Trending
Prev Story
Next Story

आफ्नै बालविवाहविरुद्ध मण्डपबाट विद्रोह गरेकी रिंकुको अभियन्ता यात्रा

Ekantipur •
November 06, 2026 • 05:32 PM
1
1 reads 0 reactions

रिंकु ठाकुरको सहमतिबिना परिवारका सदस्यले उनलाई बिहे गराउन खोजे । उनले परिवारको निर्णयको प्रतिवाद गरिन् । घर छाडेर निस्किन् । अहिले बालविवाहविरुद्धको अभियन्ता बनेर तराईका गाउँबस्तीमा महिला तथा किशोरीलाई अधिकार, स्वास्थ्य, पोषण र हिंसाविरुद्ध सचेत गराइरहेकी छन् ।

आफ्नै बालविवाहविरुद्ध मण्डपबाट विद्रोह गरेकी रिंकुको अभियन्ता यात्रा

रिंकु ठाकुरको सहमतिबिना परिवारका सदस्यले उनलाई बिहे गराउन खोजे । उनले परिवारको निर्णयको प्रतिवाद गरिन् । घर छाडेर निस्किन् । अहिले बालविवाहविरुद्धको अभियन्ता बनेर तराईका गाउँबस्तीमा महिला तथा किशोरीलाई अधिकार, स्वास्थ्य, पोषण र हिंसाविरुद्ध सचेत गराइरहेकी छन् ।

रौतहट — वीरगन्जकी रिंकु ठाकुर १२ वर्षदेखि बालविवाह र दाइजो प्रथाविरुद्धको सामाजिक अभियानमा छिन् । १७ वर्षको उमेरमै परिवारले विवाह गर्न खोजिदिएपछि विद्रोह गरेर घर छाडेकी उनले आफूले जस्तो पीडा अरूले भोग्न नपरोस् भनी यो बाटो रोजेकी हुन् । उनले हिँडेको यो लामो यात्राले मधेशका छोरीहरू कस्तो अवस्थाबाट गुज्रिरहेका छन् भन्नेमात्रै देखाउँदैन, मधेशमा छोरीहरू माथि कस्तो विभेद छ र उनीहरू किन हिंसा भोग्न बाध्य छन् भन्ने पनि बुझाउँछ ।

रिंकुले १७ वर्षको हुँदा २५ चैत २०७२ मा परिवारसँग विद्रोह गर्नुपर्‍यो । किनकि रिंकुको सहमतिबिना परिवारका सदस्यले उनलाइ बिहे गराउन खोजे । उनले परिवारको निर्णयको प्रतिवाद गरिन् । घर छाडेर निस्किन् । अनि बालविवाहविरुद्धको अभियन्ता बनेर आफ्नो बाटो तय गरिन् । पछिल्ला वर्षहरूमा उनी तराईका गाउँबस्ती पुगेर महिला तथा किशोरीलाई अधिकार, स्वास्थ्य, पोषण र हिंसाविरुद्ध सचेत गराइरहेकी छन् । आफूले भोगेको पीडा अरूले भोग्न नपरोस् भन्ने उनको अभियान जारी छ ।

वीरगन्ज महानगरपालिका–१ छपकैयाकी रिंकु अहिले २८ वर्षकी भइन् । ‘त्यो दिन सम्झँदा अहिले पनि उदेक लाग्छ । त्यो बेला मैले लिएको निर्णय ठीक रहेछ भन्ने लाग्छ,’ रिंकुले भनिन्, ‘मैले आफ्नो भविष्यका लागि ठीक निर्णय गरें । समाजलाई पनि एउटा पाठ भयो । आज अरूले पनि यस्तो समस्या भोग्न नपरोस् भनेर चेतना फैलाउन लागेकी छु ।’

१२ वर्षअघि परिवारले रिंकुको विवाहको कुरा भारतको बिहारस्थित घोडासहनका एक युवकसँग छिनेको थियो । परिवारले विवाहको मिति पनि तय गरिसकेको थियो । विवाहका लागि केटा पक्षलाई दाइजोस्वरूप एक लाख ३० हजार रुपैयाँ नगदसमेत बुझाइसकिएको थियो । आफ्नो उमेर नपुगेको, विवाह गर्ने इच्छा नभएको र पढाइलाई निरन्तरता दिन चाहेको कुरा उनले पटकपटक अभिभावकलाई सुनाइन् । तर अभिभावकले जबर्जस्ती गर्न खोजेपछि विवाह अस्वीकार गर्ने निर्णय गरिन् ।

रिंकु अहिले ‘प्रोटेक्सन नेपाल’ नामक गैरसरकारी संस्थामा आबद्ध भएर तीन महिनायता रौतहटको कटहरिया नगरपालिकामा काम गरिरहेकी छन् । पोषण परियोजनाअन्तर्गत गाउँबस्ती र विद्यालयमा पुगेर महिलाको स्वास्थ्य तथा पोषण अवस्थाबारे जानकारी दिने, बालविवाह तथा दाइजो प्रथाका नकारात्मक असरबारे सचेत गराउने र महिला हिंसाविरुद्ध आवाज उठाउन अभिप्रेरित गर्ने उनको दैनिकी बनेको छ । साइबर अपराधलगायत महिलाले सामना गर्नुपरेका नयाँ सामाजिक चुनौतीबारे पनि उनी समुदायमा छलफल र खबरदारी गर्छिन् ।

रिंकुका अनुसार ग्रामीण मधेशका धेरै महिला र किशोरी अझै पनि उमेर नपुग्दै विवाह र त्यसलगत्तै मातृत्वको जिम्मेवारी बहन गर्न बाध्य छन् । बालविवाहका कारण किशोरीको शिक्षा, स्वास्थ्य, आत्मनिर्भरता र भविष्यमा गम्भीर असर पर्ने गरेको उनको अनुभव छ । विवाहपछि कम उमेरमै गर्भधारण गर्नुपर्ने अवस्थाले महिला तथा शिशुको स्वास्थ्यमा समेत जोखिम निम्त्याउने भएकाले पोषण र प्रजनन स्वास्थ्यबारे समुदायमा सचेतना आवश्यक रहेको उनी बताउँछिन् ।

‘गाउँघरमा अझै पनि छोरीको विवाह उमेर नपुग्दै गरिदिने चलन पूर्णरूपमा हटेको छैन । कतिपय अभिभावकले छोरीको इच्छाभन्दा समाजको दबाब र परम्परालाई महत्त्व दिन्छन्,’ उनी भन्छिन्, ‘छोरीलाई पढाउने, आत्मनिर्भर बनाउने र आफ्नो निर्णय आफैं गर्न सक्ने बनाउनेतर्फ अभिभावकको ध्यान जान जरुरी छ । बालविवाह र दाइजो प्रथाको अन्त्य हुन सकेको छैन ।’ दाइजो, हिंसा र अन्य कारण मधेशमा छोरीबुहारीले ज्यान गुमाउनुपरेका घटना सबैको मानसपटलमा ताजै रहेको भन्दै रिंकुले यो कुप्रथाविरुद्धको अभियान जारी राख्ने बताइन् ।

रिंकुले भनेजस्तै मधेश प्रदेशमा आत्महत्याको ग्राफमा महिलाहरूकै संख्या उल्लेख्य छ । आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा मात्रै मधेशमा २५ सय ३१ आत्महत्याका घटना भए । जसमा महिला र बालिकाको हिस्सा मात्रै ५५ प्रतिशत छ । रिंकुले भनेजस्तै मधेशमा आत्महत्याको दरमा महिला हिंसा र दाइजोजस्ता घटना मुख्य कारकका रूपमा छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सीताराम रिजालले मधेशमा बालविवाह, दाइजो, महिला हिंसाका घटना कम नहुनुमा गरिबी र अशिक्षा मुख्य कारण रहेको बताए । ‘गरिबसँग छोरीको विवाह गर्न पैसा हुँदैन । त्यसमाथि बिहे भन्नेबित्तिकै दाइजोको कुरा आउँछ । गरिबका छोरीको कम उमेरमै विवाह हुनुमा दाइजो पनि एउटा कारण हो । दाइजोकै कारण हिंसामा परेका धेरै मुद्दा आउँछन्,’ उनले भने, ‘त्यसलाई निरुत्साहित गर्न पनि जिल्लामा विशेष अभियान चलाउँदै छौं । यसमा रिन्कु ठाकुरलाई पनि जोड्छौं ।’

रिंकुको विद्रोहका बेला जिल्ला प्रहरी कार्यालय वीरगन्जका तत्कालीन डीएसपी (हाल एसएसपी) होविन्द्र बोगटी थिए । बोगटी अहिले पनि त्यो घटना सम्झिन्छन् । रिंकुले उमेर नपुगी विवाह हुन लागेको विवाहको प्रतिवादमा त्यतिबेला प्रहरीसमक्ष भनेका कुरा उनले भुलेका छैनन् । ‘मैले नै त्यसबेला रिंकुलाई घरबाट उद्धार गरेर माइती नेपालमा आश्रय दिन सहयोग गरेको थिएँ,’ उनले पुरानो दिन सम्झिँदै सुनाए, ‘बालविवाहविरुद्ध विद्रोह गरेकी रिंकु अहिले पनि अभियानमै खटेको देख्दा खुसी लागेको छ ।’

त्यतिबेला रिंकुका निम्ति सजिलो समय थिएन । घर छाडेपछि परिवार र समाजबाट उनले विभिन्न प्रश्न र आलोचना सामना गर्नुपर्‍यो । घर छाडेपछि उनले केही समय वीरगन्जस्थित माइती नेपालको आवधिक गृहमा शरण लिइन् । त्यहाँ करिब एक वर्ष बिताएपछि उनले निजी छात्रावासमा बसेर पढाइलाई निरन्तरता दिइन् । स्नातक तह उत्तीर्ण गरेकी रिंकुले उक्त घटनापछि निरन्तर विभिन्न सामाजिक संघसंस्थामा जोडिएर बालविवाह र छोरीको अधिकारको पैरवी गरिन् ।

रिंकुलाई विद्रोह गर्ने आँट त्यसै आएको होइन । उनी १३ वर्षको उमेरदेखि नै विभिन्न बाल क्लबमा आबद्ध थिइन् । अनि बालविवाहविरुद्धका गतिविधिमा सहभागी हुँदै आएकी थिइन् । सानैदेखि सामाजिक विषयमा चासो राख्ने उनी बालबालिकाको अधिकार, शिक्षा र बालविवाहका असरबारे समुदायमा हुने छलफलमा सहभागी हुन्थिन् । त्यसै क्रममा उनले वीरगन्जकै तराई एफएममा समाचार वाचनसमेत गर्थिन् ।

माइती नेपालमा बसेका बेला र छात्रावासमा बसेर पढ्दा रिंकु गाउँका विद्यालय र टोलबस्तीमा पुगेर बालविवाहविरुद्ध जनचेतना फैलाउने काम गर्थिन् । उनले दुई वर्षभन्दा बढी समय पर्साका विभिन्न विद्यालय र टोलहरू पुगेर किशोरीलाई बालविवाह र आफूले गरेको विद्रोहबारे जानकारी गराएको उनले बताइन् । पछिल्लो समय बालविवाह रोकथामका लागि स्थानीय तहहरूसित समन्वय गर्ने, बालविवाह हुन लागेको परिवारमा सम्झाउने काम गर्दै आएकी छन् ।

महिला अधिकारकर्मी देवकी नेपालले अभिभावकले छोरीको जीवनबारे निर्णय गर्दा उनको इच्छा र सहमतिलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ भन्ने सन्देश रिंकुको विद्रोहले दिएको बताइन् । ‘अहिले उनी आफ्नो विगतको संघर्षलाई अरू महिलाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने माध्यम बनाइरहेकी छन् । रौतहटका ग्रामीण क्षेत्रमा पुगेर बालिका, महिला र अभिभावकसँग संवाद गर्छिन्,’ नेपालले भनिन्, ‘बालविवाहले किशोरीको शिक्षा र स्वास्थ्यमा पार्ने असर, दाइजो प्रथाले परिवारमा सिर्जना गर्ने आर्थिक तथा सामाजिक दबाब र महिला हिंसाविरुद्ध उपलब्ध कानुनी तथा सामाजिक अधिकारबारे जानकारी गराउन सक्रिय भएको देख्दा निकै खुसी लाग्छ । हामी अधिकारको क्षेत्रमा काम गर्नेहरू सधैं रिंकुजस्ता व्यक्तिको साथमै हुन्छौं ।’

विशेषगरी महिलाको पोषण अवस्था सुधार गर्नु उनको अहिलेको कामको महत्त्वपूर्ण पक्ष रहेको नेपालले बताइन् । ग्रामीण क्षेत्रमा महिलाले आफ्नै स्वास्थ्य र पोषणलाई प्राथमिकता नदिने अवस्था अझै रहेको रिंकुको बुझाइ छ । परिवारका अन्य सदस्यको हेरचाहमा व्यस्त हुने महिलाले आफूलाई आवश्यक पोषण र स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था परिवर्तन गर्नुपर्ने उनी बताउँछिन् । त्यसका लागि महिलालाई आफ्ना स्वास्थ्यसम्बन्धी आवश्यकता बुझाउने, पोषणको महत्त्वबारे जानकारी दिने र परिवार तथा समुदायमा महिलाको स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने विषय उठाउने काममा उनी सक्रिय छिन् । उनले आफ्नो अभियानमा महिला हिंसा र साइबर अपराधजस्ता विषयलाई पनि प्राथमिकतामा राखेकी छन् । प्रविधिको प्रयोग बढ्दै जाँदा महिलामाथि हुने अनलाइन दुर्व्यवहार र साइबर अपराधका जोखिमबारे ग्रामीण समुदायलाई जानकारी गराउनु आवश्यक रहेको उनको भनाइ छ ।

रिंकुको जीवनले परिस्थितिसँग सम्झौता नगरी आफ्नो अधिकारका लागि उभिनु गलत होइन भन्ने पाठ सिकाएको कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाशले बताए । ‘आफ्नै बालविवाहविरुद्ध उनको निर्णयले तत्कालीन अवस्थामा पारिवारिक दूरी र सामाजिक चुनौती निम्त्याए पनि त्यसले उनको शिक्षा र सामाजिक यात्रालाई रोक्न सकेन,’ उनले भने, ‘आफूले भोगेको पीडा अरूले भोग्न नपरोस् भनेर सामाजिक अभियानमा लागिरहनु नै उनको यात्राको महत्त्वपूर्ण पक्ष बनेको छ ।’ बालविवाह, दाइजो र महिला हिंसाविरुद्ध समाजमा परिवर्तन ल्याउन अझै लामो यात्रा बाँकी रहेको रिंकु बताउँछिन् । आफ्नो भविष्यका लागि एक्लै घर छाड्ने साहस गरेकी रिंकु अहिले त्यही परिवर्तनको सन्देश बोकेर रौतहटका गाउँबस्ती पुगिरहेकी छन् ।

रिंकुकी आमा मीनादेवी छोरीको त्यो विद्रोहले त्यतिबेला दुःखी भए पनि उनले हिँडेको बाटो राम्रो देख्दा खुसी लाग्ने अनुभव साट्छिन् । ‘विगतमा जे भयो त्यसलाई हामीले बिर्सिसकेका छौं । घरमा नहुँदा यादचाहिँ आउँदो रहेछ । तर पनि रिंकु अभियानकै बीचमा बेलाबेला समय मिलाएर आउँछिन् । उसको अभियानले सार्थकता पाओस्,’ उनले भनिन् ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
आफ्नै बालविवाहविरुद्ध मण्डपबाट विद्रोह गरेकी रिंकुको अभियन्ता यात्रा

आफ्नै बालविवाहविरुद्ध मण्डपबाट विद्रोह गरेकी रिंकुको अभियन्ता यात्रा

आफ्नै बालविवाहविरुद्ध मण्डपबाट विद्रोह गरेकी रिंकुको अभियन्ता यात्रा रिंकु ठाकुरको सहमतिबिना परिवारका सदस्यले उनलाई बिहे गराउन खोजे । उनले परिवारको निर्णयको प्रतिवाद गरिन् । घर छाडेर निस्किन् । अह...

#रिंकु #बालविवाहविरुद्ध #अभियन्ता
Compare →
Nagarik News
1w ago
जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले इतिहासका गल्ती नदोहोर्याओस् : बाबुराम

जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले इतिहासका गल्ती नदोहोर्याओस् : बाबुराम

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवोदित सत्तारूढ दलभित्र सरकार र पार्टीबीचको असमझदारी सार्वजनिक हुन थाल्नु देश र लोकतन्त्रको निम्ति शुभ संकेत नभएको बताएका छन्।

#विद्रोह
Compare →
Arthasansar
12h ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#विद्रोह
Compare →
Onlinekhabar
3w ago
समृद्ध मुलुकहरूमा बढ्दै विद्रोह

समृद्ध मुलुकहरूमा बढ्दै विद्रोह

मानव इतिहासको राजनीतिक समाजशास्त्रीय अध्ययनमा नागरिक असन्तोष र विद्रोहलाई लामो समयसम्म भौतिक अभाव र आर्थिक सङ्कटसँग जोडेर व्याख्या गरिन्थ्यो। गरिबी, अनिकाल, बेरोजगारी र आर्थिक वञ्चनालाई जनविद्रोह तथा सामाजिक क्रान्तिका प्रमुख कारण मानिन्थ्यो। भौतिक अभाव र …

#विद्रोह
Compare →
Bizshala
3d ago
इरान युद्धले रिपब्लिकनभित्रै विद्रोह, हेग्सेथविरुद्ध आफ्नै दलका सांसदको महाभियोग प्रस्ताव

इरान युद्धले रिपब्लिकनभित्रै विद्रोह, हेग्सेथविरुद्ध आफ्नै दलका सांसदको महाभियोग प्रस्ताव

काठमाण्डौ । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय बेहोरेपछि अमेरिकी रक्षामन्त्री पिट हेग्सेथविरुद्ध...

#आफ्नै #विद्रोह
Compare →

Related Stories

Technology
Build #2611