Trending
Prev Story
Next Story

चितवनका सामुदायिक वनमा पर्यापर्यटन: मध्यवर्तीमा सफारी, अन्यमा पार्क र पिकनिकस्थल

Ekantipur •
November 13, 2026 • 11:31 AM
1
1 reads 0 reactions

चितवन निकुञ्जका मध्यवर्ती वनले जीप, हात्ती र डुङ्गा सफारीबाट करोडौँ आम्दानी गर्दा निकुञ्जबाहिरका ९३ वनमध्ये ३४ मा मात्रै पर्यापर्यटन गतिविधि भइरहेका छन्।

चितवनका सामुदायिक वनमा पर्यापर्यटन: मध्यवर्तीमा सफारी, अन्यमा पार्क र पिकनिकस्थल

चितवन निकुञ्जका मध्यवर्ती वनले जीप, हात्ती र डुङ्गा सफारीबाट करोडौँ आम्दानी गर्दा निकुञ्जबाहिरका ९३ वनमध्ये ३४ मा मात्रै पर्यापर्यटन गतिविधि भइरहेका छन्।

चितवन — चितवनका मध्यवर्ती सामुदायिक वनले जीप, हात्ती र डुङ्गा सफारी चलाएर वार्षिक करोडौँ रुपैयाँ आम्दानी गरिरहेका छन्। तर निकुञ्जबाहिरका सामुदायिक वनमा भने पर्यापर्यटनको सम्भावना हुँदाहुँदै पनि अपेक्षित गतिविधि विस्तार हुन सकेको छैन।

कतै पार्क र पिकनिकस्थल बनेका छन् त कतै सफारी र चरा अवलोकनको योजना अलपत्र छ। संरक्षणसँगै स्थानीयको आम्दानी बढाउने माध्यम बन्न सक्ने पर्यापर्यटनमा सामुदायिक वनको लगानी र पहल भने कमजोर देखिएको छ।

चितवनको ज्ञानेश्वर सामुदायिक वन उत्कृष्ट सामुदायिक वनभित्र पर्दछ। भरतपुर महानगरपालिका–१६, मंगलपुरमा नारायणी नदीको आडमा रहेको यो वनमा दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा पनि पाइन्छ। सदरमुकाम भरतपुर र नारायणगढ बजारबाट पाँच–सात किलोमिटर पश्चिममा रहेको ज्ञानेश्वर सामुदायिक वनमा हिउँदमा वनभोज (पिकनिक) खान जानेको चहलपहल हुन्छ।

वनका अध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार पिकनिक खान आउनेको सुविधाका लागि २० वटा सेड (जस्ताले छाएका टहरा) बनाइएका छन्। आडैमा उद्धार गरिएका साना जीवजन्तु राख्न मिनी चिडियाखाना छ। पानीको फोहरा छुट्ने (वाटर फाउन्टेन) सहितको पार्क पनि छ। वनले वार्षिक ९० लाख रुपैयाँको हाराहारीमा आम्दानी गर्ने गरेको उनले बताए। त्यसमध्ये पिकनिकस्थल र पार्कबाट मात्रै ३० लाख रुपैयाँ आम्दानी हुन्छ।

‘गैंडा हाम्रोमा प्रशस्तै छन्। तर गैंडा देखाउन सफारी सुरु गर्न सकिएको छैन। वनभित्र पर्यटक बस्न मिल्ने मचान पनि तयार छ। जीप सफारीका लागि निवेदन आह्वान गरेका थियौँ। निवेदन पनि आएका थिए। तर सुरु भएको छैन,’ अध्यक्ष पौडेलले भने। ज्ञानेश्वरसहित पश्चिमतर्फ रहेका सेतीदेवी र सिद्धिगणेश सामुदायिक वनसँग मिलेर पर्यापर्यटनका गतिविधि सुरु गर्ने योजना रहेको उनले बताए।

वनभित्र सफारी सुरु गर्ने ज्ञानेश्वर सामुदायिक वनको चाहना अझै पूरा हुन सकेको छैन। तर चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका मध्यवर्ती सामुदायिक वनले निकुञ्जभित्र सञ्चालन हुनेजस्तै जीप सफारी, हात्ती सफारी र डुङ्गा सफारी चलाएर राम्रो आम्दानी गर्दै आएका छन्।

चितवन निकुञ्जका सूचना अधिकारीसमेत रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको आडमा ७९ वटा मध्यवर्ती सामुदायिक वन छन्। ‘पर्यापर्यटनबाट एउटै मध्यवर्ती सामुदायिक वनले वर्षमा ६ देखि सात लाख रुपैयाँसम्म कमाएको देखिन्छ,’ संरक्षण अधिकृत तिवारीले भने।

भरतपुरस्थित डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत (डीएफओ) विष्णुप्रसाद आचार्यले चितवनमा मध्यवर्ती क्षेत्रबाहिर ९३ वटा सामुदायिक वन रहेको जानकारी दिए। ‘तर पर्यापर्यटनको कुरा गर्दा सामुदायिक वनहरू कमजोर अवस्थामा रहेको पाइयो,’ उनले भने।

डिभिजन वन कार्यालयले कात्तिक २० गते भरतपुरमा आयोजना गरेको सामुदायिक वनहरूमा पर्यापर्यटनको अवस्थाबारे छलफल कार्यक्रममा प्रस्तुत गर्न डीएफओ आचार्यले सामुदायिक वनहरूबाट सूचना संकलन गरेका थिए। ‘३४ वटा सामुदायिक वनमा पर्यापर्यटनका केही न केही कार्यक्रम रहेछन्। ती पनि भरतपुर–पदमपुर क्षेत्रमा धेरै छन्,’ उनले भने।

डीएफओ आचार्यका अनुसार सामुदायिक वनभित्र १५१ वटा पिकनिकस्थल छन्। ११ वटा वनमा भ्यु टावर छन्। चितवनको कंकाली सामुदायिक वनले स्वीमिङ पुलसमेत सञ्चालन गरेको छ। सातवटा सामुदायिक वनले जीप सफारी पनि सुरु गरेका छन्। ‘बरण्डाभार जंगलको उत्तरी क्षेत्रका केही वनमा साँझ अर्थात् इभिनिङ जीप सफारी चलाउने योजना पनि छ,’ उनले भने।

सरकारी नीतिले सामुदायिक वनलाई पर्यापर्यटनमा लाग्न प्रोत्साहित गरेको आचार्य बताउँछन्। ‘वन भनेको काठदाउराका लागि मात्रै हो भन्ने मान्यता छ। वन कार्यालयले पनि काठदाउराको काम मात्रै गर्छ भन्ने गरिन्छ। अब यो मान्यताबाट बाहिर निस्कनुपर्छ,’ डीएफओ आचार्यले भने। मध्यवर्ती क्षेत्रमा काठ र अन्य वन पैदावारबाट भन्दा पर्यापर्यटनबाट राम्रो आम्दानी हुने देखिएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को सौराहा कार्यालयमा कार्यरत ऋषि सुवेदीले पनि यही विषयमा अध्ययन गर्दै आएका छन्। ‘१५/२० वर्षअघि सामुदायिक वनका हेरालु (चौकीदार) लाई तलब खुवाउन नसकेको सौराहानजिकैको बाघमारा मध्यवर्ती सामुदायिक वनले अहिले हात्ती सफारी र डुङ्गा सफारीबाट वर्षमा तीन करोड रुपैयाँको हाराहारीमा आम्दानी गर्छ,’ सुवेदीले भने।

बाघमारा मध्यवर्ती सामुदायिक वनको आडबाट बग्ने बूढीराप्ती खोलामा पहिले तत्कालीन बछौली गाविसले वर्षको ९० हजार रुपैयाँमा माछा मार्ने ठेक्का लगाउँथ्यो। पछि वन समितिले डुङ्गा सफारी सुरु गर्‍यो। यसले माछा संरक्षणमा पनि सहयोग पुग्यो। अहिले बूढीराप्तीको बाघमारा क्षेत्र दुर्लभ घडियाल गोहीको राम्रो बासस्थल बनेको छ। कुल आम्दानीमध्ये दुई करोड रुपैयाँको हाराहारीमा डुङ्गा सफारीबाट हुने सुवेदीले बताए।

चितवन निकुञ्जका संरक्षण अधिकृत गणेश तिवारीका अनुसार कुमरोज मध्यवर्ती सामुदायिक वनले वर्षमा पाँच करोड ७२ लाख रुपैयाँ आम्दानी गर्दा वन पैदावारबाट जम्मा नौ लाख रुपैयाँ मात्रै कमाएको थियो। त्यसैले पर्यापर्यटनले संरक्षणमा सघाउनुका साथै स्थानीयको आम्दानी पनि बढाउने उनले बताए। ‘तर प्राकृतिक स्रोत र वन्यजन्तु नै पर्यटनको आधार हो भन्ने मर्मलाई केन्द्रमा राख्नुपर्छ,’ उनले भने।

चितवन निकुञ्ज घुम्न वर्षमा तीन लाखको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आउने तिवारीले जानकारी दिए। ‘पर्यटकको संख्या योभन्दा पनि बढ्ने सम्भावना छ। तर निकुञ्जभित्र धेरै चाप पार्नु हुँदैन। सामुदायिक वनमा पर्यटकीय गतिविधि फस्टाए निकुञ्जमा चाप कम पर्छ,’ उनले भने। सामुदायिक वनभित्र पर्यटक लैजान आवश्यक पूर्वाधार तयार हुनुपर्ने उनको भनाइ छ। ‘वन्यजन्तुका लागि पर्याप्त घाँसेमैदान र सिमसार हुनुपर्छ। भएका सिमसारको उचित व्यवस्थापन गर्नुपर्छ। सफारीका लागि उपयुक्त बाटो निर्माण गर्नुपर्छ। हाम्रो योजनाले पर्यटन र संरक्षणलाई जोडेर लैजानुपर्छ,’ एनटीएनसीका सुवेदीले जोड दिए। उचित योजनासँगै त्यसको पर्याप्त अनुगमन हुनुपर्ने र स्थानीयको अपनत्व कायम राख्न उनीहरूकै नेतृत्वमा कार्यक्रम बन्नुपर्ने उनको सुझाव छ।

सफारी कार्यक्रम सुरु गर्न सामुदायिक वन समितिले तत्काल लगानी गर्न सक्ने अवस्था नरहेको ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए। एउटा मात्रै वनमा सफारी चलाउनुभन्दा मिलेर सञ्चालन गर्नु उपयुक्त देखिएको उनको भनाइ छ। लगानी जुटाउन र सहकार्यको खाका तयार गर्न समय लागेको उनले बताए। ‘हाम्रो जोड पनि पर्यापर्यटनलाई नै बढावा दिने छ। त्यहीअनुसार तयारीमा जुटेका छौँ,’ उनले भने।

डीएफओ आचार्यका अनुसार मैदानी क्षेत्रमा मात्रै नभएर पहाडी भेगका सामुदायिक वन पनि पर्यापर्यटनको आधार बन्न सक्छन्। ‘चितवनको पहाडी भेगमा चिउरीका रूख प्रशस्तै पाइन्छन्। त्यहाँ १३ किलोमिटरको हाइकिङ रुट बनाउन सकिन्छ। यसले आदिवासी चेपाङ समुदायको जीवनस्तर उकास्न मद्दत पुग्छ,’ आचार्यले भने। सामुदायिक वनमा चरा अवलोकनको सम्भावना पनि रहेको उनले बताए।

नेपाल पन्छीविद् संघका केन्द्रीय अध्यक्ष हठन चौधरी चितवनका सबै सामुदायिक वन चराका लागि राम्रो बासस्थल भएको बताउँछन्। उनका अनुसार नेपालमा मात्रै पाइने काँडे भ्याकुर चितवनको उपरदाङगढी क्षेत्रमा भेटिन्छ। नेपालबाट लोप भएको भनिएको सिम्रिकाने लियोसिक्ला १७८ वर्षपछि उपरदाङगढी क्षेत्रको जंगलमा भेटिएको चौधरीले जानकारी दिए। पानीमा आश्रित चरा पनि यहाँ प्रशस्तै पाइन्छन्।

चरा हेर्न आउने पर्यटकले राम्रो खर्च गर्ने चौधरीले बताए। चरा देखाउने नेचर गाइडले अन्य गाइडले भन्दा दुई–तीन गुणा बढी शुल्क लिने उनको भनाइ छ। विश्वमा चरा अवलोकनमा रुचि राख्ने पर्यटकको संख्या बढ्दो क्रममा रहेको उनी बताउँछन्। ‘तर नेपालमा काठमाडौंनजिकै फूलचोकीबाहेक चरा नै देखाउने कार्यक्रम खासै राखेको पाइँदैन। चितवनले त्यो सम्भावनालाई समात्नुपर्छ,’ चौधरीले भने।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
चितवनका सामुदायिक वनमा पर्यापर्यटन: मध्यवर्तीमा सफारी, अन्यमा पार्क र पिकनिकस्थल

चितवनका सामुदायिक वनमा पर्यापर्यटन: मध्यवर्तीमा सफारी, अन्यमा पार्क र पिकनिकस्थल

चितवनका सामुदायिक वनमा पर्यापर्यटन: मध्यवर्तीमा सफारी, अन्यमा पार्क र पिकनिकस्थल चितवन निकुञ्जका मध्यवर्ती वनले जीप, हात्ती र डुङ्गा सफारीबाट करोडौँ आम्दानी गर्दा निकुञ्जबाहिरका ९३ वनमध्ये ३४ मा म...

#चितवन #पर्यापर्यटन #सफारी
Compare →
Onlinekhabar
3h ago
कारको ठक्करबाट चितवनमा एक पैदलयात्रीको निधन

कारको ठक्करबाट चितवनमा एक पैदलयात्रीको निधन

२७ कात्तिक, चितवन । चितवनमा कारको ठक्करबाट एक जना पैदलयात्रीको निधन भएको छ । भरतपुर महानगरपालिका–१६ फुर्तीचोकस्थित सडकमा फुर्तीचोकबाट नविन चोकतर्फ जाँदै गरेको बा.प्र.०१–०३४ च ९२२१ नम्बरको ईभीले सोही महानगरपालिका–१५ बस्ने ३० वर्षीया पार्बती भुजेललाई ठक्कर …

#चितवन #वनमा
Compare →
Arthasansar
1h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#चितवन
Compare →
Nagarik News
1h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#चितवन
Compare →

Related Stories

World News
Build #2611