ताल गहिरो नभएको र पानी निरन्तर बगिरहेकाले तत्काल खतरा नदेखिए पनि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।
गोरखा — चुमनुब्री–१ साम्दोस्थित लार्के बजारनजिकै धिन्दुर खोलामा सुक्खा पहिरो खस्दा ताल बनेको छ । बिहीबार राति पहिरो खसेको हुन सक्ने स्थानीयको अनुमान छ । ताल बने पनि पानी बगिरहेको सामागाउँका मिङ्मार लामाले बताए । ‘अहिले आत्तिहाल्नुपर्ने अवस्था छैन, जोखिमजस्तो देखिँदैन, पानी बगिरहेको छ,’ उनले भने, ‘पहिरो खसेपछि ताल भने बनेको छ । यो साम्दोभन्दा केही माथि लार्केपासतिरबाट आएको खोला हो ।’
तालबाट पानी बगिरहेकाले तत्काल जोखिम नरहे पनि सचेत रहन आग्रह गरिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का सूचना अधिकारी भुवन ओझाले बताए । ‘स्थानीयवासी ताल बनेको ठाउँमा पुगेर हेरेर आएका रहेछन् । पानी बन्द नै भएको होइन, बगिरहेको छ,’ उनले भने, ‘ताल एकैचोटि फुटेर आएको भए जोखिम हुन सक्थ्यो । पानी बगिरहेकाले तत्काल जोखिम देखिँदैन । सचेत भएर बस्न भने आग्रह गरेका छौं ।’
ताल गहिरो नभएको स्थानीयले बताएका छन् । पहिरोले खोला थुनिएपछि करिब पाँच सय मिटर क्षेत्रफलमा ताल बनेको स्थानीयको दाबी छ ।
हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।