जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर रोकायका अनुसार शुक्रबार साँझ साढे ५ बजेतिर घरबाट खेल्न निस्किएका दुवै बालक अबेरसम्म नफर्किएपछि आफन्त र स्थानीयले खोजी सुरु गरेका थिए।
काठमाडौँ — सल्यानमा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ। जिल्लाको कालीमाटी गाउँपालिका–७ घुईयाबारीका आठ वर्षीय योगेश बुढा र अंकित बुढाको पानीमा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर रोकायका अनुसार शुक्रबार साँझ साढे ५ बजेतिर घरबाट खेल्न निस्किएका दुवै बालक अबेरसम्म नफर्किएपछि आफन्त र स्थानीयले खोजी सुरु गरेका थिए। खोजीका क्रममा प्रहरी र स्थानीयको टोलीले साँझ ७ बजेतिर बबई नदी किनारमा रहेको पानी जमेको सानो नालामा दुवै बालक डुबेको अवस्थामा फेला पारेको थियो।
उद्धार गरी स्थानीय मेडिकलमा पुर्याइएका दुवै बालकलाई मेडिकल सञ्चालकले साँझ ७ बजेर ४० मिनेटमा मृत घोषणा गरेका उनले बताए । उनीहरूको शव स्थानीय मेडिकलमै राखिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय घटनास्थलमा अनुसन्धान टोलीसमेत खटिएको र शवको मुचुल्का प्रक्रिया शनिबार बिहान गरिने सूचना अधिकारी रोकायले जानकारी दिए।
सरिता चलाउने कान्तिपुरकी सल्यान संवाददाता हुन् ।