दसैं नजिकिएसँगै हाटबजारमा किनमेलको चटारो बढेको छ । नयाँ लुगा र घरायसी सामान किन्नेहरू बजार धाउन थालेका छन् ।
घटस्थापनासँगै दसैंको रौनक घरआँगनदेखि बजारसम्म फैलिन थालेको छ। मनसुन बिदा हुने तरखरमा छ। केही दिनयता खुलेको आकाशमा निलो रङ गाढा बन्दै जाँदा वातावरणमा पनि दसैं 'भाइब्स' महसुस हुन थालेको छ ।
दसैं नजिकिएसँगै देशभरका हाटबजारमा किनमेलको चटारो बढेको छ। नयाँ लुगा, जुत्ता र घरायसी सामान किन्नेहरू बजार धाउन थालेका छन्। काठमाडौं उपत्यकाका असन, इन्द्रचोक, सुन्धारा र भोटाहिटीका गल्लीहरूमा उपभोक्ताको चहलपहल बढ्दो छ। पसलहरूमा सामान छान्ने र मोलमोलाइ गर्नेहरूको भिडले बजारलाई दसैंमय बनाउन थालेको छ ।
ललितपुरको लगनखेलस्थित बसपार्क क्षेत्र पनि दसैंको किनमेलमा व्यस्त देखिन थालेको छ। घाम लागेको खुला मौसममा किनमेल गर्न निस्किएका सर्वसाधारणको घुइँचोले बजारको रौनक थपेको छ। सडकछेउका पसलमा सजिएका रंगीबिरंगी कपडा र सामान, किनमेलका झोला बोकेर ओहोरदोहोर गरिरहेका मानिस र बजारको चहलपहलले दसैं नजिकिएको संकेत गर्छन्।
अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।