Trending
Prev Story
Next Story

म्यारिज खेल : संयोग कति, सीप कति ?

Ekantipur •
November 06, 2026 • 08:31 AM
1
1 reads 0 reactions

कान्तिपुरले एक लाख खेलको सिमुलेसनमार्फत गरेको विश्लेषणले म्यारिजको टेबलमा संयोग, सम्भावना र सीपबीचको सम्बन्ध केलाएको छ ।

म्यारिज खेल : संयोग कति, सीप कति ?

कान्तिपुरले एक लाख खेलको सिमुलेसनमार्फत गरेको विश्लेषणले म्यारिजको टेबलमा संयोग, सम्भावना र सीपबीचको सम्बन्ध केलाएको छ ।

काठमाडौँ — दसैं-तिहार जस्ता चाडपर्व धेरैका लागि आफन्त र साथीभाइसँगको भेटघाट, गफगाफ र खानपिन सँगसँगै तास खेल्ने रमाइलो अवसर पनि हो । कुनै न कुनै बेला कसै न कसैले भनिहाल्छ-  म्यारिज खेल्ने ?

तीन सेट । हरेक खेलाडीका हातमा २१ पत्ती। पहिलो चाहना टनेला । तीन सिक्वेन्स, जोक्कर काट्ने, पप्लु, टिप्लु, अल्टर टिप्ने, अनि खेलकै नाम बोकेको  म्यारिज पार्ने । अनि हिसाब- कसलाई कति माल पर्‍यो, कसले कति जित्यो। अनि अर्को राउन्ड ।

म्यारिज संयोगको खेल हो कि सीपको भन्ने प्रश्नमा नेपालका अदालतहरूमा पनि बहस भएको छ ।  २०६३ सालमा सर्वोच्च अदालतले यसलाई संयोगकै खेल मान्दै सम्पत्ति हारजित हुने गरी खेलमा जुवा मानिने फैसला गरेको थियो ।

तर यो बहसलाई अहिले अदालतकै बेञ्चमा छाड्दै टेबलमा जाऔँ- म्यारिजको टेबलमा ।

सुरुमै टनेला आउनु  त ठूलो संयोग पो हो । तीन बुकमा थप तीन वटा जोक्कर मिसाएपछिको १५९ पत्ती, पाँच जना खेलाडीलाई बाँड्दा तपाईंलाई टनेला पर्ने सम्भावना कति हुन्छ ?

कान्तिपुर ले पाँच खेलाडीबीच म्यारिजका एक लाख खेल सिमुलेसन गरी निकालेको हिसाबअनुसार औसतमा १० खेलमा एक पटक मात्र।

सुरुमै तीन सेट मिलेर माल हेर्न/काट्न पाउने सम्भावना कति हुन्छ होला ? टनेलाभन्दा सुरुमै तीन सेट पर्ने सम्भावना थोरैले बढी हुन्छ- १०० मध्ये १२ गेममा।

तर, सधैं सुरुमै तीन सेट त कहाँ पर्छ र ? उसोभए सामान्यतया कति सेट पर्छ होला ? १०० मा करिब ७३ खेलमा तपाईंलाई सुरुमै एक वा दुई सेट पर्ने सम्भावना छ । १५ खेलमा एउटा पनि सेट पर्दैन। एक खेलमा त तीन वटाभन्दा बढी सेट सुरुमै पर्नसक्छ ।

खेलको नामै म्यारिज । म्यारिज कत्तिको पर्छ, त्यो सम्भावनाबारे पनि हेरौं । खेल्दै जाँदा तासको बुकबाट तान्ने वा छेउको साथीले फालेकोबाट टिप्ने पत्ती निश्चित नहुने भएकाले हामीले म्यारिज को सम्भावनालाई सुरुमा बाँडिएका २१ पत्तीमा सीमित गरेर हेरेका छौं। आफैंले माल काटेको होस् वा अरूले, सुरुमा बाँडिएका २१ पत्तीभित्रैबाट म्यारिज पर्ने सम्भावना ३६ खेलमा एक पटक मात्र देखिन्छ। अर्थात् १०० मा करिब तीन पटक मात्र ।

माल पनि त सधैं परिराख्दैन । तर, सधैं साथ पनि त छाड्दैन । १०० मध्ये ६० खेलमा सुरुमा बाँडिएका २१ पत्तीमै एक वा दुई पत्ती माल परेको हुन्छ । त्यसमध्ये कति जोगाउन सक्नुहुन्छ ? वा प्राय: अल्टर नै फालेर पो माल हेर्नुहुन्छ कि ? त्यो तपाईंको कुरा !

टनेला पर्नु, एकैपत्ती नतानी माल काट्न/हेर्न पाउनु वा म्यारिज पार्नु- के तपाईंलाई आफू भन्दा अरुले यस्तो करामत धेरै गरेजस्तो लाग्छ ? राम्रो पत्ती सधैं अरूकै हातमा परेजस्तो लाग्नु किन स्वभाविकै छ भने खेलमा पाँच जना छन्, तपाईंलाई टनेला पर्ने सम्भावना १०० मा १० हुँदा, टेबलमा कसै न कसैलाई पर्ने सम्भावना १०० मा ४१ पुग्छ ।

सर्वोच अदालतले भनेझैं- म्यारिज संयोगका आधारमा खेलिने खेल त हो । तर, त्यो संयोगलाई तपाईंका वरिपरिका खेलाडीले कुन पत्ती फालिसके भनेर सम्झनु भो र त्यसैअनुसार खेल्नु भो भने त्यसले फरक पार्छ- कम्तीमा गणितीय रूपमा ।

उदाहरणका लागि, तपाईंलाई जुन पत्ती चाहिएको छ- बुकका तीनमध्ये त्यो एउटा पनि पत्ती खसिसकेको छैन भने १० पटकसम्म बुकबाट कुनै तास तान्दा त्यो पत्ती तपाईंलाई पर्ने सम्भावना २३ प्रतिशत हुन्छ, जबकि दुई वटा खसिसकेका छन् भने बाँकी एउटा पत्ती तपाईंलाई नै आउने सम्भावना ८ प्रतिशतमा झर्छ ।

सर्वोच्च अदालतको फैसलाअनुसार म्यारिज खेल जुवाको परिभाषाभित्र त पर्छ, तर सम्पत्ति हार्ने वा जित्ने गरी बाजी राखिएको छ भने मात्रै। त्यसैले समस्या म्यारिज खेलमा होइन, त्यसमा राखिने बाजीमा हो ।

यो विश्लेषण क्लड एआईको सहायतामा पाइथनमा लेखिएको कम्प्युटर सिमुलेसनमा आधारित छ । तीन बुक तास र तीनवटा जोक्करसहित १५९ पत्ती फिटेर पाँच खेलाडीलाई २१-२१ पत्ती बाँड्ने र माल पल्टाउने प्रक्रिया एक लाख पटक दोहोर्‍याइएको छ ।

विश्लेषणमा सुरुमा बाँडिएका २१ पत्ती मात्र हेरिएको छ- पत्ती तान्ने, फाल्ने र खेल जित्ने प्रक्रिया समावेश छैन ।

तुफान न्यौपाने कान्तिपुर दैनिकमा राजनीति, न्याय प्रणाली तथा सुशासनसम्बन्धी रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
दीपावली र छठ : परम्परागत पुर्ख्यौली सीपबाट आर्जनको अवसर

दीपावली र छठ : परम्परागत पुर्ख्यौली सीपबाट आर्जनको अवसर

महोत्तरी– मधेसको मिथिला क्षेत्र अहिले दीपावली र छठ पर्वको उमङ्गमा छ । कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावली पर्व अहिले जारी छ । दीपावली र यो सम्पन्न भएलगत्तैको ...

#सीप
Compare →
Bizshala
5d ago
लक्ष्मीपूजाको साँझ आफैंलाई गर्नुपर्ने एउटा प्रश्नः वर्षभरि कमाएको पैसा कति जोगियो ?

लक्ष्मीपूजाको साँझ आफैंलाई गर्नुपर्ने एउटा प्रश्नः वर्षभरि कमाएको पैसा कति जोगियो ?

काठमाण्डौ । आज साँझ घरका मूलढोकामा दियो बल्नेछन्। धन र समृद्धिकी देवी महालक्ष्मीको पूजा गर्न कतै नगद र गरगहना राखिनेछन्,...

#कति
Compare →
Nagarik News
1w ago
दुर्गम गाउँका विद्यार्थीले पहिलोपटक सिके रोबोटिक्स र प्रविधिको सीप

दुर्गम गाउँका विद्यार्थीले पहिलोपटक सिके रोबोटिक्स र प्रविधिको सीप

उनले कर्णालीले अब आविष्कारको नेतृत्व गर्नुपर्नेमा जोड दिए। ‘कर्णालीले अब आविष्कारको नेतृत्व गर्छ। असम्भव भनिएका कुरासमेत सम्भव गरेर देखाउँछ।

#सीप
Compare →

Related Stories

National (Nepal)
Build #2611