२७ कात्तिक, डोल्पा । हिमाली जिल्ला डोल्पामा सडक निर्माणका क्रममा ढुङ्गासहितको पहिरो खस्दा कार्यवाहक वडा अध्यक्ष घाइते भएका छन् ।
जिल्लाको काइके गाउँपालिका-७ लावनमा सडक निर्माणका क्रममा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा सोही वडाका ३४ वर्षीय कार्यवाहक वडा अध्यक्ष भीमबहादुर बूढा घाइते भएका हुन् ।
बिहीबार दिउँसो करिब ४ बजेतिर सडक निर्माण भइरहेको स्थानमा माथिबाट एक्कासि ढुङ्गासहितको सुक्खा पहिरो खस्दा उनी घाइते भएका हुन् ।
पहिरोमा परी घाइते भएका बूढालाई स्थानीय र नेपाल प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल डोल्पा पुर्याइएको छ ।
जिल्ला अस्पतालका अनुसार घाइते कार्यवाहक वडा अध्यक्ष बूढाको ढाड, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको अस्पतालमा उपचार भइरहेको छ ।