‘परेलीमा’, ‘सम्बोधन’ र ‘पहिलो जुनीमा’ जस्ता गीतमार्फत ब्यान्डले परदेशमा रहेका नेपालीलाई आफ्नै देश र पुराना साथीहरूको सम्झना दिलाउनेछ।
काठमाडौँ — नेपाली रक ब्यान्ड '१९७४ एडी' अब पहिलोपटक क्यानडाको टोरन्टोमा गुञ्जिने भएको छ । आगामी नोभेम्बर ६ मा टोरन्टोस्थित क्विन एलिजाबेथ थिएटरमा ब्यान्डले प्रस्तुति दिँदै छ ।
विदेशमा बस्दा आफ्नो देशको सम्झना दिलाउने धेरै कुरा हुने र त्यसमध्ये संगीत पनि एक भएको ब्यान्डका संस्थापक निराकार याक्थुम्बाले बताए । 'क्यानडाको यो पहिलो सांगीतिक प्रस्तुति हाम्रो लागि एकदमै महत्त्वपूर्ण अवसर हुनेछ,' उनले भने, 'नेपालमा मात्रै होइन, विदेशमा रहेका नेपालीमाझ पनि १९७४ एडीका गीतले उत्तिकै माया पाउँदै आएको छ। त्यहाँ पनि दर्शकहरू उत्तिकै उत्साहित हुनुहुन्छ भन्ने अपेक्षा छ ।'
गायक एड्रियन प्रधानले विशेषगरी अध्ययन र रोजगारीका लागि विदेश पुगेका नेपालीलाई ब्यान्डको गीतले छुने गरेको बताए । 'हाम्रा गीतले परदेशमा बस्दा आफ्नै देश र साथीभाइको याद दिलाउने दर्शक स्रोताहरूले बताउने गर्नुभएको छ,' उनले भने, 'टोरन्टोमा हुने कार्यक्रममा उहाँहरूलाई विदेशमै बसेर नेपालीपन बाँड्न सकियोस् भन्ने आशा छ ।' ‘परेलीमा’, ‘सम्बोधन’, ‘पहिलो जुनीमा’ जस्ता लोकप्रिय गीतबाट स्थापित ब्यान्डले यसपटक कार्यक्रममा पनि पुराना दिनका सांगीतिक समयको सम्झना गराउने उनले बताए ।
यसपटकको ‘रक यात्रा’ गीतसंगीत र मनोरञ्जनमा मात्रै सीमित नभएको ब्यान्डका म्यानेजर अनुज केसीले बताए । नेपालमा भोटेकोशी बाढीका कारण प्रभावित भएका परिवारलाई सहयोग गर्ने उद्देश्य पनि कार्यक्रममा जोडिएको छ । बिक्री हुने प्रत्येक टिकटबाट ३ क्यानेडियन डलर बाढीपीडितको राहतका लागि छुट्याइने उनको भनाइ छ । 'यो सांगीतिक यात्रा मनोरञ्जनसँगै सामाजिक जिम्मेवारीको सन्देश पनि हो', उनले भने ।
विदेशमा बसेर आफ्नो देशका लागि केही गर्न चाहने नेपालीलाई यस्ता कार्यक्रमले सहयोग गर्ने अवसर समेत दिने उनको भनाइ छ । 'रकम ठूलो वा सानोभन्दा पनि अप्ठ्यारोमा परेका मानिसलाई सम्झनु र सकेको सहयोग गर्नु महत्त्वपूर्ण कुरा हो,' उनले भने, 'यसअघि अष्ट्रेलियामा गरिएका प्रस्तुतिबाट पनि हामीले सहयोग गर्ने प्रतिबद्धता जनाएका थियौं। जुन चाडै नै सार्वजनिक पनि गर्नेछौं ।'
हाल ब्यान्डमा निराकार याक्थुम्बा, सञ्जय श्रेष्ठ, एड्रियन प्रधान, फिरोज स्याङ्देन, मनोजकुमार केसी र मनोज सिंह रहेका छन्।
समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।