Trending
Prev Story
Next Story

ममता काफ्ले हत्या प्रकरण : प्रमाण, बयान र अनुत्तरित प्रश्न

Ekantipur •
November 06, 2026 • 01:32 PM
1
1 reads 0 reactions

श्रीमती ममता काफ्लेको शव टुक्रा–टुक्रा पारेको र फोहोरका झोलामा फालेको स्वीकार गरेका नरेश भट्टले हत्या भने अस्वीकार गरेका छन् ।

ममता काफ्ले हत्या प्रकरण : प्रमाण, बयान र अनुत्तरित प्रश्न

श्रीमती ममता काफ्लेको शव टुक्रा–टुक्रा पारेको र फोहोरका झोलामा फालेको स्वीकार गरेका नरेश भट्टले हत्या भने अस्वीकार गरेका छन् ।

सम्पादकीय नोट : यस समाचारमा अदालतमा दिइएको बयानका क्रममा मृत्यु र शव टुक्रा–टुक्रा पारिएको घटनाको संवेदनशील विवरण पनि समेटिएका छन् । केही पाठकलाई यी विवरण पढ्दा मानसिक रूपमा असहज महसुस हुन सक्छ ।

काठमाडौँ — अमेरिकाको भर्जिनियामा ममता काफ्लेको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका श्रीमान् नरेश भट्टले श्रीमतीको शव टुक्रा–टुक्रा पारेको र फोहोरका झोलामा राखेर फालेको बिहीबार अदालतमा स्वीकार गरेका छन् । उनले ममताको हत्या गरेको आरोप भने अस्वीकार गरेका छन् । ममताले आत्महत्या गरेको उनको दाबी छ ।

प्रिन्स विलियम काउन्टी सर्किट अदालतमा बयान दिँदै ३९ वर्षीय भट्टले ३० जुलाई २०२४ आसपास मानासस पार्कस्थित घरको शयनकक्षमा ममतालाई अचेत अवस्थामा फेला पारेको बताएका छन् । उनका अनुसार ममताको नजिकै चक्की मिसिएको बान्ता र कीटनाशकको खुला भाँडो थियो । ममतालाई बचाउन करिब एक घण्टासम्म प्रयास गरेको उनको भनाइ छ । त्यतिबेला आफू आत्तिएकाले प्रहरीलाई खबर नगरेको उनले तर्क गरेका छन् ।

भट्टले ममताको मृत्युको सूचना लुकाएको र त्यसको भोलिपल्टसम्म आराले शव टुक्य्राएर फोहोरका झोलामा राखी फालेको बताएका छन् । तर उनको यो बयान घटनापछि प्रहरीलाई दिएको जानकारीभन्दा फरक छ । त्यतिबेला उनले ममता घर छाडेर गएको र सम्भवतः न्युयोर्क वा टेक्सस पुगेको बताएका थिए ।

भट्टले ३० जुलाई २०२४ आसपास ममताको हत्या गरी शव टुक्रा–टुक्रा पारेको र उत्तरी भर्जिनियाका विभिन्न स्थानमा फालेको अभियोजन पक्षले दाबी गरेको छ । भट्टमाथि प्रथम श्रेणीको हत्या, मृत शरीरको अपमान र शव लुकाएको अभियोग छ । उनले तीनै अभियोगमा आफू निर्दोष रहेको जिकिर गरेका छन् ।

ममताको शव अहिलेसम्म फेला परेको छैन । त्यसैले मुद्दाको मुख्य प्रश्न उनको मृत्यु आत्महत्याका कारण भएको थियो कि हत्या गरिएको थियो भन्ने बनेको छ ।

४ नोभेम्बरमा प्रतिरक्षा पक्षका पहिलो साक्षीका रूपमा बयान दिने क्रममा भट्टले दोभासेमार्फत आफ्नो बाल्यकाल, फेसबुकबाट ममतासँग भएको चिनजान र वैवाहिक सम्बन्धबारे बताए । छोरी जन्मिएपछि ममता एक्लिन थालेको र आफूहरूबीच सम्बन्ध बिग्रँदै गएको उनको भनाइ थियो ।

झगडाका क्रममा आफूले सम्बन्धविच्छेद गर्ने र ममताले आत्महत्या गर्ने धम्की दिने गरेको उनले बताए । आफूले ममतालाई शारीरिक दुर्व्यवहार नगरेको उनको दाबी थियो । आफ्नो सरकारी जागिर जोखिममा पर्न सक्ने डरका कारण ममताले परिचयपत्र लगेको विषयमा प्रहरीमा उजुरी गर्दा आफू आक्रोशित भएको उनले बताए ।

अभियोजन पक्षले प्रस्तुत गरेको कोलम्बियन महिलासम्बन्धी सन्देशबारे पनि उनले स्पष्टीकरण दिए । नयाँ सम्बन्ध खोजेको नभई ममतालाई ईर्ष्यालु बनाउन त्यस्ता सन्देश पठाएको उनको दाबी थियो ।

५ नोभेम्बरमा अभियोजन पक्षका वकिल म्याथ्यु स्विटले प्रतिपरीक्षण सुरु गर्दै भट्टलाई झूट बोलेको आरोप लगाए । भट्टले ममताका आफन्त, साथी, छिमेकी र प्रहरीलाई झूट बोलेको स्वीकार गरे । तर हत्या गरेको अस्वीकार गरे ।

ममताले डिसेम्बर २०२३ मा भट्टलाई पठाएका चोट लागेको अनुहार र रगत देखिएको हातका तस्बिर पनि अभियोजन पक्षले प्रस्तुत गर्‍यो । ममताले ‘यो दोस्रो पटक हो’ भनेको भिडियो सुनाइयो । त्यसको जवाफमा भट्टले ‘म सम्बन्धविच्छेदका कागजमा हस्ताक्षर गर्छु, फेरि यस्तो चाहन्नँ’ लेखेका थिए ।

अभियोजन पक्षका प्रमुख प्रमाण के हुन् ?

आरा र डीएनए : होम डिपोका सुरक्षा अनुसन्धानकर्ता मार्क हर्नान्डेजका अनुसार २ जुन २०२४ मा फेयरफ्याक्सस्थित पसलबाट रयोबी ब्रान्डको आरा, ब्लेड र ब्याट्री किट खरिद गरिएको थियो । सीसीटीभीमा भट्टजस्तै देखिने व्यक्ति ती सामान बोकेर गएको देखिन्छ ।

बगैंचाको काम गर्ने जोसे बाराजास आयालाका अनुसार भट्टले १ अगस्टमा ज्यालाका रूपमा दुई अतिरिक्त ब्याट्री र चार्जरसहितको आरा दिएका थिए । उनले ती सामान ९ सेप्टेम्बरमा प्रहरीलाई बुझाएका थिए ।

अनुसन्धानकर्ताले आरामा रगतजस्तो देखिने रातो–खैरो दाग र कपालजस्ता रेसा फेला पारेका थिए । भर्जिनियाको फरेन्सिक प्रयोगशालाकी वैज्ञानिक लोअरी प्रुघका अनुसार आराको भित्री भागबाट लिइएको नमुनासहित परीक्षण गरिएका केही सामग्रीमा भेटिएको डीएनए ममताको डीएनए प्रोफाइलसँग मेल खान्छ । भट्ट र उनकी छोरीको डीएनए भने त्यसमा देखिएन ।

ममताको प्रत्यक्ष नमुना नभएकाले घरमा भेटिएको कपाल कोर्ने ब्रसबाट उनको डीएनए प्रोफाइल तयार पारिएको थियो । भट्ट पक्षले उक्त ब्रस ममताकै हो भन्ने पुष्टि नभएको तर्क गरे पनि पूर्वफरेन्सिक वैज्ञानिक क्याथरिन कोलम्बोले त्यसमा भेटिएको डीएनए दम्पतीका छोरीकी आमाको भएको सम्भावना ९९.९९९९ प्रतिशत रहेको बताइन् ।

शयनकक्षको कार्पेटमा भेटिएको दागको डीएनए परीक्षणले पनि ममता र उनकी छोरीको डीएनए मिश्रणसँग बलियो मेल देखाएको वैज्ञानिक सुसन ग्रिन्सपुनले बताइन् । तर डीएनएले कार्पेटमा रगत कसरी पुग्यो भन्ने खुलाउन नसक्ने उनको भनाइ छ । आरामा भेटिएका तीन वटा कपालको पहिचान भने खुलेको छैन ।

फोन र गाडीको विवरण : एफबीआईका विशेष एजेन्ट टिमोथी जुडाह पेन्टका अनुसार भट्टको मोबाइल र टेस्ला गाडी प्रायः एउटै स्थानमा देखिन्थे । १ अगस्टमा गाडी च्यान्टिलीस्थित लिबर्टी ग्यास स्टेसननजिक पुगेका बेला भट्टको फोन नेटवर्कबाट बाहिर थियो । त्यही समयमा ममताको फोन पनि त्यस क्षेत्रको मोबाइल टावरमा जोडिएको थियो । अभियोजन पक्षका अनुसार त्यसपछि उनको फोन नेटवर्कमा जोडिएको छैन ।

भट्टले त्यही दिन ग्यास स्टेसननजिकको कपडा दान गर्ने स्थानमा झोला छाडेको अभियोजन पक्षले दाबी गरेको छ । प्रहरीले त्यहाँबाट बरामद गरेको एउटा झोलामा सेतो बाथ म्याट भेट्टाएको थियो । त्यसमा रगत भएको परीक्षणबाट पुष्टि भएको थियो ।

खरिद र इन्टरनेट खोजी : पसलका कर्मचारीले ३० जुलाईको बिहान भट्टले मानाससस्थित होम डिपोमा पञ्जाको मूल्य सोध्दै गरेको र लिडल स्टोरमा ४० वटा फोहोरका झोला किनेको दृश्य पहिचान गरेका थिए । ३१ जुलाईमा फेयरफ्याक्सको वालमार्टमा उनले कार्पेट सफा गर्ने सामग्री र अन्य सरसफाइका सामान किनेको देखिएको थियो ।

प्रहरीको डिजिटल अनुसन्धानमा भट्टको फोनमा ‘श्रीमती हराइन् भने के हुन्छ’ भन्ने खोजी मार्च २०२४ मै गरिएको भेटिएको थियो । ३० जुलाईमा ‘मानव मस्तिष्कको चित्र’ र ‘आफूनजिकै कुखुरा फार्म’ खोजिएको थियो । उनको सरकारी कामसम्बन्धी खाताबाट श्रीमतीको मृत्युपछि अर्को विवाह गर्न कति समय लाग्छ भन्ने खोजी पनि भएको बयान अदालतमा आएको थियो । प्रतिरक्षा पक्षले भने धेरै खोजीको समय उल्लेख नभएको तर्क गरेको छ ।

ममताका भाइ महेश काफ्लेले फेब्रुअरी २०२४ मा बहिनीले अनुहारमा चोट लागेको तस्बिर पठाउँदै आफू दुई दिनदेखि भोकै रहेको र ‘म सुरक्षित छैन’ भनेको अदालतमा बताए । त्यही महिनादेखि ममता र आमाबीच भिडियो कलको सट्टा अडियो कल मात्र हुन थालेको उनको भनाइ थियो ।

पारिवारिक मित्र आशिष संग्रौलाका अनुसार भट्टले वैवाहिक सम्बन्धमा समस्या रहेको बताएका थिए । तर आफूले दम्पतीबीच हिंसा नदेखेको उनको भनाइ थियो । उनकी पत्नी दीपा ओलीका अनुसार भट्टले आफू अब उक्त सम्बन्ध अघि बढाउन नचाहेको बताएका थिए । छिमेकीहरूले पनि भट्टले सम्बन्धविच्छेदको कुरा गर्ने गरेको तर श्रीमती हराएकोबारे कहिल्यै नभनेको बयान दिएका थिए ।

अदालतमा ममताले घरेलु विवादका कारण प्रहरी बोलाएको र १४ फेब्रुअरी २०२४ मा आफ्नै बैंक खाता खोलेको विवरण पनि प्रस्तुत गरिएको थियो ।

अभियोजन पक्षले ८० भन्दा बढी साक्षीको बयान लिएपछि सोमबार आफ्नो पक्षको सुनुवाइ टुंग्याएको थियो । त्यसपछि प्रतिरक्षा पक्षले मुद्दा खारेज गर्न माग गरे पनि न्यायाधीश किम्बर्ली इर्भिङले अस्वीकार गरिन् । अब ९ नोभेम्बरमा भट्टको थप बयान र प्रतिरक्षा पक्षका एक साक्षीको सुनुवाइ हुनेछ । त्यसपछि अभियोजन पक्षले जवाफी साक्षी प्रस्तुत गर्ने अपेक्षा छ । १० नोभेम्बरमा अन्तिम बहस र १२ नोभेम्बरसम्ममा फैसला आउने अनुमान गरिएको छ ।

प्रतिरक्षा पक्षले घटनास्थलमा प्रहरी अधिकारीहरू पञ्जा नलगाई प्रवेश गरेको, प्रयोगशालाले सबै सामग्री परीक्षण नगरेको र नेपाली भाषाका संवादको अनुवादमा त्रुटि हुन सक्ने भन्दै अभियोजन पक्षका प्रमाणमाथि प्रश्न उठाएको छ । सुरुदेखि नै उसले अभियोजन पक्षले प्रमाणभन्दा अनुमानका आधारमा मुद्दा अघि बढाएको तर्क गर्दै आएको छ ।

भट्टको बयान र अभियोजन पक्षको दाबीबीच शव टुक्य्राइएको र फोहोरका झोलामा राखिएको विषयमा समानता छ । तर ममताको मृत्युको कारण र ती झोलामा के थियो भन्नेमा दुवै पक्षको भनाइ फरक छ । अभियोजन पक्षले उनले शवका टुक्रा डम्पस्टर र फोहोर थिच्ने मेसिनमा फालेको दाबी गरेको छ भने भट्टले झोलामा ममताका सामान रहेको बताएका छन् ।

ममताको शव नभेटिएकाले मृत्युको कारणबारे चिकित्सकीय प्रमाण उपलब्ध छैन । आरामा भेटिएका कपाल कसका हुन् र कार्पेटमा डीएनए कसरी पुग्यो भन्ने प्रश्न पनि अनुत्तरित छन् । अब भट्टले नै उनको हत्या गरेको हो भन्ने कुरा अभियोजन पक्षले शंकारहित रूपमा प्रमाणित गर्न सकेको छ कि छैन भन्ने निर्णय अब न्यायाधीशले गर्नुपर्नेछ ।

आर्या चन्द कान्तिपर मिडिया ग्रुपकी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
ममता काफ्ले हत्या प्रकरण: पति नरेशलाई दोषी ठहर गर्ने ६ आधार

ममता काफ्ले हत्या प्रकरण: पति नरेशलाई दोषी ठहर गर्ने ६ आधार

काठमाडौं- अमेरिकाको भर्जिनियामा ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई दोषी ठहर गर्न अभियोजन पक्षले एउटै प्रमाणमा भर परेको थिएन । घटनास्थलमा भेटिएको रगत, डीएनए परीक्षण, शव टुक्राट...

#ममता #हत्या #काफ्ले
Compare →
Arthasansar
2d ago
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स...

#ममता #हत्या #काफ्ले
Compare →
Bizshala
2d ago
शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

काठमाण्डौ । भर्जिनियाको मनासस पार्कबाट नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको दुई वर्ष नाघिसकेको छ । उनको शव...

#ममता #हत्या #प्रकरण
Compare →
Onlinekhabar
2d ago
ममता काफ्ले ह*त्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

ममता काफ्ले ह*त्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

२५ कात्तिक, काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । १० नोभेम्बर २०२६ मा जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव विकृत बनाएको …

#ममता #हत्या #काफ्ले
Compare →
Nagarik News
3d ago
ममताकी आमा र छोरीलाई भेट्दा भावुक भइन् समीक्षा अधिकारी

ममताकी आमा र छोरीलाई भेट्दा भावुक भइन् समीक्षा अधिकारी

२८ वर्षीया ममता सन् २०२४ जुलाईको अन्तिम सातादेखि भर्जिनियास्थित आफ्नै घरबाट बेपत्ता भएकी थिइन्।

#ममता #काफ्ले
Compare →

Related Stories

World News
Build #2611