पाल्पामा स्थानीय तहका बिभिन्न पहलले विद्यार्थीको उपस्थिति, पोषण, स्वास्थ्य र सिकाइ सुधार्दै सार्वजनिक विद्यालयप्रति विश्वास बढाउने आधार तयार गरेका छन्।
पाल्पा — सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न पाल्पाका स्थानीय तहले फरक–फरक अभ्यास गर्दै आएका छन् । केही पालिकाले कक्षा १० सम्मका विद्यार्थीलाई खाजाको व्यवस्था गरेका छन् भने कतिपयले प्रविधिमैत्री शिक्षण, विद्यालय नर्स कार्यक्रम र विद्यालय समायोजनमार्फत शैक्षिक सुधारको प्रयास गरेका छन् ।
दुई नगरपालिका र आठ गाउँपालिकाले प्रस्तुत गरेका असल अभ्यासमा विद्यालयमा प्रोजेक्टर र स्मार्टबोर्ड उपलब्ध गराएर डिजिटल शिक्षणलाई प्राथमिकता दिएको पाइएको लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रामजी घिमिरेले बताए । यसले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नभई श्रव्यदृश्य माध्यमबाट सिक्ने अवसर दिएको उनको भनाइ थियो ।
‘विद्यालयमा आवश्यक पूर्वाधार विकाससँगै निःशुल्क र गुणस्तरीय शिक्षालाई पनि जोड दिएको पाइयो,’ तानसेनमा आयोजित विद्यालय तहको सार्वजनिक शिक्षा रूपान्तरणमा स्थानीय तहले गरेका असल अभ्याससम्बन्धी कार्यक्रममा उनले भने, ‘विद्यार्थीको नियमित उपस्थिति र पोषणमा सुधार ल्याउने उद्देश्यले केही पालिकाले कक्षा १० सम्म दिवा खाजाको व्यवस्था गरेको राम्रो पक्ष लाग्यो ।’
कतिपय विद्यालयले विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै विद्यालय नर्स कार्यक्रम सञ्चालन गरेर राम्रो काम गरेको पनि मन्त्री घिमिरेले बताए । आवश्यकताअनुसार शिक्षक तथा अन्य व्यवस्थापन मिलाउन केही पालिकाले विद्यालय समायोजनसमेत गरेका छन् ।
सिकाइ उपलब्धि सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन, शिक्षकको क्षमता विकास र विद्यालयको शैक्षिक वातावरण सुधारमा स्थानीय तहले पहल गरेको पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर रानाले बताए । यस्ता प्रयासले विद्यालयको सिकाइ उपलब्धि बढाउन सहयोग पुगेको उनको भनाइ थियो ।
सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार मात्र पर्याप्त नहुने लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री खेमबहादुर सारुले बताए । विद्यार्थीले निःशुल्क शिक्षाको वास्तविक अनुभूति गर्न पाउनुपर्ने, शैक्षिक सामग्री तथा बालमैत्री खेल सामग्री उपलब्ध हुनुपर्ने र विज्ञान प्रयोगशाला तथा कम्प्युटर शिक्षालाई प्रभावकारी बनाउनुपर्ने उनको सुझाव थियो ।
शिक्षकलाई नियमित तालिम र प्रोत्साहनको व्यवस्था गर्नुपर्ने जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले बताए । जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाइ र सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा स्थानीय तहले प्रस्तुत गरेका असल अभ्यासबाट सिकाइ उपलब्धिमा सुधार आएको देखिएको उनले बताए ।
विद्यालयको नियमित अनुगमन, सिकाइ उपलब्धिको मूल्यांकन र न्यूनतम गुणस्तर मापदण्ड बनाएर कार्यान्वयन गर्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख प्रेमराज खरेलले बताए । निःशुल्क शिक्षाका लागि दिवा खाजा व्यवस्थापन, छात्रवृत्ति, असहाय तथा अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण र छोरी शिक्षा कार्यक्रमले सिकाइ उपलब्धि सुधारमा सहयोग गरेको उनको भनाइ थियो ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला समन्वय समिति पाल्पा र सामाजिक स्रोत विकास केन्द्र नेपालको सहकार्यमा आयोजित कार्यक्रममा गुणस्तरीय शिक्षाका लागि शिक्षक तथा विद्यार्थी प्रोत्साहन, योजना निर्माण र करार सम्झौताजस्ता कार्यक्रमले पनि सिकाइ उपलब्धिमा सुधार ल्याएको बताइएको थियो ।
बालमैत्री शिक्षा, विद्यालय घेराबार, बालमैत्री भौतिक संरचना, शौचालय, खानेपानी व्यवस्थापन र विपद् जोखिम न्यूनीकरणका कामले शिक्षण सिकाइमा सहयोग पुगेको सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख लक्ष्मण घिमिरेले बताए ।
नैतिक शिक्षा, स्काउट, व्यावहारिक सीप विकास, अभिभावक शिक्षा, शिक्षकलाई ल्यापटप वितरण, प्रोजेक्टर र स्मार्टबोर्डको व्यवस्था तथा शिक्षकको क्षमता विकासका कार्यक्रमले शिक्षामा सूचना प्रविधिको प्रयोग बढाएको नेपाल शिक्षक महासंघ पाल्पाका अध्यक्ष कृष्णबहादुर थापाले बताए ।
विद्यालय व्यवस्थापनमा अभिभावकको सहभागिता, विद्यार्थीको नतिजाप्रति शिक्षकलाई जवाफदेही बनाउने, नियमित सामाजिक लेखापरीक्षण र शैक्षिक परीक्षणले पनि सिकाइ उपलब्धिमा सहयोग पुगेको पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए ।
दुई नगरपालिका र आठ गाउँपालिकाले सार्वजनिक शिक्षा सुधारका लागि गरेका अभ्यास सम्बन्धित पालिकाका शिक्षा शाखा प्रमुखले कार्यक्रममा प्रस्तुत गरेका थिए ।
रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बालमैत्री भौतिक पूर्वाधार, विद्यार्थीसँग करेसाबारी, सबै विद्यालयमा कम्तीमा एउटा प्रोजेक्टर, दिवा खाजा र पालिकास्तरीय परीक्षाजस्ता कार्यक्रम प्रभावकारी भएको बताए ।
माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले अतिरिक्त क्रियाकलाप, शैक्षिक सामग्री प्रदर्शनी, खेलकुद प्रतियोगिता, प्रतिभा प्रस्फुटन, नियमित अनुगमन, अभिभावक अनुगमन तथा सहयोग, पढ्दै कमाउँदै र विद्यार्थीसँग कृषि तथा करेसाबारी कार्यक्रमले सिकाइ उपलब्धि बढाउन सहयोग पुगेको बताए ।
तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले प्रविधिमैत्री शिक्षासँगै विद्यालय समायोजन र आवासीय विद्यालय व्यवस्थापनजस्ता कार्यले सिकाइ उपलब्धिमा सहयोग पुगेको बताए । रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराईले विद्यार्थीसँग कृषि, विद्यालय नर्स कार्यक्रम, दुर्घटना बीमा तथा विपन्न र अपांगता भएका विद्यार्थीलाई ल्यापटप वितरणजस्ता कार्यले सिकाइ उपलब्धि बढाएको बताए ।
तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले छोरी शिक्षा कार्यक्रम, अतिरिक्त क्रियाकलाप र प्रधानाध्यापकसँग करार सम्झौताजस्ता कार्यले पनि सिकाइ उपलब्धि बढाउन सहयोग गरेको बताए । पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती र रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमनप्रकाश पोखरेलले विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै शिक्षामा लगानी बढाउँदै लगेको बताए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, विद्यार्थी र अभिभावकले स्थानीय तहले शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति पाल्पा र सामाजिक स्रोत विकास केन्द्र नेपालले १० वटै स्थानीय तहका २० विद्यालयमा निःशुल्क तथा गुणस्तरीय शिक्षासम्बन्धी गरेको सर्वेक्षणको नतिजा शिक्षा अभियन्ता चोपलाल गिरीले प्रस्तुत गरेका थिए ।
माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।