विशेष सूचनापछि बाबियाचौर प्रहरी टोलीले पानीडाँडा सामुदायिक वनमा खोजी गर्दा तीन बेसाबुत र पाँच साबुत बन्दुक फेला पारेको हो।
सुर्खेत — सुर्खेतको बराहताल गाउँपालिका–७ स्थित सामुदायिक वनबाट प्रहरीले आठ थान भरुवा बन्दुक बरामद गरेको छ।
पानीडाँडा सामुदायिक वनमा भरुवा बन्दुक लुकाइछिपाइ राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले बुधबार दिउँसो खोजतलास गरेको थियो।
इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमाण्डमा खटिएको टोलीले वनमा बेवारिसे अवस्थामा बन्दुक फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बरामद गरिएका बन्दुकमध्ये तीन थान बेसाबुत र पाँच थान साबुत छन्। प्रहरीले बन्दुक बरामद गरी साँझ ८ बजे इलाका प्रहरी कार्यालय बाबियाचौरमा ल्याएको थियो। बरामद हतियारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।