संख्या पनि पहिलेभन्दा घटेको छ । तर स्वास्थ्य सचेतनाको अभावमा फैलिएको अफवाहले जरो गाडेका कारण प्रभावित क्षेत्रका स्थानीयमा त्रास यथावत् छ ।

स्क्रब टाइफस संक्रमण देखिएपछि औषधि सेवन गरिरहेकी दार्मा गाउँपालिका–२ की सीता विक केही सुधार भए पनि तंग्रिन नसकेको बताउँछिन् । 'धेरै ज्वरो आउने, टाउको र शरीर बेस्सरी दुख्ने तथा केहीको मृत्यु भएको खबर सुनेपछि अब यत्तिकै हो भन्ने लागेको थियो । उपचार गरेर औषधि खाएपछि अहिले पहिलेभन्दा ठीक त भएको छ, तर घरको कामकाज गर्न सकेकी छैन,' उनले भनिन्, 'पाकेको बाली भित्र्याउन सकेकी छैन । दसैं नजिकिँदै गएको छ । छिमेकीमध्ये केहीले घर रंग्याउने काम गरिरहेका छन् भने अरू तयारीमा छन् । त्यो देखेर के गरौं, कसो गरौं भइरहेको छ । सकी नसकी काम गरे फेरि रोग बल्झिने हो कि भन्ने डर छ ।’

लगातार दुई वर्ष वर्षायाममा स्क्रब टाइफस देखिएको, गत वर्ष चार र यो वर्ष आठ जनाको मृत्यु भएको तथा संक्रमितमध्ये धेरैले उपचारका क्रममा दुःख पाएकाले स्थानीयमा त्रास बढेको दार्मा गाउँपालिका–५ का वडाध्यक्ष सुदीप केसीले बताए । ‘वर्षायाममा देखिने भनिएको स्क्रब टाइफस जाडो सुरु हुँदा पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । शंकास्पद व्यक्तिको जाँच गर्दा अहिले पनि केहीमा पोजिटिभ देखिइरहेको छ,’ उनले भने । जंगलमा पाइने किर्नाले टोकेमा स्क्रब टाइफस लाग्ने भएकाले स्थानीय पाकेको बाली भित्र्याउन खेतमा जानसमेत डराइ रहेको उनले बताए ।

दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले स्क्रब टाइफसको उपचार गरी नियमित औषधि सेवन गरे १० दिनभित्र निको हुने भए पनि स्वास्थ्य सचेतनाको अभावमा फैलिएको भ्रमका कारण पालिकावासी त्रासमुक्त हुन नसकेको बताए । आठ जनाको मृत्यु भएको दार्मामा अहिलेसम्म २ सय ६२ जना संक्रमित भएको उनले जानकारी दिए । रोग पूर्ण रूपमा नियन्त्रणमा ल्याउन र स्थानीयलाई त्रासमुक्त बनाउन सचेतनामूलक कार्यक्रम गरिरहेको तथा संक्रमित र उनीहरूका परिवारलाई विभिन्न किसिमका सल्लाह दिइरहेको उनको भनाइ छ ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
तनहुँमा स्क्रब टाइफसको प्रकोप: असोजमै भेटिए १५५ बिरामी, आँबुखैरेनी उच्च जोखिममा

तनहुँमा स्क्रब टाइफसको प्रकोप: असोजमै भेटिए १५५ बिरामी, आँबुखैरेनी उच्च जोखिममा

तनहुँमा किर्नाको टोकाइबाट सर्ने जीवाणुजन्य रोग ‘स्क्रब टाइफस’ को संक्रमण तीव्र रूपमा फैलिएको छ। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै जिल्लाका सात स्थानीय तहमा १५५ जनामा स्क्रब टाइफस पुष्टि भएको छ...

#स्क्रब #टाइफस
Compare →
Bizshala
3d ago
दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

काठमाण्डौ । दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्मले पछिल्लो सात दिनमा संयुक्त रूपमा ६५ लाख ६२ हजार रुपैयाँभन्दा बढी...

#दसैँ
Compare →
The Kathmandu Post
6d ago
Nepse retreats as profit-taking slows post-Dashain rally

Nepse retreats as profit-taking slows post-Dashain rally

Turnover falls nearly 18 percent as investors turn cautious ahead of Tihar, but technical support, improving earnings prospects and the dividend season could help revive the market.

#दसैँ
Compare →

Related Stories

Technology
Build #2612