जनकपुर बोल्ट्सलाई १६ रनले हराएपछि लुम्बिनीले सात अंक जोडेको छ र अब एक जितले उसको प्लेअफ स्थान सुनिश्चित हुनेछ।
काठमाडौँ — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन प्लेअफ नजिक पुगेकामा कप्तान रोहित पौडेलले खुसी व्यक्त गरेका छन् । खेलपछि पौडेलले भने, ‘हाम्रो प्रदर्शन सबै पक्षमा राम्रो रह्यो । विशेषतः बलिङ राम्रो रह्यो ।’
खेलको ‘प्लेयर अफ द म्याच’ रोहित नै भए । उनले बहुमूल्य ३४ रन बनाए । कप्तान रोहितले आफ्नो टिमको अपराजित यात्राका लागि फेरि एकपल्ट व्यवस्थापनलाई धन्यवाद दिए ।
अहिलेसम्म अपराजित लुम्बिनीको सात अंक भएको छ । अब एक जित उसका लागि लिग चरण काट्न पर्याप्त हुनेछ । यसको ठीक विपरीत जनकपुर भने चार अंकमै सीमित रह्यो ।
जनकपुरले पाँच खेल खेलिसकेको छ र प्लेअफ पुग्नका लागि बाँकी दुई खेल जितेर मात्र पुग्ने छैन । उसलाई राम्रो नेट रनरेट पनि चाहिनेछ ।
दुई पूर्वविजेताबीच बिहीबार भएको खेलमा लुम्बिनी १६ रनले विजयी रहेको हो । लुम्बिनीले पहिले ब्याटिङ गर्दै १ सय ५० रनको लक्ष्य तयार पारेकोमा जनकपुर १ सय ३३ रन बनायो ।
जनकपुरका कप्तान हरमित सिंहले भने, ‘हाम्रो फिल्डिङ राम्रो रहेन । बलरले राम्रो बलिङ गरे पनि फिल्डिङ त्यसैअनुसार रहेन ।’